कथा : न्यायको खोज

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

 हुन त विमला र उसको लोग्ने दुबै क्रान्तिकारी दलका पुराना कार्यकर्ता नै हुन् । समाज सुधार, परिवर्तन र मानवाधिकारका भाषण गर्दै डाँडाकाँडा खुबै डुलेका हुन् एकुन्ताका उनीहरु । आक्रोश, विद्रोह र विरोध त उनीहरुको जीवनको अङ्ग नै बनिसके जस्तो लाग्थ्यो उहिले उहिले । सम्झौता र सहनशीलता उनीहरुको शब्दकोशमै थिएन भन्दा हुन्छ । संसारका हरेक कुरा फेर्न चाहन्थे उनीहरु । जुनसुकै कुराको पनि विकल्प तयार थियो उनीहरुसँग । कागजमा, भाषणमा । 


विवाह गरेर एकअर्कोलाई अंगालेपछि भने उनीहरु सम्झौतावादी बन्दै गए । बिस्तारै राजनीतिको नशा सकिएर अर्थको नशाले समाउँदै ल्यायो । अब उनीहरु भन्न लागे, ‘यहाँ जति गरे पनि केही हुन्न, मान्छेहरु फेरिन समय लाग्छ, परिवर्तन अर्को शैली अपनाएर ल्याउनु पर्छ, नीति उही राखेर कार्यनीति फेर्नु पर्छ,’ आदि आदि । 



पछि पछि त उनीहरुको अघोषित मूल नीति बन्यो, ‘जसरी पनि कमाउनुपर्छ’ ।



कमाउने क्रममा उनीहरु बिस्तारै व्यस्त हुँदै गए । विमलाको काँधमा छोराछोरी हुर्काउने थप दायित्व पनि थपियो । उसको लोग्नेको काँधको बोझ विमलाको भन्दा केही हलुङ्गो भएकोले बेला बेला ऊ राजनीतिको पुरानो नशामा पनि कहिलेकाहीँ बहकिन पुग्थ्यो । पुरानै भाषण भट्टयाउँथ्यो । तर कता कता के के नमिले नमिले जस्तो लाग्थ्यो उसैलाई ।

एकदिन अचानक विमलाको लोग्नेले अर्को विवाह गर्यो भन्ने हल्ला फैलियो । त्यो हल्ला साँच्चै बनेर विमलाका कानमा पनि आएर ठोक्कियो । अचानक आइपुग्ने यस्ता समाचारले नमीठो पीडा दिन्छन् । विमला पनि पीडित भइन् । केही दिन पीडामा बिते । उसको लोग्ने र सौताले काठमाडौंमा होटेल खोलेका छन् रे, सुनाए कसैले ।

‘गएर त्यसलाई जगल्ट्याउनु पर्छ र आफ्नो लोग्नेलाई फर्काएर ल्याउनु पर्छ,’ सल्लाह दिइन् एउटी महिलाले । उनी पनि पुरानो लोग्ने छोडेर सौतामै आएकी थिइन् हुन त । 

‘बहुविवाहको उजुरी दिएर दुबैजनाका पाता फर्काउनु पर्छ,’ एक जना पुरुष उफ्रियो । ऊ पनि पुरानो श्रीमतीलाई छोडेर कान्छी श्रीमतीसँग बसेको मान्छे हो ।

‘न्यायालयमा मुद्धा हालेर अंश माग्नुपर्छ,’ लोग्नेसँग छुट्टिएर बसेकी अर्की महिलाले सल्लाह दिइन् ।

‘छोराछोरी आफैसँग राख्ने गरी अंश माग्नु पर्छ,’ सल्लाह दियो अर्कोले पनि । अनेकथरि सल्लाह आए । 

‘फुटेको ऐना र चर्केको मन जोड्न सकिदैन’ भन्ने उखान सम्झेर विमलाले अन्ततः बहुविवाहको उजुरी हाल्ने निर्णय गरिन् ।

चौकीको थानेदारले उजुरी दर्ता गर्न सुरुमा त निकै आनाकानी नै र्गयो । पछि वडाध्यक्ष र दुईचार जना नेताको टोली लिएर गएपछि बल्लबल्ल उजुरी  दर्ता गर्यो । उजुरी त दर्ता गर्यो तर कार्यवाही केही पनि गरेन । त्यो थानेदार पनि थुनुवा महिलालाई बलात्कार गरेको मुद्धामा निलम्बन भएर एक वर्षपछि सोर्स लगाएर पुनर्बहाली भएको रहेछ । बलात्कारको आरोप त ढिसमिस गरेको मान्छेले यस्ता बहुविवाहका मुद्दालाई त उसले मुद्दै मान्दो रहेनछ ।

‘मिल्नु होस्, यस्तो कानूनी कारवाहीको झन्झटमा नलाग्नु होस्,’ सम्झाउने प्रयास गर्दै थियो । 

विमलाले बुझेकी थिइ, यो उसको पैसा झार्ने उपाय हो । तर उसले अडान लिइरही ।

अन्ततः मुद्धा न्यायालयमा जाने भो । वकिल राख्नुपर्ने भो । वकिल राख्नुपर्ने भएपछि राखियो, आफ्नै गाउँका भागिराम वकिललाई । हुन त उनी पनि तीन ओटा विवाह गरेर पारिवारिक स्थिति अस्तव्यस्त भएका व्यक्ति हुन् तर चिनेको र आफ्नै टोलको वकिल हुनाले उनैलाई राख्ने निर्णय गरियो ।

आज जिल्ला न्यायालयमा विमलाको मुद्धा न्यायाधीशको वेञ्चमा पेश हुने दिन हो । पेश भयो पनि । 

दौरा सुरुवाल र कालो कोट लगाएका न्यायाधीश आएर आफ्नो आसनमा बसे । 

न्यायाधीशलाई देखेर विमला हेरेको हेर्यै भई । 

यी न्यायाधीश त उसकै साथी हेमाका लोग्ने पो रहेछन् । 

पोहोर साल यिनले पनि हेमामाथि सौता हालेका थिए, आफ्नै कम्प्युटर अपरेटरलाई ।

नेपालगन्ज

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।