खेललाई पर्यटनको रुपमा विकास गर्नुपर्छ : खेलकुद मन्त्री
युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले खेलकुदलाई पर्यटनको रुपमा विकास गर्न सके राष्ट्रिय रुपमा आम्दानी गर्न सकिने बताएका छन् । राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै आएको निर्माणाधीन सिमरा रंगशालाको निरीक्षणका क्रममा उनले नेपाललाई खेल पर्यटनको रुपमा विकास गर्न नेपालमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका खेलहरु खेलाउन सकिने बताएका हुन् ।
‘खेल पूर्वाधारलाई व्यवस्थित ढंगले निर्माण गर्न सक्यौँ भने अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु नेपालमा आउने वातावरण सिर्जना हुन्छ,’ मन्त्री गहतराजले भने । सिमरा रंगशाला राजधानीबाट नजिक, निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै जिल्लामा भएकाले सिमरा रंगशालालाई मधेस प्रदेशकै ठुलो रंगशालाको रुपमा विकास गर्न सकिने मन्त्री गहतराजले बताए ।
सिमरा रंगशालाको संरचनाहरु अत्यन्तै आकर्षक र लोभ लाग्दो भएकाले देशकै उत्कृष्ट रंगशालाको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने आश्वासनसमेत उनले दिए । ‘एकैपटक ठुलो बजेटले काम गर्न नसके पनि बहुवर्षीय योजना बनाएर काम गर्नुस्, हामी तपाईहरुलाई सहयोग गर्न तयार छौँ,’ उनले भने ।
यसै सन्दर्भमा मधेस प्रदेशका सांसद सुन्दर विश्वकर्माले सिमरा रंगशालाको पूर्वाधारमा संघीय सरकारले चासो देखाउन जरुरी रहेको बताए । विश्वकर्माले सिमरा रंगशाला स्थानीय र प्रदेश सरकारको बजेटभन्दा ठूलो योजना रहेका कारण संघीय सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
यसैगरी जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सिमरा रंगशालाको विकासको लागि बहुवर्षीय योजना बनाएर काम अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गरेका छन् । जितपुर सिमरा गोल्डकप आयोजना हुँदै आएको रंगशाला लामो समयदेखि निर्माणाधीन अवस्थामा छ । रात्रि अवस्थामा खेल खेलाउन सकिने गरी फ्लडलाइट समेत राखिएको रंगशालाको अन्य पूर्वाधार भने अधुरो छ । प्यारापिट निर्माण नहुँदा अन्य खेलकुदका लागि पूर्वाधार समेत निर्माण गर्न सकिएको छैन ।
रंगशालामा निर्माण हुने प्यारापिटको तल अन्य खेलकुदका लागि कभर्ड हल लगायतको पूर्वाधार बनाउने योजना छ । गोल्डकप आयोजक नव जन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाउँदै सिमरा रंगशाला र जीतपुर सिमरा गोल्डकपलाई संघीय सरकारको प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या