शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसका दुई हस्ती नेतालाई बोलाएर प्रचण्डले भने– गुटबन्दी नगर्नुस्, सँगसँगै हिँड्नुस्

शुक्रबार, २७ साउन २०७९, १६ : ०१
शुक्रबार, २७ साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले मधेस प्रदेशको देखिएको गुटबन्दी मत्थर पार्न पहल थालेका छन् । मधेसबाट प्रतिनिधित्व गर्ने दुई हस्ती नेता गिरिराजमणि पोखरेल र मातृका यादव बीचको अन्तर द्वन्द्वका कारण समग्र मधेसमै पार्टीलाई धक्का लागेको निष्कर्षका साथ प्रचण्डले पहल थालेका हुन् ।  सोहीअनुसार प्रचण्डले दुई नेतालाई खुमलटारमा बोलाएर  प्रदेश र संघीय चुनावमा पार्टीलाई एकढिक्का बनाउन निर्देशन दिएका छन् ।

प्रचण्डले यो वा त्यो नाममा गुटबन्दी नचल्ने भन्दै पार्टीलाई केन्द्रीत बनाउन निर्देशन दिएको एक नेताले जानकारी दिए । प्रचण्डले गत साउन २० गते जापान जानुअघि स्थायी समिति सदस्यद्वय यादव र पोखरेललाई  खुमलटार बोलाएर छलफल गरेका थिए । 

पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई समेतसँगै राखेर भएको छलफलमा प्रचण्डले दुई नेता मिलेर अघि बढे मधेसमा पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिने धारणा राखेका थिए ।  ‘मधेसमा माओवादी नमिल्दा अरु प्रक्रियावादीले फाइदा उठाए । हामी हार्दा मधेसी, जनजाति दलित, मुस्लिम, अल्पसंख्यक वर्ग र समुदाय कमजोर भए । अब प्रदेश र संघको चुनावमा हामी कमजोर हुने छुट छैन’ खुमलटार भेटका विषयमा उल्लेख गर्दै एक स्थायी समिति सदस्यले भने, ‘तपाईहरु पूर्व एकता केन्द्र मसाल वा माओवादीका नाममा यस्तै प्रचण्ड वा नारायणकाजी गुटका नाममा राजनीति गर्न पाउनुहुन्न । मधेसमा माओवादीको गुट छ भने माओवादी मात्रै छ ।’ 

यदि कुनै नेताको मन मस्तिष्कमा आग्रह पूर्वाग्रह भए त्यसलाई त्यागेर  ८ जिल्लाको संगठन परिचालनमा केन्द्रीत हुन प्रचण्डले आग्रह गरेका थिए ।  ‘पार्टीमा कसलाई न्याय भयो कसलाई अन्याय भयो त्यो सबै मैले बुझेको छु । अहिले न्याय अन्याय छुट्याउने बेला छैन’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने, ‘प्रदेश र संघको चुनाव सकिएपछि सबै घटनाक्रमको विश्लेषण गरेर उचित न्याय दिइनेछ ।’ 

सो क्रममा प्रचण्डले दुबै नेतालाई मधेसको कार्यक्रममा सँगसँगै हिँड्न पनि निर्देशन दिएको ती नेताले बताए ।  सो निर्देशनपछि उनीहरुले मधेसका पर्सा र सर्लाही जिल्लामा पुगेर पार्टी अगुवा नेता कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन दिइ सकेका छन् । दुई नेता अरु जिल्लामा समेत पुगेर चुनाव केन्द्रीत भेला, प्रशिक्षण र संगठन परिचालन गर्ने बताइएको छ । 

मधेसमा मातृका र गिरिराजमणि गुटमा विभाजित हुँदा गत वैशाख ३० गतेको स्थानीय चुनावमा माओवादीले खराब नतिजा ल्याएको थियो । २०७४ सालको चुनावमा माओवादीले २१ स्थानीय तह जिते पनि गुटबन्दी हुँदा गत वैशाख ३० गतेको चुनावमा ९ तह मात्रै जितेको थियो  । यो विषय पार्टीभित्र बारम्बार जोडतोडका साथ उठ्दै आएको छ भने गत केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले गुटबन्दी नगर्न निर्देशन दिएका थिए । यस्तै अन्तर्घातबारे छानबिन गर्न समिति नै बनाइएको थियो । समितिले हालसम्म रिपोर्ट भने दिन सकेको छैन । 

पार्टीमा एकले अर्कोलाई असहयोग गर्ने स्थिति भएकै कारण मधेसमा माओवादी कमजोर भएको माओवादीको निष्कर्ष छ । त्यसलाई मध्यनजर गर्दै प्रचण्डले दुबै नेतालाई बोलाएर संगठन निर्माणमा जुट्न निर्देशन दिएका हुन् । मधेस प्रदेशमा अध्यक्ष समेत नरहेकाले अध्यक्ष प्रचण्ड आफैले केन्द्रबाट हेरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप