अन्तर्राष्ट्रिय युवा दिवसको सान्दर्भिकतामा नेपाली युवाको दायित्व
आज १२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । अन्र्तपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो, जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ ।
विश्व समाजको विविधताअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, संगठन र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममा युवाबारे एकरूपता छ । विश्व बैंक, संयुक्त राष्ट्र संघलगायतका संस्थाका निर्णय यसका नमुना हुन् । संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो ।
यो निर्णयले युवाको सामाजिक पक्षमा जोड दिए पनि पछिल्लो समय युवा दिवस राजनीतिक पक्षसँग बढी जोड्न थालिएको छ, अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनकोे सफलतासँग गाँसिएको छ । यद्यपि युवाका मुद्धालाई स्थापित गर्न, युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गराउने अभियानका हिसावले यो दिवसलाई लिइन्छ ।
नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० वर्षको वर्ग युवा मानिन्छ । ०७८ को जनगणनाअनुसार यो वर्गको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेकोे छ । शिक्षा मन्त्रालयको खेलकुद तथा युवा शाखामा सीमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको थियो ।
राष्ट्रिय युवा नीति, कार्यान्वयनका लागि युथ भिजन २०२५ निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठन हुनु युवाको लागि निश्चय नै सुखद कुरा हो । स्थानीय निर्वाचनको नतिजा हेर्दा स्थानीय तहमा ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन् । जसमा १९ प्रतिशत युवा (नगरमा ३७ र गाउँपालिकामा १०६) जनाले नेतृत्व समलिरहेका छन् ।
यसरी युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रियसभाबाहेक अन्यमा पनि विगतको निर्वाचनको सहभागिता उत्साहजनक नै छ भने अब आउने प्रतिनिधि सभा निर्वाचनमा युवा थप मजबुत भएर आउने आशा गरिएको छ । तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुन सकिरहेको छैन ।
देशले कोभिड १९ लगायत विपत्तिको सामना गरिरहँदा आमयुवा परिचालित हुन पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै हुने तथा युवाको समस्या पहिचाहनसंगै परिचालनको लागि गतिलो व्यवस्थापन राज्यले अवलम्वन गर्न सकेन । यसकारण युवा रोजीरोटीको लागि विदेशिनु पर्ने अवस्था छ ।
पछिल्लो जनगणनाअनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । ३६ प्रतिशत भन्दा बढी युवा अद्र्धबेरोजगार छन् भने प्रत्येक वर्ष ४ लाख ५० हजार युवा श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रवेश गर्छन् । रोजगारमा संलग्न युवा हुन् या बेरोजगार वा बैदेशिक रोजगारका लागि पलायन भएका युवा नै किन नहुन् । अहिले युवा जम्मा हुने, योजना निर्माण गर्ने, अनुभव साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्याङ्कन गर्ने स्थान र वातावरणको टड्कारो खाँचो छ ।
वर्तमान नेतृत्व र भविष्य
भनिन्छ, तन्नेरीहरु चाँडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुली पनि हाल्छन् । तर, बुढापाकाहरु ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन् । समृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लिरहने मात्रै पनि हैन, सही समयमा स्वीकार र विकल्प सहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवा मैत्री मान्न सकिन्न ।
कोभिड १९ को कारण आज विश्व आर्थिक, सामाजिक, राजनैतिक रुपमा सोचे अनुसारको गतिमा छैन । यस लेखमा अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा प्रवृत्तिको चर्चा गर्न खोजिएको छ ।
हुन त जुनसुकै पार्टीको, विचारको भए पनि युवा भनेको सबैको साझा नै हो । उसले वोक्ने एजेण्डा सिंगो देशसंग जोडिएको हुनु पर्छ । सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ, उसले युवा शब्दमा व्यापार सुरु गर्छ ।
एउटा सन्र्दभमा युवा नेता गगन थापाले भनेका थिए, आफ्नो पार्टीको महाधिवेशनबाट नेतृत्व चयन गर्दा युवा नेतृत्व आवश्यक छ भनेपछि सबैले हो, अगाडी बढ्नुस् भने । मैले उम्मेदवारी पनि दिएँ, विडम्वना रत्नपार्कमा मैले एक्लै भोट माग्नु पर्यो, अगाडि बढ्नुस् भन्नेहरु सहयोग त के देखिन पनि चाहेनन् । मतलव युवा सहभागिताको सन्दर्भमा समाज उदार छैन । युवा सोँचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा परेको छैन ।
युवाका एजेण्डा स्थापित गर्ने र बुर्जुवा नेतृत्व विस्थापित गर्न मुल राजनैतिक युवा शक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्तिगानमा रमाउने, उसैको आहालमा डुब्ने निश्चितप्रायः छ । जो विगतको भन्दा कुनै नौलो र अन्तरराष्ट्रिय अभ्यास होइन ।
युवा सर्वाधिक सक्रिय, ऊर्जावान र गतिशील समूह हो । तर अहिले ३६ प्रतिशत भन्दा बढी युवा अद्र्धबेरोजगार रहेका छन् । बर्षेनी ५ लाख ३८ हजार युवा रोजगारीका लागि विदेशिने गरेको तथ्याङ्क छ । यो दर प्रतिदिन १५ सयको हाराहारीमा हुन आउँछ । जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो । यसमा राज्यको वागडोर सम्हालेको गठबन्धन नराम्रोसंग चुकेको छ ।
युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा यो मुल नेतृत्वले भुल्नु भएन ।
अर्कोतिर नेतृत्वको उत्तराधिकारी छनौट, क्षमता, भिजन र योजनाका आधारमा जबसम्म गरिंदैन, तबसम्म युवाले वैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ । युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत, विकृति, द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने अहिले सम्मको तीतो सत्य हो ।
दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिहरुले विकासको बागडोर सम्हालेका छन् । जनप्रतिनिधिमा युवा सहभागिता बढेको छ । भौतिक उपस्थितिले मात्र सहभागिताको सिद्धान्त समेट्न सक्दैन । युवा जनप्रतिनिधि भएपश्चात युवामैत्री विकास भयो या भएन ? त्यो बहसको विषय बनाइनुपर्छ अब ।
अहिले सार्वजनिक नीति निर्माणमा युवाको सार्थक सहभागिताको खाँचो छ । आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाको सहभागिता, युवा समावेशीकरण, रोजगारी क्षमता र उद्यमशीलताको विकासका लागि स्थानीय तहले ध्यान दिन सकेको देखिदैन । सरकारले के दियो भनेर बिलौना गर्नुभन्दा पनि हामीसंग रहेको क्षमताले उपलब्धिको उपयोग गर्न के प्रयत्न गरिए, सबै युवाले सोच्नैपर्ने बेला आएको छ ।
साथै शैक्षिक तथा स्वास्थ्य स्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, पिछडिएका क्षेत्र, वर्ग र समुदायका युवालाई विशेष संरक्षण, युवाबीच लैङ्गिक, जातीय, क्षेत्रीय, भाषिक, साँस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य पनि युवाको सवाल हो, जुन हामीले भुल्नु हुँदैन ।
गैरसरकारीको गैरधन्दा
युवाको नाममा कण्डम बाँड्नेदेखि डलरमा सपना किन्ने सम्मका काम गैरसरकारी संस्थाले गरिराखेका छन् । जसलाई सहायताका नाममा अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरुले एक प्रकारको व्यापारिक धन्दामा नै स्थापित गरिदिएका छन् । गैरसरकारी क्षेत्रमा काम गर्नेहरुले बुझ्न पर्ने एउटा कुरा, संस्था राज्यका सहयोगी हुन्, प्रतिस्पर्धी हैनन् । राज्यको ऐन नियम कानुनमा टेकेर बैध काम गर्न छुट मात्रै दिइएको हो । भोलि राज्यले चाह्यो भने संस्थाको भूमिका नरहन पनि सक्छ ।
सवै संस्थालाई यो घानमा हाल्न त सकिदैन तर अधिकांशको नियति देखियो । यसैले अब गैरसरकारी क्षेत्र पनि अछुतो रहेन । गैरसरकारी क्षेत्रको नियमन गर्ने निकाय समाज कल्याण परिषद् लैनचौरवाट लखेटिएर उपराष्ट्रपतिको निवास बनेको छ । परिषद्का जिम्मेवार पदाधिकारी आईएनजिओसंग खुल्लायाम बार्गेनिङमा छन् । यो नरोकिएमा संयुक्त राष्ट्र संघलाई देखाउँदै युवालगायत विभिन्न दिवस मनाउनु सामाजिक क्षेत्रमा काम गर्नेको वाध्यताजस्तै छ । म आफै पनि यस क्षेत्र त्यसमा पनि युवामा काम गर्दाको तीतो अनुभूतिवाट यो धारणा निर्माण भयो । अब यो क्षेत्र सुधार्ने हो भने यस भित्रका विकृति वाहिर ल्याउनै पर्छ ।
२०६४ साल अगाडि नेपालमा शिक्षा मन्त्रालयमा युवा क्षेत्र शाखामा सीमित थियो । सामाजिक र राजनैतिक दबाववाट युवा तथा खेलकुद मन्त्रालय जन्म्यो । ६० बर्षका मान्छे मन्त्री बनाएर भए पनि एक कदम राज्य युवाका पक्षमा आयो । सामाजिक क्षेत्रवाट युवा आयोग वा युवा परिषद्को माग जोडतोडले उठ्यो, त्यसबेला भलै युवा गैरसरकारी संस्था महासंघ त्यसको अग्रभागमा खट्यो ।
सरकारैपिच्छे नयाँ नयाँ कुरा आउन थाल्यो तर ढिलै भए पनि माधव ढुंगेलको नेतृत्वमा २०७२ सालमा युवा परिषद नै गठन भयो । पहँुचवाल युवाको त्यहाँ पनि समेटिन रमिता नै देखियो । यद्यपि युवा अधिकारको क्षेत्रमा परिषद् ऐतिहासिक कदम थियो भने नेतृत्व पनि पहिलो कार्यकाल सफल नै रह्यो ।
केही गैरसरकारी युवा स्वार्थमा डुब्दा उपलब्धको रक्षा, अधिकारको प्रयोगमा भन्दा पनि नौला नौला संस्था जन्माउने र राज्यसंग प्रतिष्पर्धा गर्न थाले । युवा आन्दोलन कागको फुल चोर्ने हतियार बन्दा अब परियोजनामा जागिर पाउने सम्मको आन्दोलन हुन थाल्यो । जसले गर्दा ब्यक्तिको टाउका गन्ने र ब्यक्तिले लाभ लिने अवस्था बन्यो । समग्र गैर सरकारी क्षेत्रमा युवाको भूमिका खुम्चियो ।
उदाहरणको रुपमा भन्नु पर्दा यस आन्दोलनवाट उदाएका युवा गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष रहिसकेका ब्यक्ति मणि पोखरेल (प्रकाश विकल्प) जनयुद्धवाट आएको पार्टीको केन्द्रमा पुग्नु भएको छ भने अन्य पनि थुप्रै ठाउँमा विभिन्न युवाले उचाई प्राप्त नगरेका हैनन् । यद्यपि युवा अभियान पुन संघर्षमा, फोहर बढार्दै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ ।
एक पटक युवा शब्द खुब विकाउ हुन्थ्यो, साथीहरु घरघरै संस्था खडा गरेर युवाको हरिविजोग छ भन्दै, रेडक्रस स्टायलमा कमाउधन्दामा लाग्ने र वेठेगानका महासंघ नै दर्जनौ पुर्याएपछि ठुलो मान्छे भइन्छ भन्ने भ्रम थियो । राष्ट्रिय निर्देशन ऐनअन्तर्गत दर्ता एउटा युवा महासंघ बाहेक अहिले कसैको अत्तोपत्तो छैन ।
बर्ष दिनमा एक चोटी युवा दिवसमा युवा परिषद्मा भेट हुनेहरु पनि गायब अवस्थामा छन् । सायद अब उहाँहरुको परियोजनामुखी आन्दोलनको दिन समाप्त भए भन्नेमा दुइमत रहेन । अब अस्तित्वमा रहेका नेतृत्वले थप अधिकार प्राप्ती र उपलब्धिको रक्षा गर्दै समग्र युवा अभियान नयाँ उचाईमा पुर्याउन आवश्यक छ । राज्यको सन्यन्त्रमार्फत युवाको पहुँच निर्माण गर्न प्रदेश युवा परिषद गठन समेत गरी सही ढंगले समाज रुपान्तरण गर्न अब ढिला भइसक्यो ।
जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनमा युवाको प्रमुख भूमिका रहन्छ । युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु आवश्यक छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि अब लागि परौ, विगतका अनुभव र अनुभूतिले त्यही भन्छ ।
निष्कर्ष
आजको विश्व व्यवस्थामा युवाको सवाल, अवस्था र आवश्यकताको विषयमा पनि प्रमुख प्राथमिकतासाथ नसोच्ने तर तारे होटलका बन्द कोठामा हुने बौद्धिक विलासिताले ठोस नतिजा निकाल्न सक्दैन । त्यसका लागि सोहीअनुसारको व्यावहारिक कार्यक्रमको निर्माण र सञ्चालन गर्न जरुरी हुन्छ । दिगो विकासको लक्ष्य निर्धारणसहित विश्व समाज अगाडि बढिरहेको छ । हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा दिगो विकास लक्ष्यसम्बन्धि पनि व्यापक बहस, छलफल र कार्यक्रम जरुरी छ ।
दिगो विकासको लक्ष्यका १७ वटा क्षेत्रमध्ये धैरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन् । जसमा युवाको विकास र युवा समस्याको सम्बोधन बिना तिनको अपेक्षित परिणाम आउन नसक्ने कुरा निश्चित छ । युवाको सहभागिता र सक्रियताबिना विकास कोरा कल्पना मात्रै हुन्छ ।
वल्र्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन् । प्रतिवेदनको थप अंशअनुसार २०२० मा ५ सय मिलियन नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने प्रक्षेपण पनि छ । तर कोरोना महामारीले यो संख्या अझै बढ्दो छ । युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ । यसमा चाखलाग्दो विषय त के छ भने रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् । श्रमिकले दक्षताअनुसारको श्रमको अवसर पाइरहेका छैनन् ।
नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यवहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ । ख्याल राख्न जरुरी छ– युवावस्था आउँछ तर जीवनमा एक पटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठीक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ कि छैन, सबैले सोच्नैपर्ने बेला आएको छ ।
लेखक युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा डेंगु सङ्क्रमण न्यून, के भन्छन् विज्ञ ?
-
आजको राशिफल : कस्तो रहला आज तपाईंको दिन ?
-
टेलिकमको टावर निर्माण अन्तिम चरणमा, फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम