बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले एक्लै बहुमत ल्याउँछ तर तालमेलको लागि ढोका बन्द छैन: ज्ञवाली

शनिबार, २८ साउन २०७९, १५ : १४
शनिबार, २८ साउन २०७९

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्‍याउने दाबी गरेका हुन् । 

उनले भने,‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्ने तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँच दलीय गठबन्धनका साथीहरू नै यसबारेमा सबैभन्दा बढी सचेत छन् । काँग्रेसले त एक्लै एमालेलाई पराजय गर्न सकिँदैन भनेर निष्कर्ष निकालेको छ । अहिले काँग्रेस चुनावको लागि अरू सहयोगीको खोजी गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिले पनि ठूलो दल हो । एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरूले एमाले विजयी हुने बलियो आधार छ ।’

सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको उल्लेख गर्दै उनले गठबन्धनमा काँग्रेससँग अरू दल निरीह बनेको टिप्पणी गरे । उनले भने,‘गठबन्धनकै कुरा गर्दा काँग्रेस एक्लै बहुमत ल्याउने गरी लागेको छ । अहिलेको पाँच दलीय गठबन्धनको नेता को हो ? यसमा प्रस्टै छ नि–नेपाली काँग्रेस र देउवा नै हो । पाँच दलीय गठबन्धन भनेको एक किसिमले भन्ने हो भने नेपाली काँग्रेस नै हो ।’

ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काँग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको बताए । उनले भने,‘उहाँहरू काँग्रेसलाई पहिलो बनाउन लागिरहनुभएको छ । काँग्रेस जिताउनको लागि उहाँहरूको अभियान हो । तर, एमाले कम्युनिस्ट पार्टी हो । यो समाजवादको यात्रामा अघि बढिरहेको छ । नेपालको राजनीतिमा काँग्रेसका नेतृत्वमा पुँजीवादलाई सुदृढ गर्ने काम भएको छ भने एमालेको नेतृत्वमा समाजवादको यात्रा तय गर्न अभियान चलेको छ । यो चुनाव भनेको समाजवाद र पुँजीवादको लडाइँ पनि हो । नेपाली जनता समाजवादको पक्षमा छन् । वामपन्थी विचारको पक्षमा छन् । शान्ति र समृद्धिको पक्षमा छन् ।’

उनले एमालेले चुनावमा तालमेलको लागि ढोका बन्द नगरेको पनि स्पष्ट पारे । उनले भने,‘विचार र नीति मिल्यो भने हामी तालमेल गर्छौँ । काँग्रेसलाई पराजित गर्नको लागि विचार मिल्नेहरूसँग सहकार्य हुन्छ । तर, तत्काल वामपन्थी एकताको सम्भावना छैन । माओवादीलगायतको गलत नीतिले गर्दा यो सम्भव छैन । एमाले आफ्नो पार्टी पङ्क्तिलाई बलियो बनाउन लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप