शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस मधेस प्रदेश बैठक : चुनावी अभियानमा लाग्न निर्देशन

नागरिकता विधेयक अबिलम्ब प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह
बिहीबार, २६ साउन २०७९, २२ : २०
बिहीबार, २६ साउन २०७९

नेपाली काँग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेको छ । बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठकाअनुसार बैठकले मातहतका निकायहरूलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृ संघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको छ ।
यस्तै  मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको महामन्त्री श्रेष्ठले बताए । बैठकले संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिको ध्यानाकषर्ण गराउने निर्णय गरेको काँग्रेसको सूचना, सञ्चार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।

यस्तै मधेस सरकारमाथि अनियमितता गरेको भन्दै निर्णयकर्ताहरुमाथि भ्रष्टाचारको मुद्दा दर्ता हुँदा काँग्रेस मधेश प्रदेशको गम्भीर ध्यानाकषर्ण भएको काँग्रेसको भनाइ छ । काँग्रेसले  आफ्ना पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीलाई उपस्थिति प्रभावकारी बनाउन निर्देशन दिने काँग्रेसको निर्णय छ । मधेस प्रदेशमा काँग्रेसबाट रामसरोज यादव भौतिक मन्त्री छन् भने वीरेन्द्रसिंह खेलकुद मन्त्रीमा छन् ।

यस्तै काँग्रेस मधेसले केन्द्रीय सरकारलाई भने नागरिकता विधेयक पारित गरेकोमा धन्यवाद दिने निर्णय गरेको छ । देउवा नेतृत्वको सरकारले नागरिकताबाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदको दुवै सदनबाट नागरिकता विधेयक पारित गराउन सफल भएकोमा सरकार र  गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद प्रदान गर्ने निर्णय गरेको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणीकरणका लागि मधेस काँग्रेसले अनुरोध गरेको छ । राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ राखेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप