शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धन हुने भएपछि माओवादीका अधिकांश शीर्ष नेता चुनाव लड्ने तयारीमा

शुक्रबार, २७ साउन २०७९, १६ : १२
शुक्रबार, २७ साउन २०७९

नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेता चुनाव लड्ने तयारीमा छन् । नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन हुने भएपछि चुनाव जित्न सहज हुने देखेर अधिकांश नेताले चुनाव लड्ने योजना बनाएका हुन् । माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरे पनि हाल १५ जनालाई मात्रै राखिएको छ । स्थायी समितिमा रहेका अधिकांश शीर्ष नेता चुनाव लड्ने मनस्थितिमा छन् । यद्यपि नेपाली काँग्रेसका नेताहरुसँग चुनाव क्षेत्र जुध्दा कतिपय नेता समस्यामा परेका छन् ।

प्रचण्ड चितवनबाटै चुनाव लड्ने

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारीमा छन् । २०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धनबाट निर्वाचित भएका प्रचण्ड यो पटक चितवनबाटै चुनाव लड्ने तयारी गरेका हुन् । प्रचण्डलाई गोरखा–१, सिन्धुली–२ र धनुषा–१ बाट चुनाव लड्न पार्टीकै नेताहरुले प्रस्ताव गरे पनि उनले चितवन–३ बाटै उम्मेदवार हुने घोषणा गरेका छन् । योसँगै चितवनका माओवादी नेता–कार्यकर्तासमेत उनको निर्वाचन प्रचारप्रसारमा सक्रिय भइसकेका छन् ।

काँग्रेससहित पाँच दलीय गठबन्धनको मद्दतमा निर्वाचित हुनेमा प्रचण्ड ढुक्क छन् । प्रचण्डलाई चुनौती दिने एमालेमा कोही नदेखिए पनि राप्रपाका विक्रम पाण्डे सशक्त प्रतिस्पर्धी मानिन्छन् । पाण्डेलाई यसअघि प्रचण्डविरुद्ध काँग्रेसले सघाएको थियो । यो पटक एमालेले उनलाई सघाएर प्रचण्डलाई अप्ठ्यारो पार्न सक्ने आकलन गरिएको छ ।

२०७४ सालको चुनावमा प्रचण्डले पाण्डेलाई ९ हजार ३४१ मत अन्तरले हराएका थिए । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९३५ मत पाएका थिए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चितवनबाट चुनाव लड्ने तयारीमा छन् । काँग्रेस र एमालेसहित माओवादी विरोधी मत आफ्नो पक्षमा पारेर चुनाव जित्ने उनको दाउ छ ।

नारायणकाजी पनि उम्मेदवार बन्न इच्छुक

यस्तै माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लड्ने मुडमा छन् । पार्टीले टिकट दिएमा गठबन्धनबाट चुनाव लड्न आफू इच्छुक रहेको उनले बताए ।

आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि पार्टीले निर्णय गरेमा प्रतिनिधिसभा चुनाव लड्ने उनको भनाइ छ । पाँच दलीय गठबन्धनमा नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईसमेत समेटिएमा श्रेष्ठको निर्वाचन क्षेत्र बाबुराम भट्टराईले पाउने सम्भावना छ । त्यस्तो अवस्थामा श्रेष्ठलाई कसरी मनाइन्छ भन्ने हेर्न बाँकी छ ।

जनार्दन र वर्षमान ढुक्क

स्थायी समिति सदस्य एवम् अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्छन् । उनले टिकट पाउने लगभग निश्चित छ । उनी आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय पनि छन् । स्थायी समिति सदस्य वर्षमान पुनले रोल्पाबाट टिकट पाउने पनि निश्चितजस्तै छ । उनी पनि आफ्नो निर्वाचन क्षेत्रमा राम्रो पकड भएका नेता मानिन्छन् ।

यस्तै स्थायी समिति सदस्य चक्रपाणि खनाल कपिलवस्तु क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । खनाल अघिल्लो निर्वाचनमा काँग्रेस नेता दीपकुमार उपाध्यायसँग झिनो मत अन्तरले विजयी भएका थिए । खनालले २९ हजार ७९९ मत ल्याउँदा उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए ।

खनाल एमालेसहितको गठबन्धनमा समेत झिनो मत अन्तरले विजयी भएकाले यो पटक सो क्षेत्रमा गठबन्धनबाट काँग्रेसले दाबी गर्ने सम्भावना पनि उत्तिकै छ । कपिलवस्तु–१ मा गठबन्धनबाट खनाल र उपाध्यायमध्ये कसले टिकट पाउँछ भन्ने टुङ्गो लाग्न बाँकी नै छ ।

‘हेभी वेट’ प्रतिस्पर्धामा महरा

यस्तै पार्टी प्रवक्ता कृष्णबहादुर महराले दाङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रको अवस्था अवलोकन गरेर उनी भर्खरै राजधानी फर्किएका छन् । उनको निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा एमालेले जितेकाले उनलाई चुनाव जित्न चुनौती देखिएको छ ।

सो क्षेत्रमा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् । गठबन्धनबाट महराले टिकट पाएमा एमाले महासचिव पोखरेलसँग ‘हेभी वेट’ प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै, स्थायी समिति सदस्य गणेश साह चुनाव लड्ने पक्षमा छैनन् । उनी मधेस प्रदेशको इन्चार्ज पनि हुन् । उनले आफू उम्मेदवार हुनेभन्दा पनि आफ्ना सहकर्मीलाई चुनाव जिताउन लागिपर्ने योजना बनाएका छन् ।

अर्का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

मधेस प्रदेशमा पार्टीभित्र गुटबन्दी हुँदा पोखरेल कमजोर भएका छन् । २०६४ सालदेखि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका पोखरेल आन्तरिक गुटबन्दीका कारण अप्ठ्यारोमा परे पनि पाँच दलीय गठबन्धनको मद्दतमा आफू निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

देव गुरुङ लमजुङबाट उम्मेदवार बन्ने तयारी

यस्तै माओवादी प्रमुख सचेतक देव गुरुङ लमजुङबाट चुनाव लड्ने तयारीमा छन् । २०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धनबाट गुरुङ निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा चुनावमा मनाङबाट निर्वाचित भएका गुरुङ यो चुनावमा लमजुङबाट उम्मेदवार बन्ने तयारीमा छन् । काँग्रेसका नेता दिलबहादुर घर्ती समेत लमजुङबाटै प्रतिनिधित्व गर्ने भएकाले गुरुङ र घर्तीमध्ये गठबन्धनबाट कसले टिकट पाउँछ भन्ने प्रस्ट हुन बाँकी छ । यद्यपि, गुरुङ माओवादीकै सिनियर नेता भएकाले गठबन्धनबाट टिकट पाउने सम्भावना बढी रहेको चर्चा छ ।

एमाले प्रवक्ता पृथ्वी सुब्बा गुरुङको समेत निर्वाचन क्षेत्र लमजुङ भएकाले टिकट पाए पनि देव गुरुङलाई चुनाव जित्न कडा चुनौती मिल्ने देखिन्छ ।

मन्त्रीद्वय भुसाल र पौडेल पनि उम्मेदवारको दौडमा

यस्तै पार्टी स्थायी समिति सदस्य एवम् शिक्षा मन्त्री देवेन्द्र पौडेल समेत बाग्लुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् । पौडेल जनमोर्चालाई प्यूठान निर्वाचन क्षेत्र दिएर आफू बाग्लुङबाट चुनाव लड्ने तयारीमा छन् । आफूलाई पार्टीले टिकट दिएमा बाग्लुङ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनले बताए ।

स्थायी समिति सदस्य एवम् ऊर्जा मन्त्री पम्फा भुसालले ललितपुरबाट चुनाव लड्ने तयारी गरेकी छन् । २०६४ साल र २०७४ साल दुवै चुनावमा ललितपुर–३ बाट जितेकी उनी फेरि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी छन् ।

माओवादीकी सिनियर महिला नेतृ, त्यसमा पनि विगतमा आफूले जितेकै क्षेत्रमा फेरि टिकट पाउनेमा उनी ढुक्क छिन् ।

गजुरेललाई पार्टी र बस्नेतलाई गठबन्धनमा टिकट मिलाउन सकस

स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेल पनि उम्मेदवार बन्ने तयारीमा छन् । तर उनीहरुलाई गठबन्धनबाट टिकट लिन समस्या पर्ने देखिएको छ । गजुरेललाई पार्टीभित्रैबाट टिकट लिन समस्या देखिएको छ भने बस्नेतलाई गठबन्धनबाट टिकट लिन सकस हुने भएको छ ।

गुजरेलको निर्वाचन क्षेत्र सिन्धुली क्षेत्र नम्बर २ मा पोलिटब्यूरो सदस्य राजन दाहालले दाबी गरेका छन् । पार्टीका प्रभावशाली नेता दाहालले समेत टिकट दाबी गरेकाले गजुरेललाई टिकट लिन समस्या छ । यस्तै बस्नेतलाई गठबन्धनबाट काँग्रेस नेता राजीवविक्रम शाही तगारो बन्न सक्ने देखिन्छ । शाहीले चुनाव लड्ने तयारी गरिसकेका छन् । उनी स्वतन्त्र भए पनि चुनाव लड्ने भन्दै तयारीमा जुटिसकेका छन् ।

मातृका​ यादव धनुषामा

माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले धनुषा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । मधेसमा माओवादी कमजोर भए पनि यादव गठबन्धनको बलमा चुनाव जित्न सहज हुने आकलनमा छन् ।

यस्तै स्थायी समिति सदस्य लीलामणि पोखरेल पनि यो पटक चुनाव लड्ने तयारीमा छन् । काठमाडौं क्षेत्र नम्बर २ वा प्यूठानमध्ये एक क्षेत्रबाट चुनाव लड्ने पोखरेलले बताए ।

सातै प्रदेशका इन्चार्जको आ–आफ्नै तयारी

यस्तै प्रदेश १ का इन्चार्ज एवम् आमन्त्रित स्थायी समिति सदस्य राम कार्कीले झापा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । कार्कीको निर्वाचन क्षेत्र र काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र एउटै भएकाले गठबन्धनबाट कसले टिकट पाउँछ भन्ने प्रस्ट भइसकेको छैन ।

‘चुनावमा गठबन्धन भए पनि टिकट बाँडफाँट गर्दा मापदण्ड बनाइन्छ होला । यत्तिकै फुत्त दिने भन्ने हुँदैन होला,’ कार्कीले भने, ‘मैले झापा क्षेत्र नम्बर १ बाट २०७४ सालमा चुनाव लडेकाले फेरि सोही क्षेत्रबाट चुनाव लड्छु ।’ यस्तै बागमती प्रदेशका इन्चार्ज हितमान शाक्यले काठमाडौंबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी क्षेत्र नम्बर १० काँग्रेसलाई छोडेर क्षेत्र नम्बर ९ बाट चुनाव लड्ने तयारीमा छन् ।

क्षेत्र नम्बर १० मा काँग्रेस नेता राजन केसीलाई छोडेर शाक्य क्षेत्र नम्बर ९ बाट चुनाव लड्ने तयारी गरेका हुन् । यस्तै गण्डकी प्रदेशका इन्चार्ज हितराज पाण्डेले पनि चुनाव लड्ने योजना बनाएका छन् । पाण्डेको निर्वाचन क्षेत्र गोरखा–२ बाट बाबुराम र नारायणकाजीबीच नै टिकट लिन प्रतिस्पर्धा भएकाले उनले टिकट पाउने सम्भावना कम छ ।

यस्तै कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जाजरकोटबाट चुनाव लड्ने इच्छा देखाएका छन् । तर माओवादीकै शक्तिबहादुर बस्नेत र काँग्रेसका राजीवविक्रम शाहबीच कसले टिकट लिने भन्नेमै प्रतिस्पर्धा भएकाले कालीबहादुरले इच्छा देखाए पनि टिकट पाउने सम्भावना कम छ ।

यस्तै सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुर–२ बाट चुनाव लड्ने तयारी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको समेत निर्वाचन क्षेत्र भएकाले उनी कञ्चनपुरबाट उम्मेदवार बन्ने तयारीमा जुटेका हुन् ।

देउवा आफैले भट्टलाई संसदमा ल्याउन आफू सकारात्मक रहेको र कञ्चनपुर वा कैलाली जहाँबाट भए पनि टिकट दिलाएर जिताउने बताउने गरेका छन् । सोही अनुसार भट्टले कञ्चनपुर–२ बाट चुनाव लड्ने योजना बनाएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप