शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सामाजिक हुँदै राजनीतिक चेतनाको वाहक गाईजात्रा

शुक्रबार, २७ साउन २०७९, १० : ४१
शुक्रबार, २७ साउन २०७९

जनै पूर्णिमाको दिन नेवार जाति क्वाति पुन्ही (क्वाँटी पूर्णिमा) मनाउँछन् । क्वाँटी अर्थात् नौ किसिमका गेडागुडी मिसाएको परिकार, एक किसिमको सूप वा तातो झोल । नेपाल भाषाको ‘क्वाति’ शव्द ‘क्वा’ (तातो) र ‘ति’ (झोल वा रस) मिलेर बनेको हो । यो मूलतः नेवारको परम्परा हो । अहिले हरेक जिल्लामा जनै पूर्णिमाअघि किराना पसलहरुमा गेडागुडी मिसाएर बेचिराखेको देख्न पाइन्छ ।

केही दशक अघिबाट नै के नेवार, के गैर–नेवार देशैभरि सबै नेपालीले क्वाँटी खाने चलन हार्दिक रुपले ग्रहण गरिसकेका छन् । झरीको मौसमसँग सुहाउँदो भएर पनि होला मान्छेले सजिलै ग्रहण गरे । यससँगै ‘क्वाति’ शव्द पनि क्वाँटी नभनेर शुद्धिसित ग्रहण गरेको भए अझै सुन्दर हुन्थ्यो ।

नौ अंकको संयोग

जनै पूर्णिमा, गाईजात्रा नेपाल सम्वतको गुँला महिनामा पर्छ । साउन शुक्ल प्रतिपदाबाट गुँला सुरु हुन्छ । गुँला धर्म आफैं पनि महिनाभर मनाउने पर्व हो । यस महिनामा नौ अंकको विशेष महत्त्व रहन्छ । हरेक कुरामा नौ जोडेर आउँछ । क्वाँटीमा नौ किसिमकै गेडागुडी हुन्छन् । यो महिनाभित्रका अनेक पर्वहरुमा नौ किसिमका बाजा, नौ किसिमका नाच, नौ किसिमका लुगा आदि जोडिएर आउँछन् ।

त्यस्तै जनै पूर्णिमाको भोलिपल्ट गाईजात्राबाट सुरु हुने हास्यव्यंग्य कार्यक्रम एक सातासम्म मनाइन्छ । जनै पूर्णिमा, गाईजात्रा अनि अर्को सात दिन जोड्दा यो पनि नौ दिन हुन आउँछ । परम्पराअनुसार गाईजात्राको दिनबाट अर्को सात दिनसम्म जति पनि हास्यव्यंग्य गर्न छुट हुन्छ ।

गाईजात्रालाई नेपालभाषामा सापारु भनिन्छ । ‘सा’ भनेको गाई र पारु भनेको ‘प्रतिपदा’ हो । यो मृतकसँग सम्बन्धित धार्मिक पर्व हो । गाईले मृतकका आत्मालाई वैतरिणी तार्छ भन्ने धार्मिक मान्यता अनुरुप चलेको पर्व हो । तर यही पर्व हास्यको पनि पर्व हो । मृत्युको शोक र जीवनको यथार्थको हास्य दुवैको संगम भएको अद्भूत पर्व हो यो । यसैले एउटा सत्यको दर्शन उजागर गर्छ । दुःख र शोककै बीच जीवनको हाँसो हास्न सक्नु पर्छ, वा हाँस्न सिक्नु पर्छ ।

गाईजात्रा पर्वका विविध आयाम छन् । हास्यबाहेक नृत्य र संगीतका आयाम छन् । त्यो पनि काठमाडौं, ललितपुर, भक्तपुर अनि हरेक प्राचीन बस्तीका आआफ्नै विशेषता छन् । तिनलाई केलाएर अभिलेखीकरण गरियो भने त ठूलै ठेलीको पुस्तक बन्न जान्छ । वास्तवमा अभिलेखीकरण जरुरी पनि छ । किनभने कतिपय पक्षहरु हराउँदै गइसके । यसमा स्थानीय सरकारले अग्रसरता लिन सक्नु पर्छ । यो छोटो आलेखमा गाईजात्राको हास्यव्यङ्ग्य पक्षमा मात्रै सीमित छ । मूलतः धार्मिक पर्व भए पनि यो पर्वसँग जोडिएर आउने हास्यव्यङ्ग्य नितान्त सामाजिक र राजनीतिक पक्ष हो ।

गाईजात्रे हास्यव्यङ्ग्य कार्यक्रम

गाईजात्रा नेवारले मात्र मान्ने पर्व भए तापनि यसको ख्याति यति व्यापक भइसकेको छ कि नेपाली भाषामा ‘गाईजात्रा’ शव्दले लाक्षणिक अर्थसमेत ग्रहण गर्न भ्याइसकेको छ । कुनै पनि बेढङ्गका कुरालाई गाईजात्रा वा गाईजात्रे भन्ने चलनचल्तीकै शब्द भइसकेको छ । अनि गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यका कार्यक्रम गर्ने प्रचलन देशैभर व्यापक छ । गाईजात्रासँगै हास्यव्यङ्ग्य स्वतः जोडिन आउँछ ।

पञ्चायत कालमा अभिव्यक्ति स्वतन्त्रता सीमित थियो । राजनीतिक विरोध गर्न सजिलो थिएन । धेरै किसिमका प्रतिबन्ध थिए । त्यस समय गाईजात्रा पर्वले ठूलो राजनीतिक महत्त्व राखेको थियो । परम्पराको आडमा वर्षमा एक पटक भए पनि व्यङ्ग्य कस्न पाइने भएकोले हास्यकलाकारहरु यसै दिनको पर्खाइमा रहन्थे । पर्व नजिकिँदै जाँदा विशेष तयारी र मेहनत थाल्थे । आमजनता पनि वर्षैभरि छातीभित्र गुम्साएर राखेको राजनीतिक आक्रोश हास्यव्यङ्ग्य हेर्दै कुण्ठामोचन (भाव विरेचन) गर्थे । हास्यकलाकारहरुको लागि त यो पर्व ठूलै महोत्सव समान थियो । यसै पर्वले धेरै कलाकार जन्मायो । हास्यव्यङ्ग्यका मूर्धन्य कलाकार मदनकृष्ण श्रेष्ठ पनि यसै पर्वका उत्पादन हुन् ।

आधुनिक सभाभवन बन्नुभन्दा अघि गाईजात्रामा सडकका चोक र डबलीहरुमा स्थानीय कलाकारहरुले प्रस्तुति दिने गर्थे । त्यसबेला देखेका व्यक्तिहरुका अनुसार चार किसिमका हास्यव्यङ्ग्य प्रस्तुत हुन्थे । पहिलो, अजीव पहिरन, सिंगारपटार गरेर वा मुखौटा लगाएर सहर घुम्ने । यसलाई एक किसिमको पर्फमेन्स आर्ट भन्दा हुन्छ, यद्यपि त्यस बेलाका मानिसलाई सो शव्द थाहा थिएन । यसमा हास्य मात्रै पनि हुन सक्छ वा केही व्यङ्ग्य पनि ।

दोश्रो थियो, प्यारोडी गीत गाउने । चलेका गीतका शव्दलाई बिगारेर हास्य र व्यङ्ग्यमय बनाएर गाउने चलन थियो । मान्छेको जमघट हुने कुनै पनि ठाउँमा यस्ता गीत प्रस्तुत हुन्थे । गाईजात्रामा प्रस्तुत हुने हास्य र नृत्यहरुमा केही अश्लीलता पनि हुन्थ्यो । कुनै बेला अश्लीलताले धेरै नै ठाउँ ओगटेको थियो भने पछि यो पक्ष आफैं कमजोर हुँदै गयो ।

तेश्रो किसिममा, सम्वाद मात्र भएका व्यङ्ग्य नाटक । यसमा कलाकारहरु आफैं आफ्नो कुर्सी बोकेर आउँथे । मान्छेहरु भीडको बीचमा कुर्सीमा उभेर आ–आफ्ना सम्वाद बोल्थे । यसमा थोरै अभिनय भए पनि धेरै शारीरिक हलचल हुँदैनथ्यो । किनभने पात्रहरु कुर्सीमा उभिरहेका हुन्थे । तिनका पहिरन सामान्य हुन्थे र क्यारिकेचर पनि गर्दैनथे । तर, उनीहरुको सम्वाद सुन्दै जाँदा दर्शकले सहजै अनुमान गर्न सक्थे कि कुन पात्रले कुन राजनीतिक नेता भएर बोल्दै छ । जस्तो कि त्यसबेला कोही बीपी कोइराला, कोही गणेशमान, कोही तुलसीलाल वा कोही पञ्चे नेता भइरहेका हुन्थे । तिनका सम्वादले हँसाउँथे पनि र राजनीतिक व्यङ्ग्य पनि प्रशस्त हुन्थे । यसलाई त्यसबेलाको सडक नाटक भन्दा पनि होला ।

चौथो किसिममा छ, ख्यालः । ख्यालःलाई हास्य नाटक पनि भनिन्छ । तर ख्यालः ठ्याक्कै हास्य नाटक वा प्रहसन भने होइन । ख्यालः एक किसिमको हास्यपूर्ण नाटक भए पनि हास्य नाटक र प्रहसनभन्दा केही फरक छ । ख्यालःमा हास्य र व्यङ्ग्यको अभिव्यञ्जनाको लागि अयथार्थपूर्ण प्रस्तुति पनि दिइन्छ । यो यथार्थ र अयथार्थको मिश्रण भन्दा पनि हुन्छ ।

ख्यालः आफ्नै विशेषता सहितको नेपालभाषा साहित्यको एउटा महत्त्वपूर्ण पक्ष हो । यो गाईजात्राकै बेला मात्र प्रदर्शन हुने पनि होइन । नाटकहरुजस्तै अन्य बेला पनि प्रदर्शन भइरहन्छन् । पञ्चायत कालमा सामाजिक राजनीतिक व्यङ्ग्य गर्ने ख्यालः लेखनको लागि रामशेखर नकर्मी, श्रीकृष्ण अणु र पद्मरत्न तुलाधर प्रख्यात थिए । तिनलाई ख्यालःका त्रिमूर्ति नै भनिने गरेको थियो । अहिले तीनै जना हामीबीच छैनन् ।

सडक र टोल टोलमा सीमित हास्यव्यङ्ग्यलाई बि. सं. २०२९ सालमा नेपाल भाषाको ‘मुनासः’ नाट्य संस्थाले व्यापकता दियो । सो संस्थाले हरेक वर्ष राष्ट्रिय सभागृहमा नेपाल भाषाको दुइ दिने ख्यालः प्रतियोगिताको आयोजनाको थालनी गरेको थियो । सो कार्यक्रममा सत्यमोहन जोशीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रित गरिएको थियो । त्यसपछि २०३३ सालसम्म आउँदा सत्यमोहन जोशीकै नेतृत्वमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले गाईजात्रा महोत्सव नै आयोजना गर्न पुग्यो । २०३६ सालपछि भने अञ्चलाधीश कार्यालयको सेन्सर–व्यवस्थाबाट आजित भएर ‘मुनासः’को ख्यालः प्रतियोगिता भने सधैँको लागि स्थगित हुन पुग्यो । नेपाल भाषालाई हतोत्साहित गर्न जानाजानी नै सेन्सरको नाममा धेरै समय लगाइदिने र ख्यालःको मर्म नै मर्ने गरी काँटछाँट हुने गरेको थियो ।

गाईजात्रामा परम्परागत रुपमा हास्यव्यङ्ग्य मात्र प्रस्तुत हुन्थ्यो भने छापाखाना आएपछि पत्रिकाले पनि हास्यव्यङ्ग्य विशेषाङ्क प्रकाशित गर्ने लहर चल्यो । यो अत्यन्तै लोकप्रिय पनि भयो । हास्यव्यङ्ग्य विशेषाङ्क धेरै प्रति बिक्थ्यो पनि । त्यसपछि हास्यव्यङ्ग्य रेडियो, टिभी र क्यासेटसम्म छायो । यसले कुस्त मनोरञ्जन त प्रदान गथ्र्यो नै, साथै जनमानसमा व्यापक चेतना छर्ने काम पनि गथ्र्यो । ती हास्यव्यङ्ग्य सामाजिक र राजनीतिक दुवै किसिमका हुन्थे ।

 त्यसैले गाईजात्राले परम्परागत मात्र नभई समाज र राजनीतिमा सशक्त क्रान्तिकारी काम पनि गरेको थियो । समग्र इतिहासमै राजनीतिक परिवर्तनको लागि चेतना जगाउनमा गाईजात्राको उल्लेख्य भूमिका रह्यो । निश्चय पनि यसको मूल्याङ्कन इतिहासले गर्नेछ । तर, व्यवस्था परिवर्तनपछि अभिव्यक्ति स्वतन्त्रता भइसकेको अवस्था र दलीय नेताहरु आफैं वर्षैभरि गाईजात्रे पाराका भइदिएकाले लोकतन्त्रमा गाईजात्राको हास्यव्यङ्ग्य पक्ष विस्तारै अप्रासांगिक बन्दै गएको छ ।

शासकको भन्दा परम्पराको शक्ति बलियो

यसरी राजनीतिक व्यङ्ग्य गर्न नपाइने पञ्चायत व्यवस्थामा पनि जनताले परम्परागत चाडको आडमा वर्षमा एक पटक भए पनि हास्यको नाममा मजाले व्यङ्ग्य कसिरहे । यसले राजनीतिभन्दा पनि सामाजिक चाडपर्व र परम्परा कति बलियो हुँदो रहेछ भनेर देखाउँछ । परम्पराको अगाडि जतिसुकै शक्तिशाली शासकको पनि केही चल्दैन ।

अभिव्यक्ति स्वतन्त्रता नभएको अवस्थामा एउटा जातिको परम्पराको सहारा लिएर सम्पूर्ण राष्ट्रले विरोधका स्वर अभिव्यक्त गरि नै रह्यो । सामाजिक र राजनीतिक चेतना छरि नै रह्यो । गाईजात्रा पर्वले परिवर्तनको लागि के–कति योगदान गरेको थियो भन्ने कुरा इतिहासले मूल्याङ्कन गरि नै रहने छ । कतिपय कुरा अनुसन्धानको विषय पनि होला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप