बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निजगढ नगरपालिकामा दोहोरो तालावन्दी : सेवाग्राहीलाई सास्ती

मेयरबाट कार्यकारी अधिकृतको कार्यकक्षमा, बहुमत सदस्यबाट मेयरकै कार्यकक्षमा तालाबन्दी
बुधबार, २५ साउन २०७९, १९ : ३१
बुधबार, २५ साउन २०७९

सेवाग्राहीका लागि मूलगेटमै निःशुल्क फोटोकपीको व्यवस्था, प्रविधिमैत्री डिजिटल सूचना बोर्ड, सेनेटरी प्याडसहित महिला तथा वालमैत्री शौचालय छ । चारैतिर सिसी क्यामरा, डिजिटल हाजिर, ठाउँ ठाउँमा तातो पानी, चिया, तौल र उचाई नाप्ने मेसिन पनि छ । सरसफाई र चिटिक्क परेको भवन हेर्दा कुनै तारे होटल जस्तो पनि लाग्छ । तर यो हो, बाराको निजगढ नगरपालिकाको परिसर । 

निजगढ नगरपालिका कुनैबेला विकास र सुशासन दुवैमा जिल्लाकै नमुना मानिन्थ्यो । तर, स्थानीय तह निर्वाचनपछि नगरप्रमुख सुरथ पुरीले प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीको सरुवाको विषयलाई लिएर उनको कार्यकक्षमा तालावन्दी गरेपछि करिव महिना दिनदेखि नगरपालिकाबाट दिइने सबै सेवा ठप्प छ । बाराको पचरौता नगरपालिका सरुवा भएका प्रशासकीय प्रमुख अधिकृत कार्कीले  पुनः निजगढ नगरपालिकामै थमौती पत्र लिएर आएको विषयलाई लिएर नगरप्रमुख पुरीले दुइ सातादेखि उनको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।​नगरप्रमुख पुरीले कार्यालयमा जडान गरिएको सिसी क्यामरा तथा विद्युत्तीय हाजिर पनि बन्द गराएका हुन् । उनी कार्कीलाई कुनैपनि सर्तमा हाजिर नगराउने बताउँछन् । आफूअनुकुल कर्मचारी ल्याउन प्रयास गरेका पुरीले यसअघि हरिलाल पुरीलाई निजगढमा सरुवा गरेर ल्याएका थिए । तर पुरी निजगढमा बस्न नचाहेपछि कार्कीले नै थमौती पत्र ल्याएका थिए । निजगढ नगरपालिका नगरप्रमुख सुरथ पुरी सामान्य प्रशासन मन्त्रालयको कार्यशैलीका कारण विवाद सिर्जना भएकोले समाधान पनि मन्त्रालयले नै गर्ने जिकिर गर्छन् । प्रमुख पुरीले प्रशासकीयको कार्यकक्षबाट सिसी क्यामराको अनुगमन हुने भएकाले आफूले बन्द गराएको बताए । 

यता निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख सुरेश खनालले भने कर्मचारीसँगको विवादको विषयलाई लिएर सेवाग्राहीको सेवा सुविधा कटौती गर्न नमिल्ने बताउँछन् । ‘नगरपालिकामा भोलि कुनै ठुलो घटना भयो भने त्यसको जिम्मा मेयरले लिनुपर्छ । कर्मचारी वादविवाद हुन सक्छ । तर विद्युत्तीय हाजिर बन्द गर्ने, सिसी क्यामरा बन्द गर्ने, कार्यालयले सेवाग्राहीलाई दिदै आएको अन्य सुविधा बन्द गर्न मिल्दैन,’ पूर्व नगरप्रमुख खनाल भन्छन् । यसअघि नेपाली काँग्रेसबाट नगरप्रमुख भएका खनालको कार्यकालमा कार्यपालिकामा एमालेको बहुमत थियो । तर, उनले ५ वर्षको अवधिमा उठेका विवादका विषयलाई छलफलको माध्यमबाटै समाधान गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीको सरुवाको बिषयलाई लिएर मेयर पुरीले अधिकृतको कार्यकक्षमा ताला लगाएर सेवाग्राही मर्कामा पारेको भन्दै प्रमुख, उपप्रमुख दुबैको कार्यकक्षमा वहुमत कार्यपालिका सदस्यहरुले  तालाबन्दी गरेका हुन् ।  

तर एमालेबाट पुरी मेयरमा निर्वाचित भएर आएको महिना दिनदेखि नै नगरपालिकामा  विवादमा सुरु भएको छ । उनले कर्मचारी सरुवाको विषयमा उठेको  समस्याको विषयमा हालसम्म कार्यपालिका सदस्यहरुलाई कुनै जानकारी नदिएको वडा न १२ का वडाध्यक्ष ज्ञानबहादुर गोलेले जनाए । ‘उहाँले कार्यपालिका बैठक डाकेर कर्मचारीले मलाई सहयोग गरेनन्, काम गर्न दिएनन् भनेर हामीसँग छलफल गरेको भए हामी सहयोग गर्न तयार थियौ । तर उहाँले आजसम्म विवाद के हो ? भन्ने विषयमा जानकारी नदिने, आफू खुशी मनोमानी गर्न खोज्नुभयो,’ वडाध्यक्ष गोलेले भने । निजगढ नगरपालिकाले असार १० गते नगरसभा सम्पन्न गरेपनि नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल हुन सकेको छैन ।​

मेयरको कार्यकक्षमा पनि ताला
उता निजगढ नगरपालिकाका वहुमत कार्यपालिका सदस्यहरुले सोमवार नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गको कार्यकक्षमा पनि ताला लगाएका छन् । प्रमुख प्रशासकीय अधिकृत कार्कीको सरुवाको विषयलाई लिएर मेयर पुरीले अधिकृतको कार्यकक्षमा ताला लगाएर सेवाग्राही मर्कामा पारेको भन्दै प्रमुख, उपप्रमुख दुबैको कार्यकक्षमा वहुमत कार्यपालिका सदस्यहरुले  तालाबन्दी गरेका हुन् ।   सेवाग्राहीको दैनिक कार्यसमेत अवरोध हुने गरी प्रशासनिक कार्य ठप्प गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको, कर्मचारीको डिजिटल हाजिर बन्द गरेको, सिसी क्यामरा समेत बन्द गरेर आफ्नो दलको उदण्ड कार्यकर्तालाई नगर कार्यपालिकामा अराजक गतिविधि गर्न प्रेरित गरेको र वहुमत कार्यपालिका सदस्यहरुले पटक पटक ध्यानाकर्षण गराउँदा समेत नगरप्रमुखले समस्या समाधान नगरेको भन्दै प्रमुख/उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुपरेको कार्यपालिका सदस्यहरुले जनाएका छन् । तर नगरप्रमुख पुरीले भने आफ्नो कार्यकक्षमा के कारणले तालाबन्दी भएको हो भन्ने विषयमा कुनै जानकारी नभएको बताए ।​

 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप