काठमाडौं २ मा राप्रपा आउँछ, मैले नै जित्छु : कुन्ती पोख्रेल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् । शनिबार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’
देशका फरक विचारधारा बोकेका अन्य पार्टीहरूले पनि राप्रपाको एजेन्डा मन पराएको उनले जिकिर गरेकी छन् । उनले भनिन्, ‘केपी ओली र प्रचण्डले पनि राजको बयान गर्न थालेका छन् । एमाले नेता दुर्गा प्रसाईंले त खुलेरै संघीयताको काम छैन भनिसकेका छन् । अरू नेताहरू पनि बोल्न थालेका छन् । अन्त्यमा राप्रपाको एजेन्डा नै सही रहेछ भनेर प्रस्ट हुँदैछ ।’ उनले अगाडि थपिन, ‘अरूलाई त भन्दिन मैले देशको देशप्रेमी नेता केपी ओली हो । उहाँलाई भन्न चाहन्छु आउनुहोस् देश बनाउने काममा हातेमालो गरौँ ।’
त्यस्तै उनले प्रचण्डले देश बेच्ने काम गरेको आरोप लगाएकी छन् । नागरिकता विधेयक पारित गराएर नेपाललाई फाइदा भन्दा बढी नोक्सान हुने उनको भनाई छ । उनले भनिन्– ‘केही समयअघि प्रचण्ड भारत गएका थिए । दिल्लीमा नागरिकता विधेयकको विषयमा केही त छलफल भयो । त्यसपछि मात्रै यो विधेयक पारित भएको छ । यसरी खुरुखुरु नागरिकता दिने हो भने ३ करोड नेपाली ६ करोड हुन कुनै समय लाग्दैन ।’ उनले उक्त विधेयकबाट भारतीय नागरिक हाम्रो देशको कार्यकारी पदसम्म पुग्ने बाटो खुला गरिएको समेत बताएकी छन् ।
उनले भनिन्– ‘यसरी सहजै भारतीय नागरिकले नेपाली नागरिकता पाउने हो भने भोलि देशको कार्यकारी पदमा अरू कुनै देशको नागरिक पुग्न समय लाग्दैन । यो सोच्नुपर्ने विषय हो ।’
त्यस्तै पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले राप्रपालाई छैटौँ सातौँ पार्टी हुने छुट नभएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘आजको आवश्यकता भनेको राप्रपा हो भन्ने जनताले बुझिसकेका छन् । जनता झुक्याउने, झुट बोल्नेहरूको खैर छैन । अब राप्रपालाई छैटौँ वा सातौँ पार्टी भएर कदापि उचित छैन । मेरो स्वस्थ्य अवस्था त्यति ठिक छैन् । कुन्तीको लागि मात्रै आएको थिए । सबैजना आजैबाट जोडतोडका साथ अघि बढ्नुहोस् ।‘
त्यस्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोखरेलले उम्मेदवारीका लागि इच्छा देखाएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने– ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।
त्यस्तै कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्री तथा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले पोख्रेलको इच्छाको विषयमा पार्टीमा छलफल हुने बताएका छन् । उनले भने– ‘मलाई खुसी लागेको छ कुन्तीजीले इच्छा राख्नुभएको छ । हाम्रो पार्टीको विधान छन् त्यसमा हामी सल्लाह गर्नेछौ । उहाँको इच्छालाई सम्मान गर्दै शुभकामना दिन चाहन्छु ।’ उनले निर्वाचनको सन्दर्भलाई जोड्दै अगाडि थपे– ‘हामीसँग पनि गलतलाई गलत भन्न सक्ने तागत छ भन्ने कुराको हेक्का आफूलाई ठुला पार्टी भन्नेहरूलाई देखाउने समय आउँदैछ । हामी लागि पर्नुपर्छ ।’
उनले काठमाडौं क्षेत्र नं २ पार्टीका लागि बालियो स्थानको रूपमा लिएर आफ्नो विवेक प्रयोग गर्ने अनुरोध समेत गरेका छन् । कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, पार्टीका महामन्त्रीद्वय भुवन पाठक र कुन्तीकुमारी शाही, शंकरापुर नगरपालिकाका मेयर रमेश नापित लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी जोगिन सकिन्छ लेक लाग्नबाट
-
पूर्ण स्वास्थ्यको लागि स्वजागरण
-
ज्वालामुखी विस्फोटका कारण उडेको खरानीले गर्दा बालीमा उडान रद्द
-
मिसाइल आक्रमणको चेतावनी पछि युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
-
हप्तामा २ घण्टा मात्रै व्यायामले पनि बलियो हुन्छ मुटु
-
रास्वपाले बुर्लाकोटीलाई दियो उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार