मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : मन्त्री पौडेल

शनिबार, २८ साउन २०७९, १४ : १९
शनिबार, २८ साउन २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले विभिन्न कारण देखाएर समयमै काम नगर्ने हो भने शिक्षा प्रणाली बेथितिमा जाने बताए ।

उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए । उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘नेपालको शिक्षा साँच्चै सुधार्ने नै हो । शिक्षा सुधार्ने हामीले नै हो । साँच्चै शिक्षा सुधार्नका निम्ति मन्त्रालयले नीतिगत रुपमा अघि बढाउने कुरा सुझाव लिएर अघि बढ्न तयार छ । विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितिमा शिक्षा प्रणाली जान्छ । देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरुलाई तालिम दिने हो । नेपालको शिक्षा खत्तम छ भनेर आफैँ प्रचार नगरौँ ।’ 

मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे । उनले नेपालको शिक्षा गुणस्तर छैन भन्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीलाई सक्षम बनाउन सकिने बताए । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकोले सेवा सुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए ।

उनले देशमा विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताए । उनले बाहिरबाट एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्रि पाटोबाट हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको दाबी समेत गरे । मन्त्री पौडेलले नेपालमा शिक्षाको लगानी कम नरहेको भन्दै विद्यार्थीलाई राम्रो शिक्षा दिन विद्यालय शिक्षा नै सुधार गर्नुपर्ने बताए । उनले पछिल्लो एसईईको नतिजाले केही कुरामा सुधार गर्न, सिक्न र सच्याउन संकेत दिएको बताए । उनले अबबाट नै विद्यालय सुधारमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘आफैँले पढाएका छौँ । आफैँ विद्यालयमा छौँ, आफैँ व्यवस्थापन समितिमा छौँ । हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौँ भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालयहरु राम्रा छैनन् भनिरहेका छौँ । यो हामीले अन्त्य गर्नुपर्छ । यो सक्छौँ र सक्नुपर्छ । इच्छाशक्ति सक्छौँ भन्ने हुनुपर्छ । शिक्षा भनेको सेवाको क्षेत्रहरु सेवा सुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान मिल्दैन । विद्यार्थी केन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षाको आवश्यक छ । एसईईको नतिजा पोजेटिभ देखिएपनि भित्र पसेर हेर्दा सन्तुष्ट हुने ठाउँ छैन ।’

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिलेसम्मको कमजोरीलाई मूल्याङ्कन गरेर शैक्षिक गुणस्तरका लागि अघि बढ्ने दिशामा बोर्ड रहेको बताए । उनले यस वर्षको एसईईको परीक्षामा गणित विषयमा विद्यार्थीहरुको नतिजा कम आएको र धेरै अनुत्तीर्ण भएको भन्ने कुरा सत्य रहेको भन्दै यसको बारेमा विश्लेषण गर्ने बेला भएको बताए  ।

उनले नतिजा कमजोर आउनुको वास्तविक कारण पत्ता लगाउने कुरामा परीक्षा बोर्ड लाग्ने बताए । अध्यक्ष शर्माले प्रश्नपत्रलाई टेस्टेड प्रश्नपत्र बनाउन स्वीकृति परीक्षा प्रणाली सञ्चालन गर्नुपर्ने बताए । उनले कक्षा १२ पछि विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने बनाउनुपर्ने बताए । परीक्षा बोर्डले विद्यार्थी र शिक्षकको ग्रेडिङ मात्रै मापन गर्ने नभइ विद्यालयकै स्तर मापन गरिरहेको र सुधारका लागि योजना बनाउने काममा लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप