बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खानेकुराको स्रोत पहिचान नहुँदा स्वास्थ्य समस्या जटिल बन्दैछ : महानायक हमाल

बिहीबार, २६ साउन २०७९, १५ : ०९
बिहीबार, २६ साउन २०७९

महानायक राजेश हमालले खानेकुराको स्रोत पहिचान गर्न नसक्दा स्वास्थ्यसम्बन्धी जटिल समस्या सिर्जना भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । बिहीवार नेपाली उपभोक्ता संरक्षण महासंघको प्रथम राष्ट्रिय महाधिवेशन तथा स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महानायक हमालले आधुनिकताको पछाडि दौडिने क्रममा स्वदेशमै उत्पादित खाद्य सामग्रीको प्रयोग कम गर्न थालेको बताए ।  उनले हेर्दा आकर्षक देखिने खाद्य सामग्री एवं लताकपडाहरु भन्दा स्वदेशमा नै उत्पादित खानेकुरा र लगाउने लुगा राम्रो र स्वास्थ्य वर्द्धक हुने बताए । महानायक हमालले गुणस्तरयुक्त खानेकुराको कमीका कारण स्वास्थ्यमा गम्भीर समस्या पैदा भइरहेको र उपभोक्ताले आफ्नो अधिकार र शक्तिलाई बिर्सिएर आधुनिकतामा वहकिन थालेको बताए ।

उनले कुनै विज्ञापन र सामाजिक सञ्जालमा आकर्षक देखिएकै भरमा नलाग्न सचेत गराए । महानायक हमालले स्वास्थ्यमा खतरा भइसक्दा समेत कोही पनि नेपालीहरु सचेत हुन नसकेको भन्दै उपभोक्ता संरक्षण महासंघले यसमा पहलकदमी थाल्नुपर्ने बताए । उनले मानिसहरु बिरामी हुँदा आश्चर्य हुनुपर्ने ठाउँमा कसरी स्वस्थ भयो भन्ने बारेमा आश्चर्य हुने गरेको बताए । उनले मानिसले खाने सामग्रीहरु फ्याक्ट्रीबाट नभई जमिनबाट उत्पादन हुनुपर्ने र त्यसैले मानव स्वास्थ्यको हित गर्ने बताए ।  

महानायक हमालले अहिले आफूले खाने खानाको स्रोत थाहा नहुँदा कतिपय समस्या सिर्जन भइरहेको बताए । उनले बाहिरी आवरणलाई हेरेर नभइ सामग्रीको गुणस्तर र स्वास्थ्यका लागि लाभदायी कुराहरूको मात्रै प्रयोग गर्न आवश्यक रहेको बताए । प्याकेजिङका फुडहरु स्वास्थ्यलाई मध्यनजर नगरी स्वाद र व्यापारलाई मध्यनजर गरेर राखिएको हुने भन्दै उनले त्यसतर्फ सचेत रहन पनि आग्रह गरे । उनले स्थानीय उत्पादनलाई विशेष जोड दिएर गुणस्तरहीन खानेकुरा र लगाउने कपडाहरूको बहिष्कार गर्न आवश्यक रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप