ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकः जनै पूर्णिमाको डोरी
‘येन बद्धो बलिराजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’
रामेछापका नीलप्रसाद घिमिरे शुक्रबार पशुपति परिसरमा ठूलो स्वरमा यी मन्त्र उच्चारण गरिरहेका थिए । उनी मात्र होइन, अरू धेरै ब्राह्मणहरु मन्त्रोच्चारण गर्दै भक्तजनका दाहिने हातमा डोरो बाँधिदिँदै थिए । सयौँ हिन्दू धर्मावलम्बीहरू पशुपतिस्थित बागमती किनारमा आफूले लगाएको पुरानो जनै नदीमा बगाएर पण्डितका हातबाट नयाँ जनै धारण गर्दै थिए ।
आज यो कार्य पशुपति क्षेत्र परिसरमा मात्र होइन, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, विभिन्न महादेवस्थान र देवस्थलहरुमा यसै गरी जनै फेर्ने र रक्षाबन्धन लगाउनेहरूको भीड छ । कतिपय स्थानमा भने घर घरमा गई ब्राह्मणहरुले आफ्ना यजमानहरुको जनै फेरिदिने र रक्षाबन्धन बाँधिदिने प्रचलन छ ।
जनै पूर्णिमा खास गरी धागो र बन्धनको चाड हो । रक्षाबन्धन महिला पुरुष दुवैले दाहिने हातमा बाँध्छन् तर जनै भने पुरुषहरूले मात्र धारण गर्छन् । ब्राह्मण र क्षत्रीय पुरुषहरुले हिन्दु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन ऋषिमुनि कालदेखि नै चलि आएको हो ।
व्रतबन्धपछि आजीवन जनै
खास गरी बाल्यावस्था पार गरेपछि ब्राह्मण, क्षेत्रीय, ठकुरी र कतिपय नेवार तथा दलित समुदायका बालकले व्रतबन्ध गरेपछि जीवनभर जनै लगाउँछन् । देब्रे काँधमाथि पर्ने गरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रोच्चारण गरी तयार पारेको जनै लगाइदिन्छन् ।
व्रतबन्ध गर्दा विधिपूर्वक गुरूपुरोहितले अरूले नसुन्ने गरी कानमा गायत्री मन्त्र सुनाउँछन् । त्यसलाई कण्ठ गर्न लगाउँछन् । व्रतबन्ध गरिसकेका पुरुषले हरेक बिहान हातमुख धोई त्यो मन्त्र उच्चारण गरेपछि मात्र नयाँ कामको सुरुवात गर्ने परम्परा छ । यो एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प पनि हो ।
यसरी लगाइने जनै निर्माण गर्ने पनि विशेष पद्धति छ । धागो बाट्नेदेखि धागो मिलाउने, शिखा पार्ने अनि जनै पूर्णिमाकै मुहूर्तमा लामो अनुष्ठानका साथ होम तथा यज्ञको गरी मन्त्रद्वारा जनैलाई पवित्र बनाइन्छ । यसरी शुद्ध बनाएपछि मात्र जनै लगाउन योग्य हुन्छ ।
के हो जनै ?
शास्त्रीय भाषामा जनैलाई यज्ञसूत्र, यज्ञोपवित वा ब्रह्मसूत्र भनिन्छ । यसको लम्बाइ ९६ अङ्गुल हुनुपर्ने भनिन्छ । यसको लम्बाइ पनि विशेष अर्थले निर्धारण गरिएको हो । जसमा ६४ अङ्गुलमा कला र ३२ अङ्गुलमा विद्याको योग हुन्छ भन्ने मान्यता छ । ३२ विद्यामा चारवटा वेद, चारैवटा उपवेद, छवटा अङ्ग, छवटा दर्शन, तीनवटा सूत्रग्रन्थ र नौ प्रकारका अरण्यक मिलाएको हो । ६४ कलामा आभूषण, वास्तु आदिको निर्माण, पाककला, चित्रकला, साहित्य, भाषा, सिलाइ, बुनाइ, मूर्ति वा बुट्टा भर्ने, कृषि तथा पशुपालनलगायत रहेका छन् ।
जनै पूर्णिमाकै दिन जनै लगाउनुको विशेष अर्थ छ । वैदिक ग्रन्थमा उल्लेख भएअनुसार मन्त्र पढेर तयार पारिएको ६ सुते काँचो धागोबाट जनै बनाइन्छ । यसमा दुईवटा शिखा हुन्छन् भने छवटा डोरा हुन्छन् । यसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन बनाएर तयार पारिन्छ । यी तीनवटा डोराको समूहलाई शिखा भनिन्छ ।
दुईवटा शिखामध्ये एउटा जनैका शिखामा रहेका तीनवटा डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा मानिन्छ भने अर्को शिखामा रहेका तीनवटा डोरा कर्म, उपासना र ज्ञानका प्रतीकको योग भएको विश्वास गरिन्छ । वैदिक कार्य गर्न र वेद अध्ययनका लागि योग्य हुन जनै लगाउने चलन रहेको छ ।
परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीय मात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरूलाई लगाइदिन र आफूले पनि लगाउँछन् । यसरी मन्त्रद्वारा पवित्र बनाइएका यज्ञोपवितहरुको धारण गर्नाले सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त हुने र गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने जनविश्वास रही आएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ्का अनुसार जनै अध्यात्मको बाटो खुलाउने यज्ञोपवित हो । त्यसकारण तागाधारी वर्गले विधिपूर्वक जनै धारण गरेर समाजमा आफ्नो वर्चस्व कायम गर्छन् । जनै धारण गर्ने सव्येन– अपसव्येन दुई पद्धति छन् । सामान्य अवस्थामा बाँया काँधमा अड्याएर दाहिनेतिर फेरो छोडेर जनै लगाइन्छ । यसरी जनै लगाउनु सव्य अथवा सव्येन पद्धति हो । सव्य अथवा सव्येन पद्धति सुल्टो पद्धति हो तर मान्छे मरेर काजकिरियामा बस्दा थलामा पिण्ड लडाउँदा दाहिने काँधमा जनै अड्याएर बायाँतिर फेरो छोडेर जनै लगाइन्छ । यसरी दाहिने काँधमा ग्रन्थी अड्याएर बाँयातिर फेरो छोडेर जनै लगाउने पद्धति अपसव्य अथवा अपसव्येन पद्धति हो । अपसव्य अथवा अपसव्येन पद्धति उल्टो पद्धति हो ।
रक्षाबन्धन
खास गरी धार्मिक स्थलमा गई पण्डितद्वारा विधिपूर्वक प्रतिष्ठापित गराइएको काँचो धागो मन्त्रोच्चारण गर्दै दाहिने हातमा लगाउने कार्य हो रक्षाबन्धन । रक्षाबन्धनले विभिन्न विपत्तिबाट जोगिने धार्मिक विश्वास रहिआएको छ ।
यस दिन बहिनीले भाइलाई राखी बाँधिदिने परम्परा छ । यो भाइ र बहिनी बीचको अटुट प्रेमको प्रतीकको पर्व पनि हो । यस शब्दमा रहेका ‘रक्षा र बन्धन’ को विशेष अर्थ छ । रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा घनिष्ठता ल्याउने विश्वास गरिन्छ ।
रक्षाबन्धनबारे पौराणिक मान्यताअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुर (राक्षस)ले देवतालाई हराएका थिए । त्यसपछि पराजित भएका देवताहरूले धर्म र संस्कारविहीन भएर जीवनयापन गर्न थाले । यसले उनीहरुमा ग्लानि र निराशा पैदा गर्यो ।
यस्ता निरास र गौरवहीन जीवनदेखि बाँच्नुभन्दा मर्नु उचित ठानेर देवराज इन्द्र राक्षसहरुसँग अन्तिम युद्ध गर्ने प्रतीज्ञा गरे । यो प्रतीज्ञा गरेको दिन श्रावण शुक्ल चतुर्दशी परेको थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको रक्षा र विजय हुन् भन्ने शुभकामनासहित श्रावण पूर्णिमाको शुभ साइतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । यही दिनबाट रक्षाबन्धनको सुरुवात भएको मानिन्छ । त्यसैले यस दिनलाई सत्यको विजय गराउन र असत्यलाई हराउन सुरु गरिएको दिनको रुपमा पनि मानिन्छ ।