शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धानबालीमा क्षति भएका किसानले पाए राहत

शुक्रबार, २७ साउन २०७९, १४ : ४८
शुक्रबार, २७ साउन २०७९

बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेर पीडित भएका कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी अहिले राहत रकम पाउँदा खुसी भएका छन् । भित्र्याउन लागिएको धानबालीमा गएको असोज–कात्तिक महिनामा परेको वर्षाले भिजेर क्षति व्यहोर्नु भएका उनले ढिलै भए पनि सरकारबाट रु तीन हजार ६०० राहत रकम पाउँदा राहतको अनुभव भएको बताए । 

चौधरीले भने ,‘‘राहत पाउन धेरै समय पर्खिनु परेपनि अहिले पाउँदा खुसी छु ।’’अर्का किसान सुविराम चौधरीले राहत रकम पाउन पीडित किसानको बैंकमा खाता हुनुपर्ने प्रावधान बनाइएकाले खाता नभएकै कारण कतिपयलाई राहत पाउन ढिलाइ भइरहेको बताए । ‘‘वडा कार्यालयबाट राहत रकम पाउँदा अहिले धेरै किसान खुसी छन्’’उनले भने,‘‘आफ्नो गाउँमा धानबालीको क्षति व्यहोरेका कतिपय किसानले रु छ हजारसम्म राहत पाएका छन् ।’’जिल्लाको दक्षिणपूर्वी जानकी गाउँपालिकाका लेखापाल जनकराज जोशीले गाउँपालिकामा रु २५ लाखभन्दा बढी रकम राहतबापत् वितरण भइसकेको बताए ।

उक्त पालिकामा पीडितलाई राहत वितरण गर्न रु एक करोड आठ लाख रकम निकासा भएको जनाइएको छ । निकासा भएको रकममध्ये रु ८४ लाख वितरण गर्न बाँकी छ । ‘‘असार ११/१२ गतेतिर राहत रकमको चेक गाउँपालिकामा उपलब्ध गराइएको थियो,’’उनले भने ,‘‘पीडितलाई राहत वितरण गर्न बैंकिङ प्रक्रिया पूरा गर्दा गर्दै समय लागेका कारण समयमै सबै रकम वितरण हुन सकेन ।’’  उक्त गाउँपालिकामा झण्डै चार हजार किसान बालीमा क्षति पुगेर पीडित भएका र उनीहरुलाई झण्डै रु १७ करोड राहत वितरण गरिसकिएको छ । निकासा भएको मध्ये रु पाँच करोड खर्च हुन नसकेको जनाइएको छ । राहत वितरणका लागि तोकिएको मापदण्ड पूरा गर्न लागेको प्रक्रियाका कारण सबै रकम खर्च हुन नसकेको हो । 

पीडित किसानको बैंकमा रहेको खातामार्फत् मात्र राहत रकम भुक्तानी गर्नुपर्ने मापदण्ड बनाइएको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा गएको जेठ महिनामा राहत वितरणको काम थालिएको थियो ।  जिल्ला प्रशासन कार्यालयका लेखापाल यदु पौडेलले राहत थोरै भएको भन्दै कतिपय पीडित किसानले राहत लिन त्यति चासो नदेखाएकाले पनि निकासा भएको सबै रकम वितरण हुननसकेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एक कठ्ठादेखि दश कठ्ठासम्म जग्गाको बालीमा क्षति व्यहोरेका साना किसानलाई प्रतिकठ्ठा रु ३२५ का दरले राहत रकम उपलब्ध गराइएको छ ।  यस्तै दश कठ्ठादेखि साठी कठ्ठा (तीन बिघा) सम्म जग्गामा क्षति व्यहोरेका मझौला किसानलाई प्रति कठ्ठा रु १२५ र तीन बिघा भन्दामाथि जग्गा भएका पीडित ठूला किसानलाई प्रति कठ्ठा रु ७५ का दरले राहत रकम वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले पीडित किसानलाई समितिको निर्णय र तोकिएको मापदण्डअनुसार राहत रकम उपलब्ध गराइएको बताए । बालीमा पुगेको क्षतिको राहत बढीमा रु ५५ हजार सम्ममात्र वितरण गर्न पाइने मापदण्ड सरकारले बनाएको छ । किसानलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा रु २१ करोड ९७ लाख पठाएको थियो । बेमौसमी वर्षासँगै भएको पहिरो, बाढी र डुबानका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुगेको थियो ।

 विपद्को घटनालगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले डुवान क्षेत्रको निरीक्षण गरी पीडित परिवारलाई राहत दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पीडितको तथ्याङ्क सङ्कलन, अध्ययन छानबिन र तोकिएको मापदण्डअनुसारको प्रक्रिया पूरा गर्न समय लाग्नाका साथै अन्य कारणले राहत रकम वितरणमा केही ढिलाइ भएको जनाइएको छ  । कैलाली जिल्लामा मात्रै ८३ हजार ३५९ किसानको ४८ हजार १२४ हेक्टर जग्गामा रहेको धान बालीमा क्षति पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप