नयाँ सरकारप्रति जनताका अपेक्षा
–लालबहादुर केसी
अब बन्ने वामपन्थी सरकारले नेपाल राष्ट्रप्रति र गरिबीका रेखामुनि रहेका जनताप्रति सद्भाव, शतविचार राखोस् भन्ने आम जनताको अपेक्षा छ । विज्ञान र प्रविधिको प्रयोजन विधि प्रयोग गर्दै नेपाल र नेपाली जनताको समृद्धिको आशालाई खाका कोरेर अगाडि बढ्नुपर्छ ।
गरिबीको रेखामुनि रहेका जनताको आर्थिक स्थिति मजबुत बनाउन विज्ञान र प्रविधिको समुचित प्रयोग गर्दै आर्थिक, सामाजिक, राजनीतिक संस्कारको विकास वैज्ञानिक ढङ्गले गर्नुपर्छ । अब जनतालाई दासका रूपमा नसोची मालिकका रूपमा व्यवहार गर्नुपर्छ । लाखौँ बेरोजगार युवायुवतीलाई रोजगारका सृजना गरेर नेपालमै बसाउने वातावरण निर्माण गर्नु अब बन्ने सरकारको मुख्य काम हुनुपर्नेछ । प्राविधिक शिक्षा, कृषिमा आधुनिकीकरण गरी युवाहरूलाई स्वरोजगारमा लगाउन सक्नुपर्छ । यसो गरेमा नेपालीहरू परनिर्भर बन्नुपर्दैन । यस कार्यले विदेशी व्यापार घाटालाई कम गरेर देशको आर्थिक स्थिति पनि मजबुत बनाउन सहज हुनेछ ।
अर्को कुरा ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई उमेरगत रूपमा छुट्याएर वृद्धभत्ताको वृद्धि गर्नुपर्दछ । जसरी नेपालका आमाबुवाहरूले अस्ताउँदो उमेरसम्म पनि आफूलाई नेपाल र नेपालीहरूका लागि समर्पित गरे । उनीहरूलाई पछिल्लो पुस्ता र राज्यले उचित सम्बोधन गर्न जरुरी छ । अहिलेको दुई हजार भत्ता पर्याप्त छैन । यसलाई सके पाँच हजारमा पुर्याउनु पर्छ, नसके उमेरगत रूपमा बढाउनुपर्छ । त्यस्तै ज्येष्ठ नागरिकहरूलाई विशेष प्रकारको राज्यबाट सेवा पाउने हुनुपर्छ । जस्तै उनीहरूलाई उमेर अनुसारका सीप दिने, अनुभव बाँड्ने वातावरण सृजना गर्ने, त्यस्तै उनीहरूको लालन पालनमा ग्यारेन्टी राज्यले लिनुपर्छ । त्यति मात्र होइन उनीहरूको औषधि उपचारमा पूर्ण रूपमा जुनसुकै अस्पतालमा निःशुल्क हुनुपर्छ । तब मात्र ज्येष्ठ नागरिकप्रतिको सम्मान प्रकट हुनेछ । आज हामीले ज्येष्ठ नागरिकहरूलाई मान सम्मान दिन सक्यौँ भने भोलिका पुस्तालाई पनि त्यही सिको गर्नेछन् । हामीले यसका साथी ज्येष्ठ नागरिकहरूले जीवनमा भोगेका तीतामीठा अनुभवहरूलाई सँगोल गरी प्रशस्त मात्रामा फाइदा लिन सक्नुपर्छ ।
त्यस्तैगरी अबको शिक्षा भनेको वैज्ञानिक शिक्षा लागू गरिनुपर्छ । पहिलेको जस्तो पुरानो प्रणालीलाई हटाएर नयाँ तरिकाको शिक्षा लागू गरिनुपर्छ । अहिलेको शिक्षा प्रणाली समायानुकूल भएन । यस्तो प्रकारको शिक्षाले बेरोजगारी मात्र उत्पादन गर्यो । नयाँ नयाँ अवसर दिन सकेन । पहिलेको शिक्षाले धेरै विभेद गरेको छ । अबको शिक्षा सबैका लागि निःशुल्क शिक्षा हुनुपर्छ । अब विज्ञान र प्रविधिको प्रयोग गरेर शिक्षण संस्थाबाट शिक्षा दिइनुपर्छ । तब मात्र सबैको हित हुनेछ । त्यति मात्र होइन शिक्षण संस्था बालमैत्री, अपाङ्गमैत्री, महिला मैत्री भएनन् । ती सबैलाई पुनर्संरचना र परिमार्जन गर्न जरुरी छ । अब बालमैत्री पढाइ, अपाङ्गमैत्री भवन, महिला मैत्री शौचालयलगायतका सबै क्षेत्रको हेरफेर गर्न जरुरी छ । अहिलेको विद्यालयको शिक्षण सिकाइ शैली, भवन निर्माण, शौचालय निर्माण, कक्षा कोठा निर्माणदेखि लिएर विद्यालय व्यवस्थापन समितिको गठनमा समेत उचित ढङ्गले हुन सकेको छैन । त्यसैले यस्ता कुरालाई ध्यान दिएर गर्न जरुरी छ ।
अर्को कुरा भनेको अब नेपाली जनता द्वन्द्व होइन, शान्तिको पक्षमा छन् । अब द्वन्द्वको नामसमेत सुन्न चाहेका छैनन् । जहानिया राणा शासनदेखि पञ्चायत शासन हुँदै राजतन्त्रलाई फालेर पनि गणतन्त्रमा आइसकेकाले अब नेपाली जनता खालि शान्ति र समृद्धिको पक्षमा छन् । अब अस्थिर होइन कि स्थिर सरकार चाहेका छन् । अब विकास र समृद्धि चाहेका छन् । त्यसैले अब बन्ने सरकारले विकास र समृद्धिको बाटोलाई रोज्न सकेन भने फेरि नेपाली जनताहरू निराश हुनेछन् र उनीहरूले अर्को पटकको चुनावमा अन्य दललाई नै रोज्ने छन् ।
यस प्रकारका कुराहरूलाई पनि ध्यान दिएर लाग्न जरुरी छ । त्यस्तै नेपालको हरेक परिवर्तनको नाममा विदेशी थिचोमिचो पनि भइरहेको छ । त्यसैले कुनै पनि विदेशीहरूको थिचोमिचो नसही नेपाल जनताको हितमा हुने कार्य गर्न जरुरी छ । जसरी नाकाबन्दीको समयमा केपी ओलीको अडान राम्रो रह्यो त्यसै गरी अबको सरकारले पनि अडानमा अडिग हुन सक्नुपर्छ । अब भारत मात्र होइन चाइनाबाट पनि फाइदा लिन सक्नुपर्छ । व्यापारको क्षेत्रमा पनि चीनसँग मित्रवत व्यवहार गर्नुपर्छ । त्यस्तै नेपाल समृद्धिको अर्को बाटो भनेको कृषि पेसा पनि । यहाँ कृषिमा प्रशस्त सम्भावनाहरू हुँदाहुँदै पनि राज्यले उचित आँखा नलगाउँदा समस्या आइपरेको छ । अब बन्ने सरकारले कृषिलाई बढी प्राथमिकता दिन जरुरी छ । परम्परागत रूपमा चलेको कृषि पेशालाई अब आधुनिक तरिकाले चलाउनु पर्दछ । जस्तै कृषकलाई पेन्सनको व्यवस्था, कृषिजन्य खेतीको बिमा, बीउबिजन निःशुल्क वितरण, कृषि मललाई अनुदानको रूपमा वितरण, कृषि पेसामा फर्किनेहरूलाई आधुनिक औजार र कृषिमा अनुदान दिइनु पर्छ । जसले गर्दा कृषि पेशा गर्नेहरूलाई पनि थप हौसला प्रदान हुनेछ ।
अर्को काम भनेको नेपालमा मौलाउँदै गएको भ्रष्टाचार पनि प्रमुख समस्या हो । अहिले जुनसुकै कामदेखि जुनसुकै कार्यालयमा पनि भ्रष्टाचारले गाँजेको छ । चाहे मालपोत कार्यालयमा होस, चाहे नापी कार्यालयमा होस, सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, शिक्षण संस्था, धार्मिक सस्था, समिति, व्यावसायिक क्षेत्र, निजी क्षेत्र लगायतका क्षेत्रमा व्यापक भ्रष्टाचार भइरहेको छ । त्यसैले यस्ता कुरालाई निर्णायक तहबाट नै निमिट्यान्न पार्नुपर्दछ । अझ भन्नुपर्ने कुरा के छ भने पछिल्लो समयमा संस्थागत भ्रष्टाचार बढिरहेको छ । यस्तो कामलाई पनि ध्यान दिन जरुरी छ । देशमा सुशासनको प्रत्याभूति हुनुपर्दछ । सुशासन भएन भने हरेक क्षेत्रमा अराजकता मौलाउँछ । त्यस्तै नेपालको प्रशासन प्रणालीलाई पनि अझ मजबुत बनाउनुपर्दछ । फितलो कार्यान्वय र अराजकताले पनि सेवाग्राहीहरू हैरान भएका छन् । यसो हुनाले यस्ता कार्यलाई पनि समयमै सुधार गर्न जरुरी छ ।
समाज सुधारको अर्को पाटो भनेको समाजमा भाइचारको सम्बन्ध हो । सबैको आआफ्नो सभ्यता, संस्कृति, परम्परा होला । त्यसको सबैले सम्मान गर्न जान्नुपर्छ । त्यसका लागि सरकारले मानवीय सम्बन्धलाई सुधार गर्न जरुरी छ । देश वा विश्व अहिले एक्काईशाँै शताब्दीमा गइसकेको बताइन्छ तर नेपालमा भने अझै कुप्रथाहरू जस्ताको त्यस्तै छ । जस्तै १) दाइजो प्रथा २) बाल विवाह ३) बोक्सीप्रथा ४) बहुविवाह ५) धामी झाँक्री प्रथा ६) छाउपडीप्रथा ७) मानव वेचविखन ८) हलिया खलिया प्रथा ९) जातीय छुवाछूतप्रथा इत्यादि । यस्ता कुप्रथालाई तुरुन्त नयाँ सरकारले गाउँघरदेखि कानुनी प्रक्रियासम्म हटाइनु पर्छ ।
मूलतः अब नेपाली जनताले शान्ति, विकास र समृद्धिका लागि धेरै धैर्य गरिसकेका छन् । जनताहरूले अब विकासको मूल फुटेको हेर्न चाहेका छन् । अब तुरुन्त विकासका पूर्वाधारहरू निर्माण हुनुका साथै हरेक सेवामा छिटो र छरितोको आशा गरेका छन् । हरेक परिवर्तनमा नेपाली जनताहरूले बलिदानी गरेकाले अब काही कुनै पनि सरकारले धोका दिनुहुँदैन । आथि उल्लेखित कार्यहरू सरकारका जिम्मेवारी पनि हुन र यी काम गर्न नसके चुनौत पनि हुन । त्यसैले अब बन्ने सरकारले कुनै, कसैको भर, प्रलोभनमा नपरी नआत्तिएर दिमाग लगाएर नेपाल र नेपाली जनताको हित हुने कार्यमा लाग्नु नै हित हुने छ ।
रुकुम