शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही–३ मा घनश्याम भुसालको सम्भावना कति ?

शनिबार, २८ साउन २०७९, ०८ : २४
शनिबार, २८ साउन २०७९

बुटवल । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेशसभा तथा  प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै राजनीतिक वृत्तमा पार्टीका नेताहरु को कहाँबाट चुनाव लड्ने र कसको हारजित होला भन्ने चर्चा सुरु भएको छ ।

खासगरी ‘हेभी वेट’ नेता को कहाँबाट लड्दैछन् भन्ने चासो पनि उत्तिकै देखिन्छ । यस बीचमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट केन्द्रीय राजनीतिमा प्रभाव राख्ने उच्च तहका नेताहरुको भिडन्त हुने चर्चा छ ।

सो क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँण र नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको चुनावी भिडन्त हुने चर्चा चुलिएको छ । सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका खाँणको उम्मेदवारी पर्ने निश्चितप्रायः भए पनि भुसालको उम्मेदवारीबारे मिश्रित सूचनाहरु बाहिर आएका छन् । स्रोतका अनुसार भुसाललाई नै उठाउने कि अन्य उम्मेदवार खोज्ने भन्नेमा एमालेमै किचलो देखिएको छ ।

नेपालको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने एक सशक्त नेता हुन् नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाल । उनको निर्वाचन क्षेत्र रुपन्देही–३ नै हो । २०७० सालको निर्वाचनमा ८५ मतान्तरले काँग्रेसका वालकृष्ण खाँणलाई पराजित गरेका भुसालले ०७४ को निर्वाचनमा ५ हजार ४४४ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोरालाई पराजित गरेका थिए । तर आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा भुसाललाई आफ्नो क्षेत्रबाट टिकट नदिने पक्षमा एमालेका केही नेताहरु लागेका छन् ।

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा पार्टीभित्रैबाट चर्को प्रतिवाद गरेका र एमालेको चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा लडेर पराजित भएका भुसाललाई यसपटक एमालेले सजायस्वरुप प्रत्यक्ष निर्वाचनमा टिकट नदिने रणनीति बनाएको यहाँका बुद्धिजीवीहरु बताउँछन् ।

तर नेकपा एमालेका तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेले यो क्षेत्रमा नेता भुसालको विकल्पमा अन्य उम्मेदवार उठाउन उपयुक्त नहुने बताउँछन् । भुसाल बरावरको राजनीतिक उचाई भएका नेता क्षेत्र नं. ३ मा एमालेबाट अरु नभएकाले भुसालको विकल्प खोज्न नहुने उनको तर्क छ ।

ओलीले प्रतिनिधिसभा विघटन गर्दा पहिलो पटक नगरपालिकाको लेटरप्याडमा प्रेस विज्ञप्ति निकालेर विरोध गर्ने तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर बासुदेव घिमिरेले भुसालको साथ छोडेपछि उनै बासुदेवलाई अहिले टिकट दिन पार्टी उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरु लागेका छन् । प्रतिनिधिसभा विघटनको बेलासम्म भुसालका विश्वास पात्र रहेका बासुदेवलाई पछि गुट परिवर्तन गरेका थिए । एमालेको रुपन्देही सदस्य भएर तिलोत्तमा नगरपालिकाको मेयर बनेका बासुदेव हाल लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

बासुदेवको पनि पक्का छैन

संस्थापन पक्षका प्रभावशाली नेता विष्णु पौडेलले बासुदेवलाई प्रतिनिधिसभाको लागि टिकट दिलाउने कोसिस गरे पनि यो त्यति सहज भने छैन । एमालेका महासचिव शंकर पोखरेलले पौडेलको रोजाइमा असहमति जनाउन सक्ने देखिन्छ । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने विषयमा पौडेल र पोखरेलबीच केही समय टकराव चलेको थियो । प्रतिनिधिसभाको उम्मेदवार छान्दा पनि उनीहरुबीच प्रतिस्पर्धा हुनसक्ने अनुमान धेरैले गरेका छन् ।

महिला उम्मेदवारको खोजी

नेकपा एमालेका नेता एवं हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरप्रमुख पदका प्रत्यासी मोहन चापागाईले महिला उम्मेदवार पनि पार्टीमा आवश्यक रहेको बताएका छन् । रुपन्देही क्षेत्र नं. ३ मा नेता भुसाल, घिमिरे वा अन्य कुनै महिला नेतृ पनि उम्मेवार बन्न सक्ने उनले बताए । पार्टीमा महिलाको पनि सम्मानजनक ठाउँ आवश्यक हुने भएकाले उपयुक्त महिला नेतृ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा चुनावको लागि उम्मेदवार बन्न सक्ने उनले उल्लेख गरे । महिला नेतृ को हुन सक्ला भन्नेचाहिँ उनले खुलाएनन् ।

राप्रपाबाट बोहोरा लड्ने

रुपन्देही क्षेत्र नं. ३ मा ‘हेभी वेट’ नेताहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता दिपक बोहोरा पनि पर्दछन् । यसअघि ०७४ को निर्वाचनमा नेपाली काँग्रेसको समेत समर्थनमा एमालेका भुसालसँग चुनाव लडेका बोहोरा पराजित भएका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहोराले २७ हजार४२२ मत प्राप्त गरेका थिए । त्यतिबेला काँग्रेस  नेता खाँण समानुपातिकतर्फ थिए । आगामी मंसिर ४ गतेको निर्वाचनमा पनि बोहोरा चुनाव लड्ने तयारीमा लागेको उनी निकट नेताहरुले बताएका छन् ।   

रुपन्देही क्षेत्र नं. ३ मा सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, तिलोत्तमा नगरपालिकाका वडा नं. १३ र १४, बुटवल उपमहानगरका १४, १५, १६, १७, १८ र १९, सियारी गाउँपालिकाका १, २, ३, ४, ५, ६ र ७, मायादेवी गाउँपालिकाका ७ र ८ तथा ओमसतियाका गाउँपालिकाको वडा नं २ पर्दछ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरुले ल्याएको मत परिणाम अनुसार नेपाली काँग्रेससहित गठबन्धनका दलको ३४ हजार १५३, एमालेको २९ हजार ४८ र राप्रपाको १३ हजार ३९७ मत छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप