शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई बाबुरामले भने, ‘माओवादीमा फर्किन्नँ, गठबन्धनमा समेट्नुस्’

बिहीबार, २६ साउन २०७९, १४ : १६
बिहीबार, २६ साउन २०७९

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । बिहीबार ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भएको भेटमा भट्टराईले माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । भेटका क्रममा प्रचण्डले पार्टीमा फर्किन आग्रह गरेकामा भट्टराईले अनिच्छा देखाएका हुन् । 

आफू माओवादीमा नफर्किने तर सत्ता गठबन्धनमा समेट्नका लागि भूमिका खेल्नका लागि भट्टराईले प्रचण्डलाई आग्रह गरेको उनी निकट एक नेताले बताए । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गरेपछि त्यस आन्दोलनमा हामीसँगै छौ । हाम्रो पार्टी विभाजन भएर नयाँ परिस्थिति बनेपछि अहिले फरक ठाउँमा छु’ भट्टराईको भनाइ उदृत गर्दै ती नेताले भने, ‘अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था छैन । मलाई यो पाँच दलीय गठबन्धनमा समेट्न भूमिका खेलिदिनु पर्‍यो । म यहीँ गठबन्धनकै एक हिस्सेदार हुँ ।’ 

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्दा पनि भट्टराईले गठबन्धनमा समेट्न आग्रह गरेका थिए । देउवासँगको भेटमा भट्टराईसहित अर्का अध्यक्ष महेन्द्र राय यादव समेत पुगेका थिए । सो क्रममा देउवाले गठबन्धनमा समेट्ने बचन दिएका थिए । त्यसकै सिलसिला स्वरुप बाबुरामले प्रचण्डलाई पनि भेटेर गठबन्धनमा समेट्न आग्रह गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप