शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलभित्रको विविधतालाई बुझेर टिकट वितरण गरिनुपर्छ : केसी

शनिबार, २८ साउन २०७९, १२ : ४९
शनिबार, २८ साउन २०७९

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन् । केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टीभित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए ।

उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरे । उनले भने, ‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले केका आधारमा सिट बाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्ने कुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ । गठबन्धन बाहेकका दलहरु जो अर्को विपक्षीसँग मिलेर बसेको थियो । त्यसलाई पनि गठबन्धनमा मिलाउने भन्ने कुरा भएको छ । यसलाई उच्चस्तरीय संयन्त्रबाट छलफल होला नै । सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् ।’ 

उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी समेत दिए । केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरीत हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनलाई सही बाटोमा लैजानका लागि र संविधानसम्मत अघि बढाउन जनतालाई र कार्यकर्तालाई केको आधारमा र कसरी गठबन्धनका दलबीच सिट बाँडफाँट भयो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताए ।

उनले थप भने, ‘यसले परिणाम गम्भीर बनाउनसक्छ । गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन । मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन । नेपाली काँग्रेसभित्र भएको विविधतालाई पनि ध्यानमा राखेर व्यापक छलफल हुन जरुरी छ । पार्टी भित्रका विविधतालाई चिर्न नसक्ने हो भने यसले पनि निर्वाचनमा परिणाम गम्भीर बन्छ ।’ केन्द्रीय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप