शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी गठबन्धनका लागि दलहरूलाई पत्र पठाउँदै त्रिपाठी

बिहीबार, २६ साउन २०७९, १६ : ०६
बिहीबार, २६ साउन २०७९

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले चुनावी गठबन्धनका लागि प्रस्ताव गर्दै विभिन्न दललाई पत्र पठाउने भएका छन् । जनता प्रगतिशील पार्टीले पहिलो चरणमा महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपाल र सिके राउत अध्यक्ष जनमत पार्टीलाई पत्र पठाउने तयारी गरेको हो । 

जनता प्रगतिशील पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवका अनुसार पत्र तयारी भइरहेको र भोलि वा पर्सीसम्म सम्बन्धित पार्टी कार्यालयमा पुर्‍याइने छ । ‘मधेसमा दलहरू मिल्नुको विकल्प छैन, मधेसमा रहेका दलहरू मिले मात्र मधेसको माग र मुद्दाहरू पुरा हुनसक्छ’ भन्ने आग्रहसहित गठबन्धनका लागि पत्र पठाउने तयारी भइरहेको उपाध्यक्ष यादवले बताए ।

जनता प्रगतिशील पार्टीले एक चरण लोसपासँग अनौपचारिक छलफल गरिसकेको छ । गठबन्धनका लागि लोसपा सकारात्मक रहेको सो पार्टीका एक नेताले बताए । उता लोसपाले पाँच दलीय गठबन्धनमा जानका लागि पनि छलफल गरिरहेको छ । 

सो गठबन्धनमा गए पनि एउटा बाहिर पनि गठबन्धन बनाउने लोसपाले भनेको छ । पाँच दलीय गठबन्धनमा गएपछि त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी लगायतसँग पनि गठबन्धन बनाउने सोच लोसपाको रहेको छ । 

वार्ता समितिका संयोजक समेत रहेका जनता प्रगतिशील पार्टीका उपाध्यक्ष यादवले भने, ‘छलफलका लागि जसपालाई पनि मौखिक खबर पठाएका छौँ । तर अहिलेसम्म कुनै त्यस्तो प्रतिक्रिया आएको छैन । अब दलहरूलाई लिखित रूपमा नै पत्र पठाउन लागेका छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप