जनै किन लगाउने ?
आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमा । यो पर्व मनाउने आफ्नै तरिका र सांस्कृतिक महत्व छ । जनै पूर्णिमा पारिवारिक जमघट र क्वाँटी दालको भोजको लागि प्रसिद्ध छ । सानोमा बच्चा हुँदा घरमा आएर पण्डितजीले डोरो बाँधी दिन्थे । अनि अलि ठुलो भएपछि जनै लगाइयो । के के मन्त्र पनि पढियो । तर, यो जनै लाउनु र त्यो हातमा डोरो बाँध्नुको अर्थ चै कहिल्यै बुझिएन ।
जनै पूर्णिमालाई रक्षा बन्धनका रुपमा पनि मनाउने गरिन्छ । ब्राह्मण समुदायका हामी बिहान सबेरै उठ्छौं, नुहाउँछौं । नजिकैको मन्दिरमा जान्छौं र पण्डितको हातबाट पवित्र धागो वा जनै फेर्ने गर्छौ । त्यसै गरी दाजुभाइ र दिदीबहिनीको राखी पर्व पनि यही दिन मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई भेटेर दाजुको हातमा राखी बाँध्ने गर्छन् । राखीपछि दाजुभाइ र दिदीबहिनी मिलेर पूजा गर्छन् । भनिन्छ कि डोरो वा धागो सुरक्षा र खुशीको लागि प्रियजनहरूको शुभकामनाको प्रतीक हो ।
जनै पूर्णिमा त्यो दिन पनि हो, जुन दिन परिवारका सदस्यहरू मिलेर राम्रो खाना बनाइन्छ । यस दिन विशेष परिकार बनाइन्छ, जसलाई ‘क्वाँटी भनिन्छ । यो जनै पूर्णिमाको एक रात अघि भिजाइएका नौ प्रकारका दालको मिश्रण हो ।
कसरी मनाइन्छ जनै पूर्णिमा ?
जनै पूर्णिमाको एकदिन अघि आफ्नो खानामा मासु, लसुन र प्याज त्यागिन्छ । जनै पूर्णिमाका दिन ब्राह्मणहरू बिहान सबेरै नुहाएर जनै फेर्ने तयारी गर्छन् । तिनीहरू प्रायः नजिकैका मन्दिरमा जान्छन्, जहाँ पुजारीले नयाँ जनै लगाउन मन्त्रोच्चारण गर्छन् ।
यस दिन ब्राह्मण र क्षेत्री समुदायका पुरुषले वार्षिक रूपमा जनै परिवर्तन गर्छन् । जन्े कपासबाट बनेको पवित्र धागो हो । यो धागो ब्रतबन्ध गरिसकेका पुरुषहरूले मात्र लगाउँछन् । जनै जीवनभर लगाउनु पर्छ । यसको अपमान गर्नु हुँदैन ।
जनै धार्मिक कारणले महत्वपूर्ण मानिन्छ । बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनि खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ । एक जनैमा तीनदेखि छवटा कपासका धागो हुन्छ र प्रत्येक धागोको अर्थ हुन्छ । तीनवटा धागो ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक हो । र, अर्को अर्थले ज्ञान, उपासना र कर्मको प्रतीक हो । खास गरी हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा वैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ ।
संस्कृतमा जनैलाई ‘यज्ञोपविता’ भनिन्छ । संस्कृत साहित्यका प्राध्यापक ऋषिराम पोखरेलका अनुसार यज्ञ भन्नाले कुनै पनि प्रकारको पूजा, प्रसाद, भक्ति वा बलिदानलाई बुझाउँछ । र, ‘उपविता’ भनेको यज्ञ गर्दा धारण गर्नुपर्ने वस्त्र हो । यस्तो धागो वैदिक मन्त्र जप गरेर पवित्र बनाइन्छ ।
भनिन्छ, दिसा पिसाब गर्दा जनैलाई दाहिने कानमा दुई फन्का कसेर बेर्नुपर्छ रे । दिसा पिसाबपछि जब हातगोडा धोएर मुख कुल्ला गरिन्छ, तब मात्र जनै कानबाट निकाल्नुपर्छ । यसो गर्नुको अर्थ शरीरमा नाइटो माथिको भाग धार्मिक क्रियाका लागि पवित्र मानिन्छ तर नाइटोमुनिको भाग भने अपवित्र मानिन्छ ।
लगाउनैपर्छ त जनै ?
मैले सुनेको र देखेको पनि छु, आजभोलि प्रायः युवाहरु दुनियाँको आँखा छल्नमा व्यस्त छन् । टप लगाउने, ट्याटु खोप्ने, कपाल रङ्ग्याउने, फाटेको पाइन्ट लगाउने, हातमा ब्याण्ड लगाउने आदि कार्यमा एकदम माथि छन् तर उनीहरु पवित्र जनै लगाउन हिच्किचाउँछन् । व्रतबन्ध भइसकेकै भए पनि लाजकै कारण जनै भिरेर हिँड्न जानेका छैनन् कतिपय युवा । जनै लगाउन झ्याउ होइन, उत्साह र प्रेरणा जागोस् ।
म एक ब्राह्मण कुलको पुत्र पनि हु । त्यसैले आज पनि म जनै पूर्णिमाको दिन बिहानै उठेर स्नान गरेर जनै फेर्छु । नुहाई धुवाई गर्दा समेत जनैलाई बाहिर राख्नु हुँदैन भनेर मलाई हजुरबुवाले नै राम्ररी सिकाउनु भएको थियो ।
जनै किन लगाउनु पर्छ ? किन जनै कम्मरभन्दा मुनि जान हुन्न ? कति दिनमा जनै फेर्नुपर्छ ? शौचको समयमा दाहिने कानमा किन जनै बेर्नुपर्छ ? खोज्दै जाने हो भने यी सबैको पक्कै पनि पौराणिक एवं वैज्ञानिक कारण छन् होला ।
के हो रक्षा बन्धन डोरो ?
रक्षा बन्धन एक बन्धन वा सुरक्षाको टाई हो । हातमा बाँधिएको यो धागोलाई डोरो भनिन्छ । कतिपयले डोरोलाई जनै पनि भन्छन् । रक्षाबन्धनको दिनमा पुरुष, महिला, बालबालिकालाई हैसियत र जातको भेदभाव नगरी नाडीमा डोरो (पवित्र रंगीन धागो) बाँधिन्छ । सामान्यतया पुरुषले दाहिने हातमा महिलाले आफ्नो बायाँ हातमा डोरो बाँध्छन् ।
के हो राखी ?
राखी एक प्रकारको ब्रेसलेट जस्तै हो, जसलाई सुन्दर देखाउनको लागि आकर्षक सामग्रीले बनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइका लागि मीठो खाना तयार गरी ‘राखी’ बाँध्छन् । यस अवसरमा खीर, लड्डु, रसभरी, पेडा, बर्फी, जेरी जस्ता मिठाइ पनि बनाउँछन् । आजकल, हामी बजारमा विभिन्न प्रकारका राखीहरू पनि किन्न सक्छौं ।
राखी बाँध्ने चलन पहिले तराई क्षेत्रमा मात्र भए पनि अहिले सबैतिर बाँध्न थालिएको छ । यस दिन हामीले जुनसुकै डोरो लगाए पनि राखी, जनै सबै समान छन् । यसको पछाडिको विचार यसलाई लगाउने व्यक्तिको सुरक्षा गर्नु हो ।
विराटनगर–३, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन