पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभीर झरना
भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभीर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुन थालेको हो ।गाउँपालिका–४ नागीमा रहेको यो झरना ६० मिटर अग्लो छ । विगत वर्षमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभीर झरना रहेको स्थानीयवासीले बताउने गरेका छन् । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् ।
गाउँपालिकाले यहाँ पुग्ने बाटो विस्तार गरेसँगै झरना वरिपरि पर्यटकलाई लक्ष्य गरेर विभिन्न संरचना निर्माण गरिदिएको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गर्दछ । झरनाबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक ११–१२ समूह झरना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
पर्यटक झरनासम्म पुगेर मनोरम दृश्यको रसास्वादन गर्ने गरेका छन् । झरनाको थप प्रचारप्रसार भएसँगै आवश्यक पूर्वाधारको विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न धेरै सहज हुने स्थानीय शिवकुमार राईले बताए । उनले भे, “यो झरनामा पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । गाउँपालिकाको केन्द्र तथा सदरमुकामबाट जनिकै रहेकाले पनि झरना हेर्न दैनिकजसो मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार प्रचारमा ध्यान दिन सके गाउँपालिकाको लागि राम्रो आर्थिक स्रोत बन्न सक्छ ।”भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटर भित्र पर्छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।
टेम्केमैयुङ गाउँपालिकाको यो भेगमा पर्यटकीय क्षेत्र धेरै छन् । पर्यटकीय गन्तव्य चखेवा डाँडा तथा टेम्के डाँडा, मैयुङ डाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । त्यस्तै गाउँपालिकाको वडा नं २ मा रहेको गोठेसिं होमस्टे पनि यही भेगमा पर्ने भएकाले घुम्न जाने मानिसको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताको साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेत जानकारी दिन्छन्। यसका लागि अञ्चल डाँडाबाट महभीर हुँदै चखेवा भञ्याङ र वडा नं ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवा भञ्ज्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
त्यस्तै झरना आसपासमा ससाना दह निर्माण गरेर माछापालन तथा पार्क निर्माण गर्नाका साथै आगन्तुकलाई लक्षित गरेर खाजा, नास्ता खाने ठाउँको व्यवस्थापन गर्ने अध्यक्ष बस्नेत बताउछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान