‘निष्ठुरी’को त्यो प्रेमपत्र

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

रातको करिब एघार बजे । सबैतिर चकमन्न । आफ्नो कोठामा घुमिरहेको पङ्खाको आवाज । टेबलभरि किताब छरपस्ट । सबै मिलाउँदा करिब एक दर्जन किताब होलान् । त्यति किताब पनि मिलाएर राख्न नसकेकोमा आफैँ अचम्मित हुन्छु । 


साउनको महिना गर्मी निकै छ । झ्याल खोल्छु अनि किताब मिलाउनतर्फ लाग्छु । किताबको थुप्रोमा एउटा पुरानो साहित्यको पुस्तक भेटिन्छ । एकपछि अर्को गर्दै पाना पल्टाउँदै जाँदा विगतका अविस्मरणीय यादहरू एकाएक आउन थाल्छन् । 



विद्यालय पढ्दाका ती अविस्मरणीय याद एकपछि अर्को गर्दै मानसपटलमा फनक्क घुमेर जान्छन् । आहा ! कति रमाइला र आनन्दमय थिए ती दिन । घरी घरी मलाई तिनै दिनहरूमा फर्किन मन लाग्छ । तर अफ्सोस समय धेरै वितिसकेको छ । अब म चाहेर पनि त्यो दिनमा कहिल्यै फर्किन सक्दिनँ । 



यत्तिकैमा किताबको बीच भागबाट एउटा रङ्गीन खाम फ्यात्त भुइँमा खस्छ । खामभित्र आफ्नै नामको आफैँले कोरेका अक्षर नाचिरहेको देख्दा खाम भित्रको चिठी निकै ओजनदार लाग्छ । आफ्नो नाम आफैँ दोहोर्‍याउँदै पढ्छु । खामभित्र सेतो पानामा आफँैले कोरेको आफ्नै जीवनको पहिलो प्रेमपत्र रहेछ । आफूले आफ्नो यौवनावस्थामा लेखेको पहिलो प्रेमपत्र पढ्न असाध्यै मन लाग्यो र पढ्न थाले ।

प्रियतमा,

धेरै धेरै सम्झना साथै अपार न्यानो माया !

मेरी माया, जीवनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु । तिम्रो न्यानो स्नेह र जुनी जुनीसम्म साथको आशमा । थाहा छ माया, तिमीलाई आज म निकै लामो समयको प्रयासपछि तिम्रै नामको यो पत्र लेख्दै छु । कैयौँ पटक शब्दहरू कोर्दै मेटाउँदै गरे । त्यसको कुनै लेखाजोखा म आफैँसँग छैन । खै किन हो, आजभोलि यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरू पनि निकै कम आउँछन् । किनकि हरपल हरक्षण तिमी मेरो मन मस्तिष्कमा आउछौँ । तिमी नै तिमी नजरभरि छाउँछौ । 

तिमीलाई नदेखँु भनेर म कयौँपल्ट आँखा बन्द गर्दै बिर्सिने कोसिस गर्छु । तर बन्द आँखामा तिमी झन्झन् सग्लो भएर आउँछौ । यी हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा डुबिसकेको रहेछु । हो, तिमीसँगको गहिरो प्रेममा । म दिन प्रतिदिन नजानिँदै तिम्रै मायामा डुब्दै छु । मलाई सहारा दिई बचाउने अब मात्र तिमी छौ, यो संसारमा । मेरो समीपमा आएर मेरो निश्चल माया स्वीकार्छौ भन्ने आशा लिएको छु सानू !

म  तिमीसँगको यस्तो प्रेममा डुबेको छु, जसको कुनै सीमा छैन । जसको कुनै अन्त्य छैन । जहाँ विश्वास छ, इज्जत छ, सम्मान छ अनि एक अर्कालाई पाउने आस । सानु ! भन्छन्, माया बस्न मात्र एक नजर नै काफी छ, सिर्फ एक नजर । तर म त्यसको प्रतिकार गर्थें, वाहियात ठान्थेँ । मनमनमा भन्ने गर्थे, यो त सब भन्ने कुरा न हो । अनि विश्वास गर्थें, यथार्थमा । 

अरूले गर्ने मायालु भावनाका कुरामा कहिल्यै विश्वास लाग्दैनथ्यो । तर अहिले आएर म गलत साबित भइरहेछु सानू ! तिम्रा ती निर्मल नयनका सामु म झुकँे । पहिलो पटक तिमीलाई भेट्दा लागेकै थिएन कि तिमीलाई जीवनमा फेरि फेरि पनि भेट्छु । 

त्यसैले त मलाई याद नै छैन कि हामी दुईले पहिलो पटक कहाँ र कहिले भेटेका थियौँ भनेर । तिमीलाई याद छ भने मलाई पनि भन है प्रियतमा । अहँ, मलाई चाहिँ कति याद गर्ने कोसिस गर्दा पनि याद नै आउँदैन । बस्, अब त यही तिमीसँगको प्रेम सबथोक बनेको छ ।

प्रिय, तिम्रो एकै नजरले मैले आफूलाई गुमाएँ । म नचाहेरै पनि तिमीतिर तानिएँ । तर तिमी त यो मेरो प्रेमबारे नै अनभिज्ञ छौ । अचम्म लाग्छ, किन हो किन, म तिमीसँग आँखा जुधाउन सक्दिनँ । मेरो आँखा अनायसै झुक्छन् तिमीसामु हुँदा । मेरो जिउ आफैँ शिथिल हुन्छ, तिम्रो समीपमा आउँदा । के तिमीलाई मेरो यो अवस्थाको आभास हुँदैन ? 

माया ! या तिमी अनभिज्ञ बनिरहेकी छौ जानी जानी ? म तिम्रो निर्मल आँखाको सागरमा डुबुल्की मार्न चाहान्छु, हराउन चाहान्छु अनि भुल्न चाहन्छु आफूले आफैँलाई ।

प्रिय ! मैले लिने हरेक सासमा तिम्रो प्रेमको मीठो बास्नाको अनुभव गर्छु म । मेरो मुटुको हर धड्कन तिम्रै नाममा धड्किरहेका हुन्छन् । के तिमीले सुनेकी छौ सानू, मेरो दिल धड्केको आवाज ? मेरो मनमस्तिष्कमा प्रवाहित ती तरङ्ग तिम्रो मनसम्म आइपुगेका छन् ? तर जे होस्, म यो पत्र तिम्रो नाममा कोर्दैछु । एउटा झिनो आशामा कि तिमीले एक दिन मेरो भावना अवश्य बुझ्ने छौ । मेरा मनका हजारौँ सपना र चाहनालाई चिहान बन्न दिने छैनौ । तर यो त मेरो आफ्नो मनको आस न हो, जुन पूरा हुन पनि सक्छ, नहुन पनि सक्छ ।

माया, आजसम्म जिन्दगीमा समयसँगै बाँचेँ, एउटा समय तालिका बनाएर । तर, जबदेखि तिमी मेरो जिन्दगीमा स्वर्गकी परीजस्तै बनेर आयौ, यो मेरो अधुरो जिन्दगीमा मिठास नै मिठास छाएको छ । आजसम्म जुन स्कुल लाइफमा म पर्फेक्ट सम्झेर बाँचिरहेको थिए, त्यो जिन्दगीमा तिमी एक्साइट्मेन्ट बनेर आयौ । 

तिमी विश्वास गर या नगर, मेरो माया समुद्र जस्तो निर्मल र पवित्र छ । बादल जस्तो शीतल छ, वसन्त ऋतुको सौन्दर्य जस्तो सुन्दर छ । गोधुली साँझ जस्तो शान्त छ अनि सुधा जस्तै अमर छ । तर मेरो मायालाई स्वीकार गर्नु या नगर्नु त्यो त तिम्रो इच्छाको कुरा हो सानु । म त फेरि गाउँले, एक गरीब परिवारको एक्लो छोरो । तिमीले स्वीकार्‍यौ भने मेरा लागि संसारको सबैभन्दा धेरै र ठूलो खुसी यही हुनेछ ।

  प्रिय, शत्रु कमाउने धन कहिल्यै ठूलो हुँदैन तर मित्र कमाउने मनलाई यसले कहिल्यै ठूलो हुन पनि दिएन । त्यसैले हामीमा दुविधा छ । अन्तर्मनको यात्रामा निस्किएको दिन भ्रमको बादल फुट्ने छ अनि मात्र सत्यको झरी दर्कन्छ र सबैले प्रेमको सही शीतलता महसुस गर्नेछन् । म पनि त्यहीँ क्षणको प्रतीक्षामा छु । तबसम्म तिमीले धैर्य गर्न सक्यौ भने बचेको जिन्दगी रमाउन सकिन्छ । 

यदि हैन भन्छौ भने न आज सहज हुन्छ, न भोलिको समय नै उज्यालो हुन्छ मेरो । प्रेमको कुन रङ चाहिँ आहा छ भन्न सक्छौ ? म त प्रेमका हरेक किरण उज्यालो देख्छु । हरेक पल म तिम्रो चमक आफ्नो शक्ति बनाउन खर्च गरिरहेको छु । तिमी प्रेरणाको धारो खोल्ने गर, तब म हारेका पाइला जित्दै निस्किन्छु । सुनको चुराले बाँधेर बन्धक बनाउने हैन, प्रेमको डोरीले स्वतन्त्र पन्छी बनेर उड्न सिकाउँछु । तिम्रो न्यानो अँगालोमा बाँधिएर सात जुनी सँगै बिताउन चाहन्छु ।

सानू, तिम्रो न्यानो काखमा मेरो असीम माया जुनी जुनीभरिलाई पोखि दिनेछु, छताछुल्ल हुने गरी अनि हराउने छु, तिमीभित्रको तिमीमा । तिमीले मेरो पवित्र मायालाई अस्वीकारै गरे पनि म कदापि दुःखी हुने छैन । 

मलाई थाहा छ, मैले तिमीलाई निःस्वार्थ प्रेम गरेको छु । मैले आफ्ना हरेक स्वासका झोँक्का तिमीप्रति आजीवन समर्पित गर्ने अठोट लिएको छु । मेरो मायामा कुनै स्वार्थ लुकेको छैन अनि मैले तिमीलाई जबर्जस्ती पाउने चेष्टा गरेको पनि छैन । मेरा लागि प्रेम आत्मीय बन्धन हो, जहाँ मनसँग मनको गहिराइ नापिन्छ र यो अटुट र अमर रहन्छ । 

के तिमी मेरो यो मीठो प्रेमको अनुरोध स्वीकार गर्छाै ? के तिमी मलाई तिम्रो मायामा रम्ने हक दिन्छौ ? म तिम्रो जवाफको पत्र पर्खिरहनेछु, अनि कालान्तरसम्म यही निःस्वार्थ प्रेम गरिरहने छु ।

प्रियतमा, हरेक कुरा शब्दमा मात्र अभिव्यक्त नहुने रहेछन् र गर्न पनि नसकिने रहेछ । जति सकँे त्यति गरेको छु, यो प्रत्र तिमी आफू मात्र सुटुक्क पढ्नु है । भन्छन्– प्रेम लुकीछिपी लाएको मीठो । अरूले यो पत्र पढोस्, मैले तिमीलाई गरेको निश्चल प्रेम सस्तो बनोस्, म कदापि चाहन्नँ । किनकि मलाई थाहा छ । प्रेम देखाउनलाई गरिँदैन, यो त केवल महसुस गर्ने कुरा हो, अनुभूत गर्ने गराउने कुरा हो सानू ।

जिन्दगीमा पहिलो पटक अरूले जबर्जस्ती लेखाएको र पढाएको क, ख, ग र एक, दुई, तीन त भुल्न सकेको छैन भने अझ आफैँले कसैलाई लगाएको पहिलो अजम्बरी मायालाई कसरी भुल्न सक्छु र म ।

उही तिम्रो मायाको भिखारी,

...........

यति पत्र पढिसक्दा मायाको आँसुले मेरो गह भरिएको रैछ । अनि एक्कासि झसङ्ग भएर घडी हेर्दा रातको १२ भइसकेको रहेछ । अनि आफैँ सोचेँ, रात निकै ढल्कीसक्यो, अब पनि सुतिएन भने आज अनिदोले गर्दा भोलिको दैनिकीमा असर पार्छ । 

अनायास फेला परेको त्यो पत्रलाई उनी सम्झेर अङ्कमाल गरेँ अनि चुम्बन गर्दै त्यही किताबभित्र राखेँ । आफ्नो चोखो र पवित्र मायाको कहानी अक्षरस्वरूप खोपिएको त्यो पत्रलाई आफूबाट टाढा राखेर कहाँ निदाउन सक्थँे र म । आफू सुत्ने सिरानीमुनि राखेँ र त्यही ओछ्यानमाथि पल्टिएँ । मायालुलाई नै सम्झेर खुसीले गदगद हुँदै पल्टिरहेको थिएँ । खै कतिखेर निद्रादेवीको काखमालुटुपुटु हुन पुगेँ पत्तै भएन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।