शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद हिँडेपछि पास हुनै लागेको विधेयक रोकियो

बुधबार, २५ साउन २०७९, १८ : ०५
बुधबार, २५ साउन २०७९

बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे । 

राष्ट्रियसभाबाट यसअघि नै पारित भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्रतिनिधिसभामा दफावार छलफल भयो । साथै सो विधेयकका विभिन्न प्रावधान संशोधनका लागि परेका प्रस्तावमाथि मन्त्रीले जवाफ दिने तथा फिर्ता नलिइएका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने प्रक्रिया समेत सकिएको थियो । 

सभामुख सापकोटाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री मोहम्मद इस्तियाक राईले विधेयकमाथिको जवाफ दिने क्रममा सरकारको तर्फबाट स्वीकार गरेको संशोधनहरुलाई स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गरे जुन बहुमतले स्वीकृत भयो । तर स्वीकृत भएको संशोधनलाई सो विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्नै लाग्दा सभामुख सापकोटालाई नेमकिपा सांसद प्रेम सुवालले बीचमा रोके । 

उनले सदनभित्र आफूले  गन्दा सांसदहरुको संख्या ६० मात्र रहेको र त्यसलाई ६९ जना पुर्याएर पास गर्न आग्रह गरे । त्यसपछि सभामुखले नेपालको संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि विषय निर्णयार्थ पेश गर्न एक चौथाई सांसद चाहिने व्यवस्था रहेको बताउँदै ३ मिनेट घण्टी बजाएर सांसदहरुको संख्या गन्न सचिवालयका कर्मचारीलाई निर्देशन दिए । 

३ मिनेट घण्टी बजाएर सांसदको गणना गर्दा हलभित्र ६६ जना सांसदमात्र फेला परे । गणपूरक संख्या पुग्न ३ सांसदको अभाव भएपछि सभामुख सापकोटाले कार्यसूचीको बाँकी कुराहरु हटाइएको बताउँदै आगामी आईतबार सम्मका लागि बैठक स्थगित गरे । 

पछिल्लो समय बैठकमा विधेयक पारित गर्ने क्रममा सांसदहरुको गणपूरक संख्या नै नपुग्ने अवस्था सिर्जना भइरहेको छ । पहिले जस्तो तुलनात्मक रुपमा संसदमा सांसदहरुको उपस्थिति कम हुँदै गएको संघीय संसदका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप