आयामेली आन्दोलन, मुन्धुम र बैरागी काइँला
शून्य ओछ्याएर खाटमाथि–
फिलाहरूमा निद्रा चेपेर जो विस्मृत छौँ,
नाचौँ नाचौँ– अनस्तित्वको विरुद्ध !
खण्डहर खनेर क्षयग्रस्त हस्तिहाडमा
भाँच्चिएको चौकोसमा, माटाका खपटामा
कतै भेटिनु आफू– भेटिनु आफू
काठबाँसको लिङ्गवरिपरि मान्छे रोपेर
नाचौँ नाचौँ आफैँभित्र पनि निर्वासनको विरुद्ध !
बैरागी काइँलाले २०२१ सालमा लेखेको कविता हो यो । ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’ शीर्षकमा रूपरेखामा प्रकाशित यो कविता उनले आयामेली लेखनका क्रममा तयार पारेका हुन् ।
सर्जक आफैँ पनि जनजाति भएकाले नेपालका मात्र नभई विश्वकै आदिम जातिका सांस्कृतिक विम्ब यो कवितामा उतारेका छन् । अर्थगत हिसाबले साबातको बैला उत्सवको भनेको बन्ध्यापन वा बाँझोपनको निराकरण गर्न मनाइने पर्व हो । मान्छेले आफ्नो अस्तित्व जोगाउन यो चाड मनाउने लोकसन्दर्भ अझै पनि छ ।
सार्थक तर जटिल कविता लेख्ने नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व हुन् वैरागी काइँला । उनको जन्म १९९६ साउन २५ गते भएको हो । न्वारानको नाम तिलविक्रम नेम्वाङ भए पनि बैरागी काइँलाका नामले प्रसिद्ध छन् । पाँचथरको पौवा गाउँका काइँलाले स्नातक तहसम्मको औपचारिक शिक्षा प्राप्त गरेका छन् ।
कसरी भए कवि ?
कलेज अध्ययनका लागि दार्जिलिङ पुगेका काइँला त्यहाँ हुने साहित्यिक कोठे गोष्ठीमा सहभागी हुने गर्दथे । त्यही कोठे कवि गोष्ठीको वातावरणले उनीभित्रको कवि प्रतिभाले प्रष्फुटन हुने मौका पाएको देखिन्छ । फूल, पात, पतकर (२०१८) कविता सङ्ग्रह प्रकाशित भएपछि उनको साहित्य यात्रा अझ झाँगिन र सार्वजनिक हुन थाल्यो । सुरुमा केही छोटा कविता लेखे पनि ‘तेस्रो आयाम’ २०२० को प्रकाशन सुरु गरी साहित्यमा आयामेली आन्दोलनतर्फ उन्मुख भई उनी मान्छेका अन्तरङ्ग विचार र दर्शनहरू सिर्जनामा प्रकट गराए ।
धेरै साहित्य अनुरागीहरूले काइँलालाई थोरै कविता लेखेर निकै चर्चित हुने कवि भनेर चिन्छन् । साथै उनलाई दुरूह र विलक्षण विम्बमार्फत् भाषाको चमात्कारिक विलाश गर्ने कवि पनि भन्छन् । फूल, पात, पतकर (२०१८), बैरागी काइँलाका कविताहरू (२०३१), अन्धा मान्छेहरू र हात्ती (२०६८) उनका चर्चित कविता सङ्ग्रह हुन् ।
उनका अन्य कृतिमा किराँत जागरण गीत (२०३८), महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थका भजनमाला (२०४७), समकालीन साहित्य (२०४६), जर्नल अफ लिम्बू, लिटरेचर एन्ड कल्चर (२०४८), लिम्बू जातिमा कोख–पूजा २०४८, ईष्र्या र आँखीडाहीको आख्यान (२०५१), लिम्बू ग्रन्थसूची (२०४९), प्रेतात्माको आख्यान र अनुष्ठान (२०५१), मोच मार्ने आख्यान र अनुष्ठान (२०५२), तङ्सिङ् तक्मा मुन्धुम ः आख्यान र अनुष्ठान, (२०५२), मुजिङ्ना खेयङ्ना मुन्धुम (२०७०), लाहादाङ्ना सुहाम्फेबा मुन्धुम, (२०७०), खाप्पुना मेल्लङ्हाङ्मा मुन्धुम (२०७०), पाजाइवा मुन्धुम, (२०७०), नाम्सामि–केसामि मुन्धुम (२०७०) हुन् ।
माथिको सूचीबाटै थाहा हुन्छ, उनका अनुसन्धानमूलक कृति पनि धेरै छन् । खास गरी किराँत लिम्बू जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँच दशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी कृति प्रकाशित गरेका छन् ।
नेपाली साहित्य र संस्कृति अनुसन्धानमा योगदान गरेबापत उनलाई २०७५ सालको जगदम्बा–श्री पुरस्कारदेखि ‘रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ बाट सम्मान गरिएको छ । २०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनलाई २०६६ देखि ७० सम्म प्रज्ञा प्रतिष्ठानका कुलपतिको रूपमा कार्य गर्ने अवसर प्राप्त भयो ।
आयामेली आन्दोलनमा काँइला
नेपाली साहित्यमा आयामेली आन्दोलन निकै चर्चित छ । मान्छेका जीवनका सतही पाटोलाई मात्र होइन, उसको जीवनका जटिल पाटोलाई पनि साहित्यमा उतार्नुपर्छ भनेर गरिएको आन्दोलन हो यो । मानिसको जीवनको सम्पूर्णतालाई साहित्यले समेट्नुपर्छ भन्ने मान्यता राख्छ यसले ।
जीवनलाई लम्बाइ, चौडाइ र गहिराइ तीनै पक्षबाट हेरिनुपर्छ भनेर सन् १९६३ देखि आयामेली आन्दोलनको कविता विधातर्फबाट सिर्जनामा लागेका बैरागी काइँला निरन्तर यही क्षेत्रमा लागिरहेका छन् । यो आन्दोलनको पृष्ठभूमि ‘फूल, पात, पत्कर’ र इन्द्रबहादुर राईको विपना कतिपय (१९६१) ले तयार गरे पनि त्यसको घोषणा ‘तेस्रो आयाम’ (२०२०) पत्रिकाको सम्पादकीयमार्फत भएको थियो ।
आयामेली आन्दोलनमा मूल रूपमा तीन जना सर्जक, चिन्तक, प्रवर्तकको लागेका थिए, जसमा बैरागी काइँला, इन्द्रबहादुर राई र ईश्वर बल्लभ पर्छन् । काइँला र ईश्वर बल्लभ कविता विधातर्फ आयामिक आन्दोलनमा लागेका थिए भने राई आख्यानतर्फ ।
उनीहरूले सुरु गरेको आयामेली आन्दोलनका बारेमा उपप्राध्यापक डा सुकुम शर्माले ‘नेपाली भाषा–साहित्यमा आन्दोलन’मा ९ वटा बुँदामार्फत यसका उद्देश्यलाई प्रष्ट पारेका छन् ।
१. मानिसको सम्पूर्णता लेख्नुपर्छ । कुनै एक पक्षको वर्णन मात्र तेस्रो आयाम होइन ।
२. तेस्रो आयामका लागि आवश्यक हतियारका रूपमा सापेक्षतावाद, चित्रकला, सङ्गीत, मनोविज्ञन र प्रतीकहरू हुनेछन् ।
३. तेस्रो आयाम नबुझिने हुन सक्तछ ।
४. पलायनको त्याग गर्ने, पलायन भन्नु भावुकता हो चेप्टो । यसले जीवनको गहिराइ समाउँदैन । चेप्टोमा सम्पूर्णता आउन सक्दैन ।
५. जीवन नै आयामको मूल विषयवस्तु हो ।
६. तेस्रो आयाम भनेको गहिराइ हो, जसमा विचार र दर्शन हुनेछन् ।
७. मानिसले भोग्नु परेका सबै जटिलतालाई अभिव्यक्ति गर्नुपर्दछ । मानिसका त्यस्ता जटिलताको चित्रणमा वर्णन होइन, तेस्रो आयाम जिन्दगीको अभिव्यक्ति हुनेछ ।
८. जिन्दगीको वास्तविक सत्यका लागि तेस्रो आयाम आवश्यक छ नत्र, एकपक्षीय हुन जानेछ ।
९. तेस्रो आयाम नयाँ ढङ्गको लेखन हो । पुरानो शब्द र प्रतीयक योजना तेस्रो आयाममा हुनेछैन । यसमा आधुनिक लेखन हुनेछ । आधुनिक लेखनले मात्र आधुनिक मान्छेको जिन्दगी सलक्क अभिव्यक्त गर्न सक्तछ ।
अतः मान्छेको जिन्दगीका भोगाइलाई सलक्क अभिव्यक्ति दिनु नै आयामेली दृष्टिकोण हो भन्ने देखिन्छ । बैरागी काइँलाले पनि मान्छेका भोगाइबारे सिर्जनामा अभिव्यक्तिँदै आएका छन् ।
किराँत संस्कृति र मुन्धुम
किराँत शब्दले नेपालका राई, लिम्बू, याक्खा, सुनुवार जातिलाई जनाउँछ । यो समुदायमा चलेको संस्कृति नै किराँत संस्कृति हो । बैरागी काइँला पनि यही सांस्कृतिक समुदायका हिस्सा हुन् । उनले यो संस्कृतिको गहन अध्ययन र अनुसन्धान पनि गरेका छन् । विभिन्न ठाउँमा दिने उनका मन्तव्य र सिर्जनामा पनि मान्छेका गहिराइबारे खोतलिएको पाइन्छ ।
किराँतहरूको मूल ग्रन्थ मुन्धुममा मान्छेको जीवनलाई कसरी सफल र सुखी तुल्याउने कुरो उल्लेख भएको बताउँछन् उनी । ज्ञान आफैँमा एउटा शक्ति हो, त्यसैले हरेक व्यक्ति ज्ञान प्राप्त गर्न लालायित र प्रयत्नरत छन् । जोसँग ज्ञान छ, ऊ सधैँ शक्तिशाली हुने गरेको ठान्छन् उनी ।
आदिकालमा पूजारीहरू जस्तै फेदाङ्मा सम्बाहरूका ज्ञानका कारण नै समाजमा सम्मानित, प्रतिष्ठित र शक्तिशाली भए । विभिन्न देशमा उहिले यस्तै ज्ञान भएका पूजारीहरू राजा भएका र तिनले भनेअनुसार मान्छेको दैनिक जीवन चलेको उनी बताउँछन् ।
“आज पनि मुन्धुमलाई हाम्रो दैनिक जीवनमा नियामक मान्दछौँ । कसरी बाँच्ने, कसरी बोल्ने, कसरी सुखी जीवनका लागि प्रस्तुत हुने भन्ने कुराहरू मुन्धुमहरूबाट प्राप्त गर्छौं,” काँइला भन्छन्, “यही ज्ञानको पद्धतिलाई लिम्बू भाषामा मुन्धुम भनिएको हो ।”
सामान्यत मुन्धुम शब्दले शास्त्र भन्ने अर्थ बुझाउने र त्यसभित्र कथा, आख्यान रहन्छ भन्छन् उनी । कसैले ठूलो काम गर्यो भने विभिन्न श्लोक गाउने, ठूलो कथा जस्तो गरेर भन्ने काम हुन्छ ।
शास्त्र भनेको ज्ञानको विशेष प्रणाली हो । लिम्बू जातिको ज्ञान र प्रणाली भने हालसम्म पनि अलिखित अवस्थामा रहेको अवस्था छ । त्यो श्रुति परम्परामा हस्तान्तरण हुँदै आएको छ । हजारौँ वर्षदेखि मौखिक रहेर पुस्तान्तरण हुँदै आएको ज्ञानको पुञ्ज नै लिम्बू जातिको मुन्धुम हो भन्छन् उनी ।
मुन्धु शब्द कहाँबाट आयो, कसरी बन्यो भनेर खोज्नुपर्ने अवस्था छ । भाषाका अध्येताहरूले यस शब्दको व्युत्पत्तिबारे जे जे अर्थ लगाए पनि लोकले लगाउने अर्थलाई आफूले मान्यता दिनुपर्ने धारणा उनको छ ।
मुन्धुम शब्दको निर्माण दुईवटा असमापक क्रियापदबाट बनेको छ । “मुन्मा र थुम्मा असमापक क्रिया मिलेर बनेको शब्द हो मुन्धुम,” उनी भन्छन्, “पहिलो पद मुन्–मा हो । यो अकर्मक र सकर्मक क्रिया हो । दोस्रो क्रिया हो थुम्मा । थुम्–मा मा असमापिका क्रियाको चिह्न हो भने थुम् नामको रुपमा पनि प्रयोग हुन्छ । यसले मान्छेको बल, तागतलाई जनाउँछ ।”
यसको अर्को अर्थ कडा हुनु, कठोर हुनु, कठिन हुनु पनि हो भन्छन् उनी । ज्ञान नै त्यो शक्ति अर्थात् थुम र त्यसले कठिन परिस्थितिलाई पार लगाउन सक्छ । तसर्थ शक्तिशालीले मात्र कठिन परिस्थितिलाई पार लगाउन सक्छ । त्यो शक्ति ज्ञानमा मात्र हुन्छ भन्छन् उनी ।
त्यसैले लिम्बू जातिले कठिनतम काम पार लगाउन सक्ने सामथ्र्य भएको ज्ञानलाई शक्तिशाली ज्ञान अथवा ज्ञानको मूल स्रोत अर्थात् मुन्धुम भनिएको उनको धारणा छ । मुन्धुममा सृष्टिको कारक तत्त्व ईश्वर हो । काँइलाको दृष्टिमा चाहिँ चेतना वा चैतन्य हो । शून्यमा चेतनाको उपस्थिति भएपछि उसकै इच्छाशक्तिले सृष्टि कार्यलाई क्रियाशील तुल्याएर पूर्णता दिइएको उनको निष्कर्ष छ ।
अनेक आख्यान, लोककथाहरूद्वारा धार्मिक, नैतिक र सामाजिक धारणाहरू मुन्धुमभित्र अभिव्यक्त हुन्छन् । त्यसैले लिम्बू जातिमा मुन्धुम भनेको जीवनको एउटा आधार हो ।
पहिचानको आन्दोलन र काँइला
हरेक आदिवासी जनजातिले आफ्नो पहिचानका लागि संसारका सबै ठाउँमा लड्न थालेको त धेरै अगाडि हो । सन् ६० को दशकमा आएर ब्रिटिस उपनिवेशवाद समाप्त भएपछि आफ्नो पहिचानका लागि लड्ने लडाइँ एकदमै सतहमै आयो भन्छन् काइँला । सबैले आफ्नो पहिचान र अस्तित्वको दाबी गर्दै अगाडि बढेर आइराखेकै छन् ।
आफ्नो अस्तित्व खोज्नका लागि हामी को थियौँ, कहाँबाट आयौँ, कहाँ छौँ, के हौँ भनेर सन् ६० को दशक अगाडि नै सर्च फर द रुट भनेर सोसियोलोजी एन्थ्रोपोलोजीको अभियान नै सुृरु भएको उनी बताउँछन् । यसको प्रभाव विश्व साहित्यमाथि व्यापक पर्यो । त्यसको प्रभाव हाम्रो मुलुकमा पनि छिटफुट रूपमा भइराखेका थियो ।
“तर छयालीसको जनआन्दोलन पछाडि यो सतहमा आयो,” उनी भन्छन्, “नेपालको इतिहासमा झन्डै झन्डै २४० वर्षसम्म दबिएका आवाज, किनारीकृतहरूले पनि आफ्नो अस्तित्वको दावी, हक र अधिकारका कुरा कराएरै बोल्न थाले । सहँदा सहँदा भएका गुनासाहरू एउटा विद्रोहको रूपमा आउन थाले ।”
नेपाली साहित्यमा त्यतिबेला तीनवटा कुरा हुनुपथ्र्यो भन्छन् उनी । पहिलो, आदिवासी जनजातिहरूको आवाज साहित्यमा मुखरित हुनु, दोस्रो, दलितहरूको आवाज मुखरित हुनु, तेस्रो, लैङ्गिक विभेदका विरुद्ध नारीहरूको आवाज अगाडि आउनुपर्ने थियो । तर निकै न्यून आयो ।
लगभग विसं २०५५ सम्म दलितहरूको आवाज साहित्यमा खुब आइरहेको थियो । तर अहिले आएर कम भएको छ भन्छन् उनी । राजनीतिक र सामाजिक तहहरूमा त छ तर साहित्यमा त्यति दह्रो भएर आएको छैन । अहिले नारी लेखन भनेर नारीहरूको कुरा खुब सशक्त रूपमा आइरहेको उनको जिकिर छ ।
अर्कोतर्फ हामी जातीय अस्मिताका कुराहरू उठाइरहेका छौँ । यो मुलुक सबैको हो भने हाम्रो ठाउँ कहाँ हो त ? हामीले ठाउँ नपाउने हो भने कहाँ जाने त ? यही ठाउँमा हो ठाउँ खोज्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।
पहिलो जनआन्दोलनमा केन्द्रीयताको विरुद्धमा आदिवासी जनजातिको अन्दोलनले निकै भाउ पाइसकेकै थियो तर दोस्रो जनआन्दोलन पछाडि चाहिँ कसो कसो आदिवासी आन्दोलनको भाउ घटेजस्तो लाग्न थालेको छ उनलाई ।
“यो बेलामा विभिन्न मातृभाषी लेखकहरूले नेपाली भाषालाई माध्यम बनाएर लेख्दा आफ्नो संस्कृति, परम्परा, भाषा, भौगोलिक क्षेत्र र मिथकलाई हतियार बनाएर पहिचान स्थापित गर्ने कोसिस गरे,” उनी भन्छन्, “त्यसलाई राजनीतिक तौरमा कतिपयले नराम्रो माने पनि भाषा र साहित्यका हिसाबले नेपाली मातृभाषी समालोचक, स्रष्टा र पाठकहरूले बुझे भने धेरै राम्रो हुन्छ ।”
यसले दुई कार्य गरेको उनी ठान्छन् । किनभने यसमार्फत विभिन्न मातृभाषाका शब्द नेपाली भाषामा आए, उनीहरूका मुन्धुम, मिथकका शब्द लगायतले नेपाली भाषालाई समृद्ध बनायो । अहिलेसम्मको नेपाली समाजको सबैभन्दा खराब कुरा एकले अर्कोलाई नचिन्नु वा चिनेको जस्तो नगर्नु थियो भन्छन् उनी । यो पनि हटेर जाँदैछ ।
आफ्नो अस्तित्व जोगाउँदा जोगाउँदै पनि मान्छेले जीवनमा विभिन्न भय, त्रास र विपत्तिबाट गुज्रनुपर्छ । हरेक मानिसमा आफ्नो अस्तित्व जोगाउने अभिलाशा हुन्छ तर अरुप्रति बेखबर हुन्छ । अरूका लागि ऊ एउटा दर्शक वा रमिते मात्र हुन पुग्छ भन्ने कुरा काँइलाको ‘हाट भर्ने मानिस’ शीर्षकको यो कवितांशबाट बुझ्न सकिन्छ ।
मलाई झन्डै छोएर जाने
पर पुगिसकेको कालो मोटरसित
मृत्यु आज जिन्दगीको छेवैनिर भएर गयो ।
सानो दुर्घटनाको खुद्रा पैसाले पनि नकिनेर
यो जिन्दगी
मृत्यु आज बजारबाट खालि हात गयो
कुहुन लागेका आलुहरूमा
रगत बेचेर नजिकैको ब्लड ब्याङ्कमा, पैसाले
टुुक्रा टुक्रा जिजीविषा बटुलिरहेका
अस्तित्व लपेटेर कात्रोको झोलाभित्र
यी हाट भर्ने मानिसहरूलाई
तर थाहा भएन !
मृत्युले त आज
जीवनको बजार भाउ बुझेर गयो !
यो कविता पङ्क्तिले मान्छे भित्रको भय, त्रास, विस्मय एवं तनावलाई प्रकट गरेको छ । मान्छेको गहिराइलाई छामेको छ । बाँच्ने इच्छा र जीवनको मूल्यहीनतालाई बजारमा हिँड्ने मानिसहरू रमिते हुने आभास प्रकट गराएको छ ।
कान नसुन्ने भएर अहिले वैरागी काँइला दोहोरो कुराकानी गर्न सक्तैनन् । लेखेर प्रश्नोत्तर गर्दै उनको जीवनको गहिराइलाई छाम्ने कोसिस गर्नु अत्यन्त दुरुह कार्य हो ।