शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक अंश : बुह्रान

शनिबार, २८ साउन २०७९, १४ : १४
शनिबार, २८ साउन २०७९

निङ्मा बद्रीपुर लागिन् । साथमा पहाडी थारू थिए । लालीबजार ताराताल पुग्नै लाग्दा कुसुमादेबीको मन्दिर देखियो । मन्दिरलाई देब्रे छोडेर दाहिने उत्तरतिर हानिए उनीहरू । कुसुमाघाट लेखिएको क्षेत्रतिर । बबई नदीको चर्चित घाट थियो कुसुमाघाट । लालीबजार जाने र आउनेहरूले यही घाट प्रयोग गर्थे । मर्दा र पर्दा पनि यही घाट प्रयोग हुन्थ्यो । 

बबईको ढिकमा अघाएका गिद्धहरू टुक्रुक्क बसेजस्तै केही मानिसहरू नदीतिर फर्केर बसेका थिए । नदी किनारमा पुगेपछि थाहा भयो बगरमा कसैको अन्त्येष्टि हुँदै रहेछ । पार्थिव शरीरलाई आगोले धुवाँ बनाएर आकाशतिर उडाइरहेको थियो । हुन पनि जीवनको अन्तिम गन्तब्य भनेको घाटसम्म त हो नि ।

बबई नदीमा पुल थिएन । घाट तर्न तीन चार ओटा डुङ्गा राखिएका थिए । नदीको किनारमा गोहीहरू घाम तापेर सुतेजस्तै देखिन्थे डुङ्गाहरू । ढिकमा किला ठोकेर बाँधेका थिए भैंसी बाँधेजस्तै । हिउँदमा मात्रै केही तल झरेपछि पानीबाट गाडी तर्न सक्थ्यो । दुईचार पैसा बचाउन चाहनेहरू लामो बाटो भए पनि नदीबाटै बबई तर्थे ।

नदी नतरी बद्रीपुर पुगिदैनथ्यो । निङ्मालाई हिँडेरै तर्न मन लाग्यो बबई नदी । सुन्दर र सफा लाग्यो बबई । नदीको तिरमा बिस्कुन सुकाएजस्तो सेतो बालुवा टल्केको थियो । वालुवा सकिने बित्तिकै काँसघारी । बबईको सुन्दरता थपेको थियो काँसघारीले । बबईको ढिकमा हरिया सिसौका रुखहरू लाइन लागेर उभिएका देखिन्थे । नदीको रेखदेख गर्न उभिए जस्तै ।

गाडीबाट झरेर नदी तरिन् निङ्मा । सफा पानीमा भुरा माछाहरू उकालो चढ्दै थिए । आखाँले भ्याउँदासम्म हेरिरहिन् माथिसम्म । किनारमा सुनारीहरूले बालुवाबाट सुन चालिरहेका थिए । नजिकै गएर हेर्न मन लाग्यो उनलाई । कुलो काटेर डुँढबाट पानी बगाइरहेका थिए सुनारीहरूले । निङ्माले सुन चालेको पहिलो पटक देखिन् । केही समय उभिएर हेरिन् सुन चालेको । यस्तो लाग्थ्यो सुनमा जिन्दगी देखेका थिए सुनारीहरूले । त्यसैले त वालुवामा जीवन खोज्दै थिए उनीहरू ।

बबईको बालुवा तातीसकेको थियो । तातो बालुवाले तताएको थियो सुनारीहरूको शरीर पनि । बालुवामा तप्केका ताता पसिनाहरू क्षणभरमा हराउँथे बाफ बनेर । गर्मी महिनाको मतलब थिएन उनीहरूलाई । उसो त पसिनामा रमाउनेहरू मौसमको प्रवाह नै गर्दैनन् ।

‘दिनभरिमा कति जम्मा गर्नु हुन्छ ?’

‘कहिले अलिअलि जम्मा हुन्छ, कहिले हँुदैन,’ गम्छाले मुख पुच्दै उत्तर दिए एक जनाले ।

‘दुईचार दिन चालेपछि एकदुई लाल भइहाल्छ,’ अर्कोले थपे । परिश्रम अनुसारको कमाइ हुँदो रहेनछ भन्ने अनुमान गरिन् निङ्माले ।

वालुवाको बगरमा हिँडेको पहिलो अनुभव थियो निङ्माको । किनारसम्म पुग्दा पसिनाले लुछुप्पै भिजे कपडाहरू ।

‘मेडम गाह्रो भयो कि ?’

‘होइन होइन ठिकै छ,’ रुमालले पसिना पुच्दै उत्तर दिइन् पहाडीलाई ।

गाडी बबईको ढिकमा थियो । सिसौको शीतलमा सुस्ताइरहेका थिए गुरुजी । निङ्मा र पहाडी गाडीमा चढे । जङ्गलको किनारै किनार घोरपिट्टा हुँदै रानीपुर पुगे उनीहरू । रानीपुरमा मिश्रित बस्ती थियो पहाडिया र थारूहरूको । केही पसलहरू थिए रानीपुर चोकमा । 

केरा बेच्न बसेका केटाकेटीहरू गाडीसम्म आइपुगे । एक दर्जन केरा किनिन् निङ्माले । केरा खाँदै  बद्रीपुर हानिए उनीहरू । रामपुर चोकसम्म आइपुग्दा दर्जन बढी कुलाहरू तर्नु प¥यो । आपैmले उडाएको धुलोले गाडीको रुपरङ्ग बिगारेको थियो । रामपुर चोकमा पुग्ने बित्तिकै गाडी रोके गुरुजीले । सुख्खा टालो झिके र सिसाको धुलो पुछे  ।

चोकमा सानोतिनो बजार थियो । तीनतिरका बाटा जोडिएको हुनाले त्रिवेणी चोक नामकरण गरिएको रहेछ । चोक वरिपरि साइकल पसलका र केही खुद्रा पसलका सामान काठका घुम्टीहरू सजाएर राखिएका थिए । सटरवाला एउटा पसल पनि देखिएन ।

‘अभैm कति टाढा छ पहाडी दाइ ?’ कुला तर्दा तर्दा हैरान भएको भाव प्रकट गर्दै सोधिन् निङ्माले ।

‘नजिकै छ मेडम । बूढी कुलो तर्ने बित्तिकै आउँछ,’ पहाडीले उत्तर दिए ।

‘बूढी कुलो कति टाढा छ ? कति समय लाग्छ ?’

‘अब पाँच दश मिनेट जति लाग्ला मेडम ।’

‘हामी कुन बाटो जान्छौँ ?’ दुईतिर बाटो फाटेकोले जिज्ञासा राखे गुरुजीले ।

‘उत्तरतिर जान्छौँ । पश्चिम गए जोगीगाउँ स्कुल पुगिन्छ ।’ 

‘कति कक्षासम्म पढाइ हुन्छ जोगीगाउँ स्कुलमा ?’ निङ्माले सोधिन् ।

‘दश कक्षासम्म ।’

‘हजुरका छोराछोरी पढ्ने स्कुल हो ?’

‘हो मेडम, हो ।’

रामपुरबाट उत्तरतिर लागे उनीहरू । रामपुरको छिमेकी गाउँ थियो बद्रीपुर । जङ्गल छेउमा अवस्थित । दुई गाउँको बिचमा बूढी कुलो थियो । बबईबाट ल्याइएको कुलो । ठूलो र पुरानो भएकोले बूढी कुलो भनिएको रे । चार मौजाको सिँचाइ गर्ने कुलो । राजीपुरदेखि रानीपुरसम्म, ज्योतिपुरदेखि जब्बरपुरसम्म सिँचाइ गर्ने कुलो । कुलो पनि के भन्नु ? खोलो नै भन्दा हुन्थ्यो । खोलामा जस्तै पानी भइरन्थ्यो बाह्रैमास । 

जमिन्दार हरिहर गौतमले खन्न लगाएको कुलो हो बूढी कुलो । सरकारले खन्न लगाएको भए नहर भनिन्थ्यो सायद ? व्यक्तिले खनाएकोले कुलो भनियो । यही कुलोबाट अन्य कुलाहरू निस्किएका थिए । बूढी कुलामा काठे साँघु थियो । यही साँघुले रामपुर र बद्रीपुर जोडेको थियो । भूगोल मात्र जोडेको थिएन यो साँघुले, जोडेको थियो सम्बन्ध र संस्कृतिलाई पनि ।

निङ्मा साँघु तरेर बद्रीपुर पुगिन् । साँघु पनि कति साँघुरो ? साँघुरो भएकोले त होला साँघु भनिएको । दुईओटा काठ तेर्साएर बनाइएको थियो । देख्दै डर लाग्ने । हिँड्दा झन् डर नलाग्ने कुरै भएन । हात समातेर साँघु तारिदिए पहाडीले । साँघु तर्ने बित्तिकै टक्क उभिइन् । फरक्क फर्किन् र लामो सास फेरिन् । गाडी कुलाबाट हिलो छ्याप्दै ढिकमा निस्कियो ।

गाउँको पश्चिम, बाटोदेखि तल, बूढी कुलाको ढिकमा स–साना घरहरू थिए । एकै नासका । खरले छाएका । एक तले माटोले पोतेका । सबैको ढोका पूर्व फर्केका थिए । आकार प्रकार उस्तै । बसाइँको तौर तरिका एकनासको । निङ्मालाई ‘यो सुकुुम्बासी बस्ती हो’ भन्ने बुझ्न कठिन भएन ।

‘यही हो मेडम माइला थारूको घर ।’ पहाडीले सङ्केत गरे । निङ्मा उत्साहित थिइन् । घर अगाडि पुगे । खाँबा गाडेर बनाइएको घर थियो । घरमा दुईओटा ढोका थिए । वारपार गर्न मिल्ने गरी बनाएको । भित्र बाहिर गर्दा टाउको झुकाउनुपर्ने खालका । निकै होचा । झ्याल थिएनन् । दिवालमा स–साना प्वाल मात्रै थिए ।

निङ्माका आँखा भित्तामा ठोकिए । भित्ताको अगाडिपट्टि विभिन्न चित्र कोरिएका थिए । मयुर, घोडा, हात्ती र डोला बोकेका मान्छेका आकृति । सबै माटोले आकार दिएर बनाइएका । भित्ताको चारैतिर हरियो गोबरले घेरा लगाएको थियो । खै किन पो लगाइएको ? कुनै अनिष्ट नहोस् भनेर होला सायद । माछा मार्ने हेल्का छानोमा झुण्डिएको थियो । नजिकै थिए डेल्या र छट्री पनि । बन्चरो र बन्चरी छानामा घुसारिएको थियो । बन्चरीको बिँडमा विणाहरू साथीहरूलाई अँगालो हालेर बसेजस्ता देखिन्थे ।

घरको छेउमा बङ्गुरको खोर थियो । आँगनमा बङ्गुरका पाठा खेल्दै थिए । ‘घ्याँर घ्याँर..’ गरिरहेको माउ बङ्गुरको नमीठो आवाजले कोलाहल बनाएको थियो शान्त वातावरणलाई । घारीको छेउमा एक हुल कुखुरा चारो टिप्दै थिए । खरको छानामाथि पराल बिच्छ्याइएको थियो । खाउँ खाउँ लाग्ने राता बयरका दाना सुकाइएका थिए परालमाथि । राता खुर्सानी सुतिरहेका थिए आकाशतिर फर्केर । सेता कुभिन्डाका डल्ला धुरीमा बसेर घाम तापेजस्ता देखिन्थे ।

‘मन्ल्हा डाडु कहाँ बाटि हो, ?’ पहाडीले घरभित्र हेर्दै माइलालाई बोलाए ।

‘भिट्टर बाटु’ भन्दै माइला भित्रबाट निस्किए ।

‘आज् का कर हालि अइल्या ? मेडम्हन नै चिन्नु ट ।’ (आज किन छिटो आइस् ? मेडमलाई चिनिन त) भन्दै निङ्मातिर फर्केर सोधे माइलाले । निङ्माले नमस्कार गरिन् । नमस्कार फर्काए उनले पनि । कहिल्यै नदेखेको अनुहार । चिनुन् पनि कसरी ? पहाडीले माइलालाई आफ्नै भाषामा निङ्माको परिचय गराए । माइलाले पुनः नमस्कार गरे ।

माइला घरभित्र छिरे । खटौली र ब्याना लिएर बाहिर निस्किए । घरको छेउमा बगरवा थियो । खटौली र ब्याना लिएर बगरवाभित्र छिरे । गर्मी महिनामा छहारीमा बस्नको लागि भित्ता नभएको घर बनाइन्थ्यो । यही घरलाई बगरवा भनिन्थ्यो । बगरवामा खटिया राखिएको थियो । खटियाको छेउमा खटौली राखे । निङ्मालाई बस्ने सङ्केत गरे । 

निङ्मा खटौलीमा बसिन् । हातमा ब्याना दिए । निङ्माले ब्याना समातिन् । निकै सुन्दर थियो ब्याना । रङ्गीन धागोले बुनेको । चारैतिर कपडाको झालर लगाएको । फनफनी घुमाइन् ब्यानालाई । हावाको वेग चल्न थाल्यो । पहाडी र गुरुजी खटियामा बसे । माइला बेर्री तानेर बसे । पराल बटारेर बनाइएको बेर्री सुन्दर थियो । कलात्मक थियो । पाहुनालाई खटिया वा खटौली, गुन्द्री वा दरी बिच्छाएर सत्कार गर्ने थारूहरूको परम्परा थियो ।

निङ्मालाई थारू कलाले लोभ्यायो । खटौली, ब्याना, बेर्री र भित्तामा कोरिएका चित्रहरूले मात्रै पनि थारू हस्तकला तथा चित्रकलाको राम्रो परिचय दिइसकेका थिए । निङ्माले हातमा समातेको ब्याना फर्काइ फर्काइ हेरिन् । माइलाकी श्रीमती फुलमतिया लोटा लिएर नल्कामा गइन् । बलेनीको छेउमा नल्का थियो । पानी नहाली आँउदो रहेनछ । ‘स्वाँ.. स्वाँ...’ को आवाज मात्रै आयो । नल्काको ढकनीमा भएको प्वालबाट एक लोटा पानी हालिन् र मज्जाले चलाइन् । केही बेरमा ह्वालह्वाल्ती पानी आयो । लोटा खकाल खुकुल पारिन् । तीन ओटा लोटामा पानी भरिन् फुलमतियाले ।

एउटा लोटा निङ्मालाई दिइन् । अर्को लोटा गुरुजीलाई । तेस्रो लोटा पहाडीको अगाडि राखिन् । पहाडीले लोटा उठाए । मुख जोडेर घट्घटी पानी पिए । गिलास पर्खिएनन् उनले । हेरेको हे¥यै भइन् निङ्मा । गिलास पर्खेर बसिन् उनी । तर गिलास आउने छाँट देखिएन । पानीको लोटा उठाइन् । ठाडो घाँटी लगाएर पिउन खोजिन् । बिट फर्किएको लोटाबाट पानीको धारो मुखमा भन्दा बाहिर बढी पोखियो । चिउँडो, घाँटी, छाती, नाइटो हुँदै ओरालो झर्न थालेपछि निङ्मा झस्कँदै जुरुक्क उठिन् । भित्री कपडा भिजाउँदै भूँइसम्म पुग्यो लोटाको पानी । निङ्मालाई अप्ठ्यारो लाग्यो । पहाडीलाई हेरिन् । उनले पानी रित्याइसकेका थिए । पहाडीले जस्तै पिए गुरुले पनि ।

‘मुख हालेर पिउँदा हुन्छ मेडम’ पहाडीले सिकाए । निङ्मा अक्मकाइन् । यताउता हेरिन् । सबैले मुख गाडेर पिउँदा रहेछन् भन्ने लाग्यो । मुख गाडेर पिउन थालिन् । फेरि पनि बिटको छेउछाउबाट पानी पोखियो । भिजेको कुर्ताले समिज देखाइदियो । समिजले आपूm बस्ने आकार ।

पहाडीलाई हेरेर फिस्स हाँसिन् निङ्मा । सहज हुन खोजिन् सबैसँग । दोपट्टा सम्हालेर काँधमा हालिन् । दुबै फुर्काहरू तानिन् । भिजेको शरीरको भाग छोपछाप गर्ने प्रयासमा लागिन् उनी तिनै फुर्काहरूले ।

सबैले सबै कुरा जान्दैन पनि । निङ्माले लोटाबाट पानी पिउन जानिनन् । पानी दिनेले गिलास दिएनन् । गिलास पनि थियो वा थिएन ? सोधेको भए पनि त हुन्थ्यो तर सोधिनन् । हेरेर सिक्न खोजिन् तर सिक्न सकिनन् । थारू समुदायमा गिलास कम प्रयोग हुन्थ्यो । डल्ले लोटामा ओठ जोडेर पानी पिउने बानी थिएन निङ्माको ।

सुकुम्बासी बस्ती अव्यवस्थित थियो । घरहरू साना थिए, झुप्राजस्ता । होचा र अँध्यारा । एकादुई डेहरीले बिस्तरा छुट्याइएका थिए । निर्वाहका लागि बनाइएका घरजस्ता । पाहुना आउँदा सोच्नु पथ्र्यो । माइलाको जस्तो थियो उस्तै थियो पहाडीको पनि । निङमालाई बसाल्न अप्ठ्यारो लाग्यो पहाडीलाई । ‘खाली समयमा लेखपढ गर्नुपर्छ । अप्ठ्यारो नहुने ठाउँ खोज्नु है पहाडी दाइ ।’ निङ्माले पहाडीलाई कार्यालयबाट निस्कनु पूर्व नै भनेकी थिइन् ।

पहाडीले निङ्माको बसाइँको बारेमा सल्लाह मागे माइलासँग । पहाडीले केही बोझ महसुस गरेका थिए बसाइँको । आफ्नो टोलका घरहरू पाहुना राख्नेजस्ता थिएनन् । हाकिमलाई जस्तो पायो उस्तैमा राख्नु पनि भएन । कहाँ राख्ने भन्ने छटपटी थियो पहाडीको मनमा । सकेसम्म लुकाउन खोज्दै थिए मनको छटपटीलाई ।

‘डाडु, मेडम किहिन् क्याकर घर बैठैना मजा हुई ?’ मेडमलाई कसको घर बसाल्न राम्रो होला दाइ भनेर सोधे माइलालाई ।

‘हमार घर ट बैठैना जसिन् फे नि हो । बर्का गाउँमा मजा हुई साइट् ।’ मेरो घर त बस्ने जस्तो पनि छैन । ठूलो गाउँमा ठिक होला ।

‘क्याकर घर जाउँ ट ?’ कसको घर जाऊँ त भनेर सोधे पहाडीले ।

‘बेलाहान्, जब्डाहान्, मुराहान्, छेग्राहान् ज्याकर घर गैलसे फे हुइ ।’

‘हँ हँ ठिक बा । टौलाहान् ओ बरघरान् घर फे मजा बाटिन् काजुन् ?’

‘ठिक वा । एक चो पुछआई ना ट ।’ माइलाको सल्लाह अनुसार ठूलो गाउँमा सोध्न जाने भए पहाडी ।

बद्रीपुर डेसाउरे, दंगाहा र पहाडियाहरूको बस्ती थियो । दंगाहा थारूहरू दाङबाट आए । पहाडियाहरू पहाडबाट । डेसाउरे थारूहरू गाउँका पुराना थिए । आदिवासी थिए । आउन त उनीहरू पनि कतै न कतैबाट आए हुनन् । कहाँबाट आए ? कहिले आए ? रहरले आए कि वाध्यताले ? अनभिज्ञ थिए उनीहरू ।

डेसाउरेहरूको बस्ती ठूलो थियो । ठूलो भएकोले यो बस्तीलाई बर्का गाउँ भनिन्थ्यो । माइला थारू, पहाडी थारू र सुकुम्बासी टोलमा बसेका थारूहरू दंगाहा थारूहरू थिए । दंगाहाहरूको वस्ती नयाँ थियो । सुकुम्बासी आयोगले बसालेको । यो बस्तीलाई सुकुम्वासी टोल भनिन्थ्यो ।

बर्का गाउँका धेरै परिवारहरू मध्यम आर्थिक अवस्थाका थिए । संयुक्त परिवारमा बस्नेहरू बढी थिए यो गाउँमा । चार पाँच पिढीँ सम्मका एउटै भान्सामा खान्थे । । परिवारका सङ्ख्या ठूलो हुन्थ्यो । ठूला परिवार कम व्यवस्थित थिए । निङ्माका लागि खानपिन र बसाइँ राम्रो होलाजस्तो लागेन पहाडीलाई ।

पहाडीलाई के गरौँ गरौँ भयो । उनी अल्मलिएको देखेर माइलाले विकल्पहरू सुझाए ।

‘कि ट पहारी टोलम पुछ्बो ? पार्वती डाइक् घर फे मजा बा ।’ पहाडीपुरको पार्वती आमाको घर ठिक छ भने ।

‘वहाँ फे ट  ढ्यार लर्का बाट ।’ केटाकेटी धेरै छन् भन्ने लाग्यो पहाडीलाई ।

‘भइयाहुक्र घरम नि हुइट, सक्कु जन पह्र गइल बाट । हुकनक घर पहर्ना ठाउँ फे मजा बाटिन् ।’ कोही छैनन् पढ्न गएका छन् सबै । पढ्ने ठाउँ पनि छ पार्वतीको घर भने माइलाले ।

माइला र पहाडी छलफलमै थिए । गुरुजी बिदा भएर सदरमुकाम फर्किए । 

निङ्मालाई बद्रीपुरको सुन्दरताले लोभ्याइरहेको थियो । माइलाको घरबाट बूढी कुलाको पानी देखिन्थ्यो । कुलामा सङ्लो पानी थियो । माइला र पहाडी आफ्नै भाषामा कुराकानी गर्न थाले । बसाइँ व्यवस्थानको कुरा होला भन्ने अनुमान् गरिन् निङ्माले । उठिन्, शरीर तन्काइन् र कुलाको किनारतिर लागिन् । रुखको छहारीमा उभिएर बूढी कुलो हुँदै समुद्र भेट्न हिँडेको पानी नियालिरहिन् धेरै बेरसम्म । पानी कलकल बगिरहेको थियो । किनारमा लेउहरू तैरिरहेका थिए । भोटी माछाका भुराहरू हुल बाँधेर दौडिरहेका थिए । लेउका त्यान्द्राहरूमा लुकामारी खेलिरहेका माछाहरूले रोमाञ्चित बनाए निङ्मालाई ।

केही बेरमा निङ्मा फर्किन् । माइला र पहाडी बाहिर निस्कने तरखर गर्दै थिए ।

‘मेडम गाउँतिर घुम्न जाने कि ?’ पहाडीले प्रस्ताव राखे ।

‘हुन्छ, हुन्छ जाऊँ । यहाँका सबै ठाउँ देखाउनु है मलाई ।’

‘हेर्ने जस्तो त के नै छ र मेडम यहाँ ?’

‘मलाई त राम्रो लाग्यो यो ठाउँ । हरियाली रहेछ जताततै । कुलापानी लाग्दो रहेछ ।’ निङ्माको कुराले फिस्स हाँसे पहाडी । आफ्नो गाउँलाई राम्रो भनिदिएकोमा खुसी लाग्यो उनलाई । जन्मभूमि र जन्म दिने आमा सबैका प्रिय हुन्छन् ।

माइला पार्वतीको घरतिर लागे । पहाडी र निङ्मा बर्का गाउँतिर । बर्का गाउँबाट घुमेर बाटो पहाडीपुर पुग्थ्यो ।

निङ्माका लागि बद्रीपुर नयाँ थियो । हरेक चिज नौला थिए । निङ्माले आफ्नो गाउँ सम्झिन् । उनको गाउँ सानो थियो । भिरालो जमिन । खेतका गराहरू साना थिए । गोरु घुमाउनसमेत अप्ठेरो हुने खालका । हिउँदमा हिउँले ढाकिन्थे । निङ्माले बद्रीपुरको बाटोदेखि उत्तरतिरको फाँट हेरिन् । जङ्गलको छेउसम्म पैmलिएको थियो हरियो फाँट । जङ्गलको छेउमा पहाडी मुलका घरहरू देखिए । चुना र गेरुले पोतिएका । बद्रीपुर पहाडी र थारूहरूको बस्ती रहेछ भन्ने लाग्यो । खेतका गराहरू पनि धावनमार्गजस्ता ठूल्ठूला । गहुँ र मसुरोले ढपक्क ढाकेका । जमिन नै नदेखिने गरी ।

बाटाको दक्षिणतिर पनि फाँट थियो । जङ्गल थिएन । फाँटमा हिउँदे बाली थियो । फाँटको अन्तिममा तुवालो लागे जस्तो देखिन्थ्यो । बाटोमा धुलो उडाउँदै साइकल र लडियाहरू दौडिरहेका थिए । निङ्मा र पहाडी थारू हरियो फाँट पार गर्दै बर्का गाउँको पुछारमा पुगे ।

पूर्व जाने बाटो छोडेर उत्तरतिर लागे उनीहरू । बाटो उत्तर दक्षिण पैmलिएको थियो । बाटाको दुबैतिर घरहरू थिए । लस्करै उभिएका । खपटा, टायल र खरले छाएका । बाटोभन्दा पश्चिमका घरहरू बाटोतिरै मुल ढोका मानेर फर्किएका थिए । बाटो पूर्वका घरहरूले बाटोलाई पिठ्यु फर्काएर उभिएजस्ता । सबै घरहरू उत्तर दक्षिण लाम्चिलो र पूर्व पश्चिम दुबैतिर ढोका भएका थिए । हरेक घरका अगाडि अग्ला खालका छिरवाहरू बनाइएका थिए । लरिया, लहरु र डल्लपहरू राख्न बनाइएका छिरवाहरूमा भित्ता थिएनन् । खुल्ला थिए वारपार गर्न मिल्ने गरी बनाइएका । कसैको छिरुवामा डल्लप थिए । कसैकोमा लडिया । एकादुई लहरुहरू पनि देखिए । सबै छिरुवामा खडा थिए । थकाइ मारेर बसेजस्ता ।

घरको अगाडि बाहिरतिर देवताका लागि सानो ठाँटी कटेरो बनाइएका थिए । तीन ओटा धुरी किल्ला गाडेर । यस्ता घरलाई मरवा भनिन्थ्यो । मरवामा भें¥वा, सुच्चाजस्ता देवता थिए । मरवामा हात्ती र घोडाका काठका मूर्ति राखिएका थिए । दियो जलाउनका लागि माटाका पाला थिए । मरवामा कन्या केटीलाई जान बर्जित गरिएको कुरा निङ्माले पहाडीबाट थाहा पाइन् ।

प्रायःका घरमा बङ्गुर पालेको देखिन्थ्यो । धेरैले छिरवाको छेउमा बङ्गुर बाँध्ने कटेरो बनाएका थिए । अव्यवस्थित कटेरा फोहर देखिन्थे । बङ्गुरको कटेरोबाट आएको गन्धले उनको नाक घरी घरी पोल्थ्यो ।

गाउँको उत्तरतिर हिँड्दै थिए निङ्मा र पहाडी । गाउँको बिचमा सुन्दर मन्दिर थियो, बाटोभन्दा पश्चिमपट्टि । मन्दिरका छेउमा ठुलो पक्की कुवा थियो । यो कुवालाई भोज्वा कुवा भनिन्थ्यो । विवाहको लागि महत्व बोकेको कुवा थियो यो । कुवामा ढेच्वा लगाएको थियो । ढेच्वाको मद्दतले कुवाबाट पानी तान्थे गाउँलेहरू ।

गाउँका महिलाहरू कुवाको वरिपरि थिए । कोही आउँदै थिए । कोही जाँदै । कसैको टाउकोमा घैंटो थियो । कसैको खोकिलामा । केही पानीले भरिएका र केही रित्ता थिए घैंटाहरू । टाउकोमा राखिएको घैंटो समातेका थिएनन् । सन्तुलन पनि कसरी मिलेको ? टाउकोबाट खस्ला भन्ने डर पनि कति नमानेका ? दङ्ग पर्दै थिइन् निङ्मा । ठिङ्ग उभिएर हेरिन् यी दृश्य ।

‘पहाडी दाइ यी घैंटाको भार कसरी थामेको होला टाउकाले ?’  

(बुह्रान उपन्यासबाट, ढकालको यो उपन्यास २०७९ साउन २८ गते विमोचन भएको छ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप