शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोमल ओलीदेखि रेखा थापासम्मलाई लाग्यो चुनाव, यस्तो छ कलाकर्मीको निर्वाचन तयारी

शुक्रबार, २७ साउन २०७९, १६ : ३८
शुक्रबार, २७ साउन २०७९

आगामी ४ मङ्सिरमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरू मात्र होइन, कलाकर्मीलाई पनि चुनावी चटारोले छोएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि कलाकर्मी विभिन्न राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवारको रुपमा समेत चुनावी मैदानमा आउने तम्तयारीमा छन् ।
आगामी ४ मङ्सिरको चुनावका लागि को, कहाँबाट उम्मेदवारको लागि कसरतमा छन् त ?  

कोमल ओली 
लोकप्रिय गायिका रहेकी कोमल ओली यतिबेला दाङमा छिन् । दाङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा कसरतका लागि उनी केही समयदेखि त्यहाँ रहेकी हुन् । टिकट कसैले खोस्ला कि भनेर केही समयदेखि दाङमा आफूले जरो गाडेर बसिरहेको उनले बताइन् ।

यो क्षेत्रबाट उम्मेदवार हुनका लागि उनले तयारी समेत राम्रो गरिसकेकी छन् । पार्टीले टिकट दिन्छ र जित्छु भन्ने उनको दावी छ । केही समयदेखि जनतासँग भेटघाट र घरदैलो गर्दै उनीहरुको गुनासो, योजना, समस्या सुन्दै र पीर मर्कामा मलहम लगाउने काम उनले गरिरहेकी छन् ।

उनी नेकपा एमालेबाट उम्मेदवारको रुपमा प्रस्तुत हुनेछिन् । एमालेबाट राष्ट्रिय सभा सांसद्समेत रहेकी उनी जनताले नै तपाईं आउनुस् जिताउँछौ भनेको सुनाउँछिन् । ‘म जन्मेको ठाउँ र मेरो आफ्नो क्षेत्र यही भएकोले मलाई जित्न सजिलो छ,’ ओलीले थपिन्, ‘पार्टीले टिकट दिन्छ भन्ने विश्वास छ । कलाकार पनि हुँ, महिला पनि हुँ । म प्राथमिकतामा पर्छु ।

करिश्मा मानन्धर 
अभिनेत्री करिश्मा मानन्धर पनि पार्टीले अगाडि सारेमा पछि नहट्ने पक्षमा छिन् । गत स्थानीय निर्वाचनमा पनि गोदावरीको मेयरमा चर्चामा रहेकी मानन्धर अहिलेसम्म आफूले उम्मेदवार बन्ने निर्णय भने नगरेको बताउँछिन् ।
‘पार्टीका लागि म नयाँ पनि हो । त्यसैले म अगाडि आउँछु भनिहाल्न मिल्दैन,’ उनले भनिन्, ‘साथीभाइलाई सहयोग गर्छु । पार्टीका विभिन्न क्रियाकलापमा भाग लिन्छु, चुनावमा सघाउँछु ।’ पार्टीले निर्णय गरेर कुनै क्षेत्रमा उठ्नुस् भन्यो भने उम्मेदवार बन्न आफूलाई  आपत्ति नभएको उनले सुनाइन् । करिश्मा केही अगाडि मात्र एमाले प्रवेश गरेकी हुन् ।

प्रदीप उदय 
फिल्म निर्माता, प्रदर्शकसमेत रहेका प्रदीप उदय  रुपन्देही २ (ख) बाट प्रदेश सभा सदस्य उठ्ने तयारीमा छन् ।  त्यसका लागि उनले तयारी गरेको लामै समय भयो ।  उनी यतिबेला आफू उम्मेदवार हुने क्षेत्रका सर्वसाधारणदेखि कार्यकर्तासम्म भेटघाट गर्ने, गुनासो सुन्ने र समस्या समाधान गर्ने काममा छन् ।

उनी राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाबाट उम्मेदवार बन्न लागेका हुन् । सेलिब्रेटी र सामाजिकलगायत सबै काममा आफू भिजेकोले चुनाव जित्ने दावी गर्छन् । ‘मेरो क्षेत्रमा बृद्धदेखि बालकसम्ममा म परिचित छु,’ उदयले थपे, ‘चुनाव जित्न मलाई गाह्रो छैन ।’
रोज राणा  
अभिनेता, निर्माता तथा निर्देशक रोज राणा पनि उम्मेदवारको रुपमा आउने तयारीमा छन् । उनी प्युठान–२ बाट प्रतिनिधि सभा सदस्यका लागि तयारी गरिरहेका छन् ।
राणाको नेपाली काँग्रेसबाट उम्मेदवार बन्ने तयारी हो । नेपाली काँग्रेसको यसै क्षेत्रका दुई पटक क्षेत्रीय सभापति चलाएका उनी अहिले पार्टीको महासमिति सदस्य पनि हुन् । भन्छन्, ‘पार्टीका साथीहरुको, युवाहरुको चाहना पनि यसपटक म उम्मेदवार होस् भन्ने छ ।’ स्थानीय चुनावमा आफ्नै सक्रियताबाट उनले धेरै ठाउँमा काँग्रेस प्रतिनिधिलाई विजय समेत गराएका छन् । 

‘मेरो क्षेत्रमा रोज राणा ल्याउनुपर्छ भन्ने माहोल छ । पब्लिकको यो विचार मैले पनि सम्मान गर्नुपर्छ’ राणाले भने ‘पार्टीले टिकट दिएमा म जित्छु पनि ।’ गठबन्धनको बाँडफाँटमा पनि प्युठानमा एक सिट त काँग्रेसले पाउँछ होला । त्यसमा रोज राणा पक्का हुने पार्टीका एक सदस्य बताउँछन् ।

रेखा थापा  
अभिनेत्री, निर्माता तथा निर्देशक रेखा थापा पनि राप्रपाबाट प्रतिनिधि सभा सदस्यमा चुनाव उठ्ने चर्चा छ । पार्टीको महामन्त्रीमा हारे पनि पछिल्लो समय पार्टीको क्रियाकलापमा आफूलाई ब्यस्त राखेकी उनले उम्मेदवारको चाहना राखेमा पार्टीले पत्याउने देखिन्छ । उनलाई जुनै ठाउँको उम्मेदवार बनाए पनि चुनाव जित्ने अनुमान पार्टीभित्र छ ।

रेखाले भने अहिलेसम्म आफू उम्मेदवार बन्ने नबन्ने केही निर्णय गरेकी छैनन् । ‘पार्टीमा ४ मंसिरको निर्वाचनका लागि उम्मेदवार को को भन्ने बिषयमा छलफल भएको छैन ।  छलफल भएपछि के हुन्छ । त्यसपछि भन्ने बिषय हो,’ रेखाले भनिन्, ‘उम्मेदवारको बिषयमा अहिले म केही बोल्दिन । समय आएपछि मात्र बोल्छु ।’

तीर्थ थापा 
फिल्म निर्देशक तीर्थ थापा पनि लमजुङबाट उम्मेदवार बन्ने तयारीमा छन् । गठबन्धन भएपनि लमजुङ नेपाली काँग्रेसको भागमा पर्यो भने त्यहाँको काँग्रेस उम्मेदवारमा आफ्नो विकल्प नभएको थापा बताउँछन् ।
नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल सांस्कृतिक संघको अध्यक्षसमेत रहेका थापा कलाकर्मीको प्रतिनिधित्वका लागि पनि पार्टीले आफूलाई उम्मेदवार बनाउने विश्वासमा छन् ।
‘अहिलेसम्म हामी कलाकर्मीले कहिल्यै भाग खोजेका थिएनौ,’ थापाले भने, ‘यसपटक प्रतिनिधि सभा सदस्यमा कुनै पनि हालतमा हाम्रो प्रतिनिधित्व हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ पार्टीले उम्मेदवार बनाए आफूले जितेर देखाउने समेत थापा दावी गर्छन् ।

मुधुकुमार श्रेष्ठ 
निर्माता, नायक  मधुकुमार श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ तर्फ प्रदेश सभा (क) मा उम्मेदवार बन्ने तयारीमा छन् । उनी नेपाली काँग्रेसको तर्फबाट यो क्षेत्रको उम्मेदवारमा आउन लागेका हुन् । गत निर्वाचनमा यसै क्षेत्रबाट थोरै मतले पराजित भएका उनी अहिलेदेखि नै त्यहाँ घरदैलो कार्यक्रमदेखि भेटघाट समेत गरिरहेका छन् । 

बेलाबेलामा उक्त क्षेत्रका लागि स्वास्थ्य शिविरदेखि आवश्यक अनेक सहयोग गर्दै आएका उनी यो क्षेत्रका जनताको यसपालिको चाहना आफू रहेको बताउछन् । ‘अहिले मात्र होइन, म आफ्नो क्षेत्रमा जहिले पनि क्रियाशील छु । यो ठाउँका सानादेखि ठुलासँग समेत मेरो आत्मीय सम्बन्ध छ,’ श्रेष्ठले थपे, ‘पार्टीले मलाई नै टिकट दिन्छ भन्ने विश्वास छ ।’

सञ्जय श्रेष्ठ  
गायक सञ्जय श्रेष्ठ काठमाडौं–६ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि तयारी गरिरहेका छन् । उनी राप्रपाबाट उम्मेदवार बन्न लागेका हुन् । २०७० को निर्वाचनमा तत्कालीन राप्रपा नेपालबाट यसै क्षेत्रका उम्मेदवार बनेर पराजित भएका उनी यसपटक आफ्रले जित्ने दावी गर्छन् ।

श्रेष्ठले ४ मंसिरको निर्वाचन घोषणा अगाडि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । पछिल्लो समय राप्रपाको क्रेज राम्रो भएको र आफ्नो क्षेत्रमा आफू लोकप्रिय रहेकाले निर्वाचनमा पब्लिकले आफूलाई भोट दिने श्रेष्ठको विश्वास छ । 
मनोज पण्डित 
फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डित पनि काभ्रेपलान्चोक–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार तयारी गरिरहेका छन् । उनले राजनीतिक पार्टीबाट नभएर स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिन लागेका हुन् । 

उनले आफ्नो क्षेत्रको पहिलो चरणको भ्रमण सकेर दोस्रो चरणको भ्रमणमा जुटेका छन् ।  त्यो क्रममा वडा वडा पुगिरहेका छन् ।  ‘चुनावमा सबै भोट माग्छन् । म त्यो प्रणालीसँग सहमत छैन,’ पण्डितले भने, ‘स्वतन्त्र उम्मेदवारको दायित्व भनेको सत्य कुरो अगाडि ल्याउने हो । हाम्रा नेताहरु झुटको सहारामा अगाडि बढिरहेका छन् । त्यो कुरा म बुझाउँछु ।’  आफूले झुटको खेल नखेल्ने समेत उनले सुनाए ।
चुनावका क्रममा संसद्को काम र कर्तव्यसमेत बुझाउने योजना बनाएका पण्डितले स्थानीयको समस्या बुझ्ने र सुन्ने काममा व्यस्त छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप