शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिटौलाले सत्ता गठबन्धनको कार्यदल संयोजक पाउँदा काँग्रेसमा तरंग

शेखर समूह सशंकित, देउवासँग खड्काको दुरी बढ्दो
बुधबार, २५ साउन २०७९, २१ : ०७
बुधबार, २५ साउन २०७९

सत्ता गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्ड बनाउन गठित कार्यदलको संयोजक कृष्णप्रसाद सिटौला बनेपछि नेपाली काँग्रेसमा तरंग पैदा भएको छ । शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल बनाएको थियो । जसमा काँग्रेसबाट सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले स्थान पाए ।

यता माओवादीबाट नेताद्वय देव गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सोमबार बसेको कार्यदल बैठकले संयोजकमा सिटौलालाई चयन गरेको हो । पार्टी वरीयताको १९ नम्बरमा रहेका सिटौला कार्यदलमा संयोजक बने । पार्टी वरीयताको ५ नम्बरमा रहेका महामन्त्री थापा भने कार्यदलको सदस्यमा सीमित रहे ।

सभापति शेरबहादुर देउवाले सिटौलालाई तालमेलको मापदण्ड बनाउने कार्यदल संयोजकको जिम्मेवारी दिएपछि संस्थापन र इतर पक्षका नेताहरु झस्किएका छन् । स्थानीय निर्वाचनको तयारी र अनुगमन गर्न गठित उच्चस्तरीय समिति संयोजकको जिम्मेवारी वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका थिए । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम कार्यदलको जिम्मेवारी काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले पाएका थिए । अहिले देउवाले पौडेल र खड्काको विकल्पमा सिटौलालाई अगाडि सारेका छन् ।

शेखर समूह सिटौलासँग सशंकित

सिटौला संयोजक बनेसँगै शेखर कोइराला पक्षलाई आफ्नो समूह प्रतिकुल सिट बाँडफाँटको मापदण्ड बन्ने भय बढेको छ । आफू निकट नेताले टिकट पाउने स्वाभाविक ठाउँमा पनि सिटौलाबाट गठबन्धनका दलहरुले टिकट पाउने गरी मापदण्ड बन्न सक्ने कोइराला पक्षको बुझाइ छ ।

स्थानीय निर्वाचनमा सिटौलाले प्रदेश १ का सभापतिमार्फत इतर पक्षका नेता–कार्यकर्तामाथि प्रतिरोध साँधेको कोइराला पक्षको आरोप छ । विराटनगर महानगरपालिकाको मेयरमा सिटौला र शेखर कोइरालाबीच आफू निकटलाई टिकट दिने विषयमा लामै गलफती चलेको थियो । अन्तिममा देउवाले कोइराला पक्षीय नागेश कोइरालालाई मेयरको टिकट दिएका थिए ।

संघ र प्रदेशमा सिट बाँडफाँटको मापदण्ड बनाउने जिम्मेवारी सिटौलाले पाएपछि कोइराला पक्ष सशंकित छ । यद्यपि कार्यदलमा महामन्त्री थापा पनि रहेकाले कोइराला पक्षलाई केही राहत छ । कोइराला पक्षका नेताहरुले अन्याय नहुने गरी मापदण्ड बनाउने कुरामा जोड दिन महामन्त्री थापासँग आग्रह गरिसकेका छन् ।

कोइराला पक्षीय एक शीर्ष नेताले भने, ‘सिटौलाजी प्रतिशोधको राजनीति गर्नुहुन्छ । त्यसको झल्को गठबन्धनमा सिट बाँडफाँट गर्दा पक्का देखिन्छ, तर गगनजी हुनुहुन्छ । उहाँले कुनै पनि कार्यकर्तालाई स्वाभाविक टिकट पाउने ठाउँमा अन्याय हुने गरी सिट बाँडफाँट हुनु रोक्नुहुन्छ भन्ने विश्वास छ ।’

सिटौलाको ‘कम ब्याक’ले संस्थापनमा तरंग

संस्थापन पक्षमा देउवाको उत्तराधिकारीको अभ्यासमा देखिएका उपसभापति पूर्णबहादुर खड्का सिटौलाको ‘कम ब्याक’बाट झस्किएका छन् । १४ औं महाधिवेशनमा देउवालाई साथ दिएका सिटौला त्यस यता संस्थापन पक्षको कर्नरमा थिए । संघ र प्रदेशको सिट बाँडफाँटको मापदण्ड बनाउने कार्यदलको नेतृत्व पाएसँगै सिटौला संस्थापन पक्षको केन्द्रमा पुगेका छन् ।

अब उनी आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी घोषणासम्म काँग्रेसमा देउवापछिको मुख्य भूमिकामा देखिने पक्का छ । अहिले टिकट दिँदा जोडिने देउवा निकट नेता–कार्यकर्तालाई संगठित गरेर सिटौलाले भोलि ‘पावर एक्सरसाइज’ गर्न सक्छन् भन्ने संस्थापन पक्षका दोस्रो तहका नेतामा भय छ । १४ औं महाधिवेशनमा आफ्नो समूह संस्थापन पक्षमा विलय गराएका सिटौला ‘पावर एक्सरसाइज’ गर्ने मौकाको प्रतीक्षामा ‘साइलेन्ट’ थिए ।

आम निर्वाचनपछि सिटौला नयाँ ढंगले अगाडि आउने तयारीमा रहेको उनी पक्षीय नेताहरु पनि बताउँछन् । संस्थापन पक्षमा सिटौला हावी हुँदा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादवलगायत पनि सशंकित देखिन्छन् । यता विमलेन्द्र निधिले पनि देउवासँग दुरी घटाउन खोजेका छन् भने नेता प्रकाशमान सिंहलाई देउवाले फ्रन्टलाइनमै राख्ने ठाउँ खोजिरहेको बुझिएको छ ।

देउवासँग खड्काको दुरी बढ्दो

विगतमा नेता पौडेल र उपसभापति खड्का नेतृत्वको कार्यदलले प्रभावकारी काम गर्न नसकेको निष्कर्षपछि देउवाले अहिले सिटौलालाई अगाडि सारेको संस्थापन पक्षका नेताहरु बताउँछन् । पौडेल नेतृत्वमा स्थानीय निर्वाचनको चुनावी तालमेल भद्रागोल भएको थियो भने खड्का नेतृत्वको न्यूनतम् साझा कार्यक्रम पनि प्रभावहीन भयो ।

नेता विमलेन्द्र निधिले देउवासँग दुरी बढाएपछि पार्टी र गठबन्धन सरकारको गतिविधिमा हावी भएका खड्काको प्रभाव अहिले घट्दै गएको छ । गठबन्धनभित्रको छलफल र समन्वयमा पछिल्लो समय देउवाले पौडेल, सिटौला, गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई अगाडि सारेको देखिन्छ ।

देउवाको दाहिने हात मानिएका उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतसँगको विश्वास घट्दो देखिन्छ । काँग्रेस शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको चुनावमा संस्थापन पक्षको पराजयमा उपसभापति खड्का र प्रवक्ता महतको मूख्य भूमिका रहेको संस्थापन पक्षको निष्कर्ष छ । खड्का र महतको लडाइँका कारण प्रेस युनियनमा संस्थापन पक्ष पराजित हुनु परेको सो पक्षको ठहर छ ।

यता पार्टीभित्र खड्काको दोहोरो भूमिकाप्रति पनि देउवा सन्तुष्ट नरहेको संस्थापन पक्षकै नेताहरु बताउँछन् । संस्थापन पक्षका एक नेताले भने, ‘पार्टीमा पूर्णबहादुर दाइले दोहोरो भूमिका खेल्नुभयो । सभापतिविरुद्ध महामन्त्रीलाई उचाल्नुभयो । फेरि सबै मैले नै मिलाइरहेको छु भनेर देखाउन खोज्नुभयो । अहिले उहाँको भूमिकाबारे सभापति र महामन्त्री जानकार भइसक्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप