मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

लोसपा र नेसपालाई गठबन्धनमा आउन कसले रोक्यो ?

महिन्द्र भन्छन्, ‘उपेन्द्र यादवले चुकुल लगाउनुभयो’
शनिबार, २८ साउन २०७९, ११ : ४०
शनिबार, २८ साउन २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रयासरत छ तर हालसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।

लोसपाका अध्यक्ष ठाकुर र नेसपा अध्यक्ष भट्टराईले गठबन्धनमा सहभागिताको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिसकेका छन् । छलफलबाट उनीहरूले आश्वासन मात्र पाएका छन् ।

गठबन्धनले अगामी संघ तथा प्रदेशको चुनावमा सिट बाँडफाँडका लागि काँग्रेसका नेता कृष्ण सिटौलाको संयोजकत्वमा एक समिति पनि गठन गरेर आफ्नो काम पनि सुरु गरिसकेको छ । संघ र प्रदेशको चुनावमा पाँच दलीय गठबन्धन कायम रहने भन्दै पाँचवटै दलका अध्यक्षले संयुक्त हस्ताक्षरसहितको विज्ञप्ति जारी गरिसकेका छन् । 

तर लोसपा र नेसपालाई गठबन्धनमा ल्याउने विषयमा अझै स्पष्ट भएको छैन । प्रधानमन्त्री देउवाले आश्वासन दिए पनि गठबन्धनमा रहेका अन्य दलका अध्यक्षहरूलाई देखाएर पन्छिने गरेको लोसपाका एक नेताले बताए । गठबन्धन विस्तार गर्ने विषयमा काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा निरीह देखिएका छन् । ‘उहाँले गठबन्धनको नेतृत्व गरे पनि निर्णय गर्ने मामिलामा एकदमै कमजोर देखिनु भएको छ । उहाँले जे कुरामा गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डतिर कुरा तेर्स्याई दिनुहुन्छ,’ लोसपाका नेताको गुनासो छ । 

प्रत्येक भेटमा प्रधानमन्त्रीले यो विषय गठबन्धनमा छलफल गरेर टुङ्गो लगाउने भने पनि त्यसयता गठबन्धनको बैठक पटक–पटक बसे पनि लोसपा र नेसपाको बारेमा निर्णय नगरेको ती नेताको गुनासो छ । 

नेसपाका अध्यक्ष भट्टराईले पनि प्रधानमन्त्री देउवासँग गठबन्धनको विषयमा छलफल गर्दा माओवादीका अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि यस विषयलाई टुङ्गो लगाउने आश्वासन दिएका थिए । अध्यक्ष प्रचण्ड जापानबाट फर्केको चार दिन भइसक्यो तर अहिलेसम्म गठबन्धन विस्तारको विषयमा कुनै छलफल भएको छैन ।

जापानबाट फर्के लगतै भट्टराईले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । भेटमा प्रचण्डले पनि गठबन्धनमा ल्याउन आफू सकारात्मक रहेको तर यस विषयमा छलफल हुन बाँकी रहेको अध्यक्ष भट्टराईलाई जवाफ थिए । 

स्रोत भन्छन्, ‘अध्यक्ष प्रचण्डले पनि यस विषयमा गठबन्धनमा कुरा मिलिरहेको छैन भन्नुभयो । उहाँले खुलेर नभनेपछि सङ्केत जसपाका अध्यक्ष उपेन्द्र यादवतिर गर्नुभएको छ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवको इच्छा लोसपा र नेसपा सत्ताधारी गठबन्धनमा नआओस् भन्ने रहेको छ । यी दुई नेसपाका अध्यक्ष महिन्द्र राय यादवले गठबन्धन विस्तारमा यादव नै बाधक बनिरहेको दाबी गरे । 

अहिले मुख्य रुपमा लोसपा र नेसपा गठबन्धनमा जान तयारी अवस्थामा रहेको तर यी दुवै दल जसपाबाट अलग भएर गठन भएका कारणले यादव बाधक बनिरहेको नेसपा अध्यक्ष यादवको दाबी छ । उनले भने, ‘गठबन्धनको ढोकामा उपेन्द्र यादवले चुकुल लगाउनु भएको छ । गठबन्धनभित्र अरू कोही नछिरुन् भन्ने उहाँको चाहना हो । तर गठबन्धनमा बस्ने हाम्रो अधिकार हो, गठबन्धन बनाउन उपेन्द्र यादवभन्दा बढी हाम्रो मेहनत परेको छ, त्यसैले हामी त्यो गठबन्धनमा जसरी पनि जान्छौँ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवको चाहना भने लोसपालाई पाँच दलीय गठबन्धनमा सामेल नगएर छुट्टै मोर्चा बनाउने रहेको छ । उनले जसपा र लोसपाबीच चुनावी गठबन्धन बनोस् भन्ने धारणा पनि व्यक्त गर्दै आइरहेका छन् । उनले त्यसका लागि लोसपासँग प्रस्ताव पनि गरेका छन् । तर लोसपा जसपासँग छुट्टै मोर्चा बनाउने भन्दा पनि पाँच दलीय गठबन्धनमा जान इच्छुक देखिन्छ ।

लोसपाका कार्यकारिणी सदस्य एवं सांसद लक्ष्मण लाल कर्णले भने, ‘गठबन्धनको विषयमा प्रधानमन्त्री देउवासँग पटक पटक छलफल भएको हो । ठाउँ दिने काम उहाँहरुको हो तर अहिलेसम्म कुनै निष्कर्ष निस्केको छैन ।’ प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि तुरुन्त निर्णय गर्ने भनेको तर उनी फर्केको चार दिन भइसक्यो तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए ।

सुरुमा पाँच दलीय गठबन्धनमा आउन प्रधानमन्त्री देउवाले नै अध्यक्ष ठाकुरसँग प्रस्ताव गरेका थिए । त्यतिबेला अध्यक्ष ठाकुर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राम्रो दोस्ती थियो । लोसपाले एमालेसँग गठबन्धन गर्ने लगभग निश्चित गरिसकेको थियो । एमालेका अध्यक्ष ओलीले पनि लोसपासँग गठबन्धन गर्ने मन बनाइसकेका थिए । 

त्यही सहकार्य तोड्नका लागि प्रधानमन्त्री देउवाले लोसपा समक्ष पटक पटक प्रस्ताव गरेका थिए । तर लोसपा अहिले गठबन्धनमा आउन इच्छा देखाइरहँदा प्रधानमन्त्री देउवाले नै ध्यान दिन छाडेको लोसपा नेताहरूको आरोप छ । प्रधानमन्त्री देउवा अनिर्णीत भएको कारणले लोसपा पनि अलमलमा छ । 

यता, नेसपा समाजवादी गठबन्धन बनाउने गृहकार्यमा पनि लागेको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलसँग मिलेर गठबन्धन बनाउने तयारीमा नेसपा लागेको सो पार्टीका अध्यक्ष महिन्द्रराय यादवले बताए । पाँच दलीय गठबन्धनमा सामेल भए पनि नभए पनि नेसपाले समाजवादी गठबन्धन बनाउने प्रयास गर्ने उनको भनाई छ । यसका लागि गृहकार्य सुरु भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप