बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचनसम्म गठबन्धन टुट्दैन : मन्त्री पौडेल

बुधबार, २५ साउन २०७९, २० : २४
बुधबार, २५ साउन २०७९

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन नतोडिने बताएका छन् । बुधबार प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भावना नरहेको बताए ।

उनले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । ‘निर्वाचन आयोगकै सिफारिसको आधारमा सरकारले मंसिर ४ मा निर्वाचन गर्ने गरी मिति घोषणा गरिएको हो । तोकिएकै सयमा निर्वाचन हुन्छ ढुक्क हुनुस् । कस्ले जित्ने हार्ने दोस्रो कुरा हो, प्रणाली स्थापित गर्ने पहिलो कुरा रहन्छ’, उनले भने ।

निष्पक्ष, भयरहित र देशैभर एकैपटक नमूनालायक निर्वाचन उनको भनाइ छ । उनले अबको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट नेकपा माओवादी केन्द्रलाई पहिलो वामपन्थी पार्टी बनाउने बताए । समाजवादी केन्द्र बनाउने विषयमा पनि वार्ता संवाद भैरहेको मन्त्री पौडेलले जानकारी दिए । ‘सिस्टम स्थापना गर्न गठबन्धन बनेको हो । अबको चुनावसम्म गठबन्धन कायमै रहन्छ’, उनले थपे, ‘कुन पार्टीले कति सिट लिने भन्ने विषयमा छलफल हुनै बाँकी छ । अहिलेलाई यत्ति बुझ्नुहोस् गठबन्धन तोडिने सम्भावना छैन ।’ नेपालका सबै राजनीतिक दल जनताको अहिलेको आवश्यकतासँग अनुसार जोडिएर जानुपर्ने उनको भनाइ छ ।

मन्त्रालयसँग सम्बन्धित प्रशंगमा मन्त्री पौडेलले क्यालेन्डर प्रणालीमा परीक्षा र रिजल्ट गर्ने प्रणालीको विकास गरिने बताए । यो वर्ष दुईवटा विश्वविद्यालय थपिन लागेको जानकारी दिँदै उनले अब शिक्षालाई सीप र रोजगारसँग जोड्ने गरी अघि बढ्न लागेको जानकारी दिए । आगामी तीन वर्षभित्र आवश्यक विद्यालयमा भौतिक पूर्वाधार पु¥याउने र आवश्यकता अनुसार विद्यालय मर्ज पनि गर्ने योजना रहेको उनले बताए । यस्तै शिक्षक अस्पताल पनि निर्माण गर्ने काम अघि बढाउने उनले जानकारी दिए ।

महेन्द्र माविको २१ कोठे भवनको उद्घाटन   

मन्त्री पौडेलले हेटौंडा–१३, महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित २१ कोठे भवनको उद्घाटन गरेका छन् । जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा बनेको विद्यालय भवन ६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । भवन तोकिएको समयभन्दा अगाडी नै सम्पन्न भई उद्घाटन भएको बताइएको छ । भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले शैक्षिक विकाससँगै महेन्द्र माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवहारिक शिक्षालाई जोड दिँदै प्रविधिसँग जोडिने धारणा राखे ।

२१ कोठे भवनमा लाइब्रेरी पुस्तकालय, विज्ञान प्रयोगशाला र पठनपाठन हुनेछ । २०७२ सालको विनाशकारी भुकम्पबाट महेन्द्र माविको शैक्षिक तथा भौतिक संरचना पूर्ण क्षति भएको थियो । सो विद्यालयमा ८ सय ३२ जना विद्यार्थी अध्ययनरत छन् भने २८ जना शिक्षकको दरबन्दी रहेको छ । शिक्षक सविता लामिछानेले विद्यालयको प्रगति विवरण राख्दै कक्षा–११ र १२ मा वाणिज्य, मानविकी र शिक्षा संकायमा अध्यन अध्यापन हुने गरेको जानकारी दिइन् ।

विद्यालयमा छुट्टै पुस्तकालय भवन, विज्ञान प्रयोगशाला, कम्प्युटर इन्जिनियरिङको भवन अझै आवश्यक रहेको उनको भनाइ छ । नमुना विद्यालयका रुपमा सो विद्यालय पनि जोड्न जरुरी रहेको उनले बताइन् । खेल मैदान, सोलार, विद्यालयलाई कम्पाउण्ड वालले घेर्नुपर्ने, सभा, भवन, छात्रावासको व्यवस्था र अन्य सेवासुविधा थप गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप