विचार

नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’


दलित समुदायका व्यक्तिलाई फ्याउरो, कुकुर, कुकुर्नीजस्ता अपमानजनक नाममा प्रशासनले नागरिकताको प्रमाणपत्र दिएको समाचार सञ्चारमाध्यममा आएपछि गृहले यस्तो निर्देशन गरेको हो । 



हामीकहाँ मात्र होइन, विश्वमै कुनै व्यक्ति माथिको हेपाइको पहिलो शैली वा माध्यम हो— नाम काढ्नू वा नाम बिगारेर बोलाउनू । आश्चर्य यो छ, विश्वमै यस्तो प्रवृत्ति वा व्यवहार बच्चाहरूमा बढी देखिन्छ । शासक वा प्रशासकले नै बच्चा व्यवहार देखाउँछन् भने सम्झनुपर्छ त्यहाँ भेद, विभेद र अज्ञानता छ । 



उसो त यो देशमा नागरिकताको प्रमाणपत्र नै नपाउने भूमिहीन दलित तथा उत्पीडित समुदायको कुनै लेखाजोखा छैन । यो परिप्रेक्ष्यमा उनीहरूलाई हेपेर अपमानजनक नाम र थर राखी नागरिकता दिनु शासक वा प्रशासकका लागि नौलो कुरा थिएन, भएन । तर, समाजको चेतना सधैँ एकनाश रहँदैन । जब उत्पीडित समुदाय तथा वर्गले आफूमाथि भएको अन्याय महसुस गर्छन्, तब आवाज उठाउन थाल्छन् । 

हिन्दूहरूका सोह्र संस्कारमध्ये नामकरण संस्कार एक हो । यसलाई हामी न्वारन भन्छौँ । डा. नारायणप्रसाद अधिकारीको पुस्तक ‘हाम्रा सोह्र संस्कार’का अनुसार, न्वारनको चलन वैदिक र पूर्ववैदिक कालदेखि चल्दै आएको पाइन्छ । हिन्दू संस्कारमा नाम राख्ने विशेष विधि र विज्ञान छ । शतपथ ब्राह्मणले भन्छ– नयाँ शिशुलाई उसको जन्म समयको नक्षत्र र तिनका अधिपति देवीदेवताको नाम दिनुपर्छ ।

दलितले अपमानजनक थर परिवर्तन गर्ने आवाज उठाएसँगै तत्कालीन सरकारले सोही बमोजिम गर्न ०५२ साउन ४ गते मातहतका निकायलाई निर्देशन दिएको थियो । त्यतिबेला नागरिकता समस्यासम्बन्धी ११ बुँदे निर्णय गर्दा बुँदा ५ मा उल्लेख थियो– समाजमा अझै विद्यमान जातिगत संक्रीर्णताले गर्दा जातीय आधारमा आफूलाई हीनताबोध गर्ने व्यक्तिले बाबुको भन्दा फरक थर राखी नागरिकता प्रमाणपत्र माग गरेको हुनाले त्यस्ता व्यक्तिहरूको सम्बन्धमा छानबिन गरी बेहोरा मनासिब देखिएमा नयाँ थर राखी नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्ने ।’

सरकारको यो निर्णयपछि पनि दलितले सजिलै थर परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएन । त्यसैले अशोभनीय र हीनताबोध हुने थर सच्याउने व्यवस्था कडाइका साथ लागू गर्न सरकार (सचिवस्तर)ले २१ साउन ०६३ मा अर्को निर्णय गर्‍यो । अहिले अपमानजनक नाम सच्याउन गृहको निर्देशन छ । यसबाट नागरिकले कम्तीमा नागरिकताको प्रमाणपत्रमा सम्मानजनक नाम र थर लेख्न सक्ने आधार निर्माण भएको छ, यसलाई सकारात्मक मान्नुपर्छ । कागजातमा हीनताबोध हुने नाम र थर हुँदा दलित मात्रै नभई गैरदलित समेत  पीडित छन् । 

सरकारका यस्ता निर्णयका आधारमा नागरिकले नागरिकताको प्रमाणपत्रमा नाम र थर सच्याउन सक्नेछन्, तर लालपूर्जा, शैक्षिक प्रमाणपत्र लगायत कागजात सच्याउन सरकारले सम्बन्धित कार्यालयलाई विशेष परिपत्र गर्न आवश्यक देखिन्छ । नागरिकताको प्रमाणपत्र सच्चिए पनि अन्य कागजात अन्य निकायले सच्याउन नमानेको गुनासा पनि छन् । 

त्यसो त हामीकहाँ व्यक्तिको परिचय दिने सरकारी कागजातमा लेखिएको हीनताबोध हुने किसिमका नाम र थरसँगै दिमागमा गढेको जात–थरको भ्रम पनि मेट्नुपर्नेछ । 

धर्मशास्त्रले तोके अनुरूपको नाम 

हिन्दूहरूका सोह्र संस्कारमध्ये नामकरण संस्कार एक हो । यसलाई हामी न्वारन भन्छौँ । डा. नारायणप्रसाद अधिकारीको पुस्तक ‘हाम्रा सोह्र संस्कार’का अनुसार, न्वारनको चलन वैदिक र पूर्ववैदिक कालदेखि चल्दै आएको पाइन्छ । हिन्दू संस्कारमा नाम राख्ने विशेष विधि र विज्ञान छ । शतपथ ब्राह्मणले भन्छ– नयाँ शिशुलाई उसको जन्म समयको नक्षत्र र तिनका अधिपति देवीदेवताको नाम दिनुपर्छ ।

समाज धर्म र कानुनले चल्छ, कानुनका आधार धर्मशास्त्र हुन् । हिन्दू समाजको जग जात व्यवस्थालाई व्यवस्थित बनाउन हामीकहाँ केही धर्मशास्त्र लेखिएका छन् । यसमा विशेष रूपमा मनुस्मृति अगाडि छ । जसले चार वर्णमध्ये कुन वर्णका व्यक्तिको नाम के अर्थ लाग्ने गरी राख्ने भन्ने समेत तोकेको छ । 

मनुस्मृति भन्छ– ‘ब्राह्मणको नाम राख्दा मंगलवाचक, क्षत्रीयको नाम बलवाचक, वैश्यको नाम धनसूचक र शूद्रको नाम सेवासूचक राख्नुपर्छ । शर्मा आदि ब्राह्मणका नाममा, सिंह, वर्मा आदि रक्षा जनाउने क्षत्रीयका नाममा, गुप्त आदि धन जनाउने वैश्यका नाममा र दास आदि सेवा जनाउने शूद्रको नाममा जोड्नुपर्छ ।’ 

यतिसम्म कि मनुस्मृतिले सन्चोबिसन्चो सोध्दा समेत कुन वर्णको व्यक्तिलाई के शब्द प्रयोग गर्ने भन्ने समेत तोकिदिएको छ । अध्याय २ को १२७औँ श्लोक भन्छ– ‘ब्राह्मणलाई कुशल, क्षत्रीयलाई निको, वैश्यलाई सन्चोसुबिस्ता र शूद्रलाई निरोगी छौ भनेर सोध्नुपर्छ ।’

जात, थर र गोत्र उत्पत्तिको आफ्नै इतिहास र कथा भेटिन्छ । आज मान्छेको परिचय दिने सरकारी कागजातमा विशेषतः सम्बन्धित व्यक्तिको नाम–थरसँगै बाबुआमाको नाम–थर र ठेगाना उल्लेख हुन्छ । तर, सामाजिक र सांस्कृतिक जीवनमा अगाडि बढ्न उसलाई जात र गोत्र चाहिन्छ । यीबिना विवाह गर्न र अनुष्ठान गर्न नसकिने सामाजिक मान्यता छँदै छन् ।   

मनुस्मृतिले शूद्रलाई उपनयन संस्कार, वेदाध्ययन, यज्ञ–अनुष्ठान लगायतबाट समेत वञ्चित गरेको छ । हामीकहाँ मनुस्मृतिको निर्देशन बमोजिम नै कानुनहरू बन्दै आएको पाइन्छ । जयस्थिति मल्लको मानवन्यायशास्त्रदेखि जंगबहादुरको मुलुकी ऐन– १९१० सम्म आउँदा जात अनुसारकै कानुनी व्यवस्था छ ।

धर्मशास्त्र र कानुन नै जातमा आधारित भएपछि सरकारी कागजातमा दलितलाई हेपेर नाम लेखिदिनु स्वाभाविक हुँदै आयो । यसमा कुनै एक गैरदलित व्यक्तिविशेषको मात्र कमजोरी होइन, हिजोको समाज र सामाजिक व्यवस्था नै दोषी देखिन्छ । यस्ता कुरा नागरिकलाई बुझाएर, पढाएर सच्याउँदै र सच्चिँदै अगाडि बढ्नुपर्नेछ ।  

नाम र गोत्र 

मानव सभ्यताको इतिहासमा व्यक्ति र समुदायको पहिचानका लागि नाम र गोत्र (वंश परम्परा) आवश्यक ठानियो । पछि यो पितृसत्तात्मक बन्दै आयो, सभ्यताको सुरुवातमा भने मातृसत्तात्मक वंश परम्परा रहेको बुझिन्छ । कुनै आदिम आमाको काल्पनिक नामबाट मानिसले आफूलाई चिनाउँथे । कबिला युगमा समूहभित्र यौनसम्बन्धी खास नियम नभएको वा खुला रूपमा यौन सम्बन्ध कायम गर्न पाउने भएकाले बाबुको पहिचान हुँदैनथ्यो । 

सभ्यताको सुरुवातमा मानिसलाई सबैभन्दा पहिले आफूमाथि आक्रमण गर्ने शत्रुको, आफूले खाने सिकार वा कृषि उपजको नाम राख्नुपर्ने थियो । समूहभित्र भने व्यक्तिगत नाम हुनुभन्दा अगाडि मान्छे नाताले चिनिएको बुझिन्छ, त्यसपछि गोत्रले । यस्तो पनि प्रतीत हुन्छ, कुनै बेला कुनै समाजमा गोत्रले नै व्यक्तिको नाम बुझाउँथ्यो । प्रत्येक व्यक्तिको नाम राख्न मानिससँग शब्दको सीमितता पनि थियो । बिस्तारै जनसंख्या बढ्दै गयो, गोत्रले मात्रै मानिसलाई चिन्न असम्भव हुन थाल्यो, त्यसपछि नामबोधक शब्दहरु उत्पत्ति हुँदै गए । ती नामबोधक शब्द पेसाजन्य पनि हुन सक्थ्यो । जस्तो : ऋग्वेदमा वप्ता (कपाल काट्ने नाई), तष्टा (रथ निर्माता), भिषक् (वैद्य) आदि उल्लेख छ । 

कबिला युगमा समूहमा रहँदा मानिसले नाता स्पष्ट गर्‍यो । जस्तो : आमा, छोराछोरी, पतिपत्नी आदि । निजी पत्नी बनाएर यौन सम्बन्धमा नाताअनुरूप प्रतिबन्ध लगाएपछि पितृसत्तात्मक वंश परम्परा वा गोत्र सुरु भएको पाइन्छ । आदिम समाजमा गोत्र पनि व्यक्तिको पहिचान गराउने खास नामजस्तै थियो । 

लेविस हेनरी मोर्गनको पुस्तक ‘एन्सियन्ट सोसाइटी’मा गोत्र संगठन कसरी बन्यो र परिवारका सदस्यहरूलाई नाम दिने अधिकार कसलाई थियो भन्ने लगायत प्रसंग उल्लेख छन् । 

हामीकहाँ धार्मिक र सांस्कृतिक जीवनमा व्यक्तिको नामसँगै जात र गोत्रको विशेष महत्त्व छ । स्थल वा पुरानो थलोको नामबाट थर बनेको र कागजातमा लेखिन थालेको अस्ति भर्खरबाट हो । हिन्दू सांस्कृतिक मूल्य–मान्यता जात र गोत्रमै आधारित रहेको इतिहास लामो छ । 

जात, थर र गोत्र उत्पत्तिको आफ्नै इतिहास र कथा भेटिन्छ । आज मान्छेको परिचय दिने सरकारी कागजातमा विशेषतः सम्बन्धित व्यक्तिको नाम–थरसँगै बाबुआमाको नाम–थर र ठेगाना उल्लेख हुन्छ । तर, सामाजिक र सांस्कृतिक जीवनमा अगाडि बढ्न उसलाई जात र गोत्र चाहिन्छ । यीबिना विवाह गर्न र अनुष्ठान गर्न नसकिने सामाजिक मान्यता छँदै छन् ।   

खासगरी दलित र गैरदलित एउटै थलोबाट अन्यत्र लागे पनि, एउटै गोत्रका भए पनि विभेद गर्न पहिचान खुलोस् भनेर दलितको थर नलेखी जातै लेखिदिने अभ्यास सुरु हुँदै आयो । आज अपमानजनक नाम–थर सच्याउने अभ्यास र बहसमा हामी आइपुगेका छौँ ।

नामको राजनीति

शब्द वा भाषाको उत्पत्ति भएसँगै नाम शब्दको विशेष महत्त्व रहँदै आयो । भाषाको संसारमा संसारको ज्ञान नै सम्बन्धित वस्तु तथा गुणको बोध गराउने नाम शब्दबाट सम्भव छ । 

नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी, जर्मन, जापानिज, डच, डेनिस, इन्डोनेसिएन, प्रोचुगिज, इटालियन, रोमानियन लगायत संसारका केही भाषामा नाम शब्दको ध्वनि सादृश्यता पाइन्छ । यसो हुनुको पछाडिको कारण जेहोस्, नाम शब्दले मानिसको अस्तित्व र अहंलाई प्रकट गर्छ । यही अस्तित्व वा अंहलाई क्षति पुर्‍याउन नाम काढ्न थालिन्छ ।

नेपाली शब्दकोशहरूमा नाम शब्दको अर्थ यस प्रकार छन्– ‘कुनै खास विषय वा वस्तु वा जाति वा व्यक्तिलाई चिनाउने शब्द वा संज्ञा । खास व्यक्ति वा पाल्तु प्राणीलाई बोलाउने शब्द, नाउँ आदि ।’ 

त्यस्तै, ‘काढ्नु’ शब्दको अर्थ यस्तो छ– उखेल्नु, थुन्नु, फुकाल्नु, हटाउनु, निकाल्नु, झिक्नु, निचोर्नु आदि । 

यसर्थ, ‘नाम काढ्नु’को अर्थ लाग्छ– नामलाई क्षति पुर्‍याउनू । 

मान्छेले अरुको नाममा क्षति पुर्‍याउन किन चाहन्छ ? मानिसले कतिपय अवस्थामा आफ्नै नाममाथि पनि किन क्षति पुर्‍याउन पुग्छ ? किनभने, मानिसले यो व्यवहार अज्ञानता र अहंका कारण गर्न पुगेको हुन्छ । आफूलाई ठूलो देखाउन वा आफ्नो अस्तित्व साबित गर्न मानिसले अर्को मानिसलाई निचोर्न वा थुन्न खोज्छ । जस्तो कि यहाँ आफू कथित ठूलो जात हुन कोही सानो जात भइदिनैपर्छ ।

अज्ञानी र अन्यायी मान्छेले सकेसम्म अर्को मान्छेलाई जोताउन चाहन्छ, आफू चढ्ने गाडा तान्न लगाउन चाहन्छ, आफूले भनेको मान्ने बफादार बनाउन चाहन्छ, आफूले मिठोमसिनो खाएर अर्कोलाई सिनो खुवाउन चाहन्छ र त आफ्नो चाहना बमोजिम नभएपछि उस्तै स्वभावको पशुको संज्ञा दिएर सम्बन्धित व्यक्तिलाई गाली गर्छ– गोरु, गधा, कुकुर, गिद्ध । 

मान्छेका लागि नाम शब्द एउटा विश्वास समेत हो । यसले कुनै व्यक्तिको छवि र शक्तिलाई दर्शाउँछ । त्यसैले मानिस नाम बनाउन मरिहत्ते गरिरहेछ । बाहिरबाट मानव समाज जतिसुकै सुन्दर देखियोस्, आदर्श लागोस्– भित्रभित्र संसारको सारा राजनीति अन्ततः नाम बनाउनमै, जोगाउनमै र अर्काको नाम बिगार्नमै केन्द्रित छ । किनभने नाम शब्दको शक्ति तब बढ्छ, जब यो कुनै पद वा अवस्थासँग जोडिएर आउँछ । आफ्नो अवस्था परिवर्तन गर्न नै मानिस लडिरहेछ । यद्यपि कुनै नाम यस्ता हुन्छन्, जो स्वयं पद हुन्छन् । निष्काम भई लोकहितका काम गर्दै जाँदा यस्ता नाम बन्न पुगेका हुन्छन् । यसका लागि व्यक्तिले कठोर साधना वा संघर्ष गर्नुपर्ने हुन्छ । 

शासकहरूका लागि नाम मात्रै होइन, गोत्र परिवर्तन गर्नु ठूलो कुरा थिएन । पृथ्वीनारायण शाहले आठटीकालाई एक बनाउन काशी पुगेर आफ्नो गोत्र परिवर्तन गरे र भारद्वाज गोत्रबाट काश्यप गोत्रधारी भए । यो प्रसंग बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ लगायत पुस्तकमा आएका छन् ।

समाजमा नाम बनाउने एउटा कुरा भयो, मानिसले एउटा सम्मानजनक नाम पाउनु जन्मसिद्ध अधिकार हो । नाम ठूलो होस् वा सानो, कसैले पनि आफ्नो नाम बिगार्न वा बेच्न चाहन्न । त्यसैले त भनिन्छ– त्यसमा मेरो नाम किन जोडिस् ? मेरो नाम किन बदनाम गरिस् ? बाउको नाम बेचेर खाइस् ! फलानो व्यक्तिलाई भेटेर मेरो नाम लिनू, आदि ।’

कसैको प्रभाव र प्रताप बताउनुपर्दा भनिन्छ– उसको नामको सिक्का चल्छ । हिजो राजाहरूले पनि आफ्नो नामको सिक्का जारी गरेका थिए । 

राजाहरूको प्रसंग आउँदा नामलाई प्र्रतापी बनाउने अनेक विशेषण जोडेको पाइन्छ । नेपालका राजाहरूको नाममा वीरविक्रम र देव समेत जोडिएको छ । यस सम्बन्धमा मंगलबार दिनेशराज पन्तले टेलिफोनमार्फत भने, ‘नाममा विक्रमचाहिँ गीर्वाणयुद्धका पालादेखि जोडिन थालेको हो । वीरचाहिँ राजा पृथ्वी वीरविक्रम शाहका पालादेखि जोडिएको हो । राजाहरूको प्रशस्तिमा देव आउन थालेको पहिलेदेखि नै हो ।’ 

शासकहरूका लागि नाम मात्रै होइन, गोत्र परिवर्तन गर्नु ठूलो कुरा थिएन । पृथ्वीनारायण शाहले आठटीकालाई एक बनाउन काशी पुगेर आफ्नो गोत्र परिवर्तन गरे र भारद्वाज गोत्रबाट काश्यप गोत्रधारी भए । यो प्रसंग बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ लगायत पुस्तकमा आएका छन् ।

रिसको झोँकमा घृणा गर्नुपर्दा मान्छेले अर्को मानिसलाई तुच्छ ठानिएका शब्दले गाली गर्छ र गाली गरेर पनि स्वाद नपुगे उसको नाममा, ऊतिर फर्केर वा ऊमाथि नै थुक्छ । अझ अगाडि बढेर मूत्रत्याग गर्न सक्छ । यसको सामाजिक मनोदशा पनि गज्जबको छ । समाजले सबैभन्दा नीच अंग यौनांगलाई र सबैभन्दा नीच कार्य यौनकर्मलाई मानेको छ । त्यसैले त गाली गर्दा यिनै अंग र यिनै अंंगका कार्य झल्कने शब्द प्रयोग गरिन्छ । अर्को मनोवैज्ञानिक तथ्य छ, गाली पनि पितृसत्तामा आधारित छ । पुरुषले घृणा गर्नुपर्दा अर्को पुरुषलाई यति सानो सम्झन्छ, त्यो पुरुष आफ्नी श्रीमतीको भाइ हो, अर्थात् सालो हो । त्यसकी दिदीसँग यौनसम्बन्ध राख्न ऊ हकदार छ र त हरेक गालीका शब्दको अगाडि लगाउँछ– साला । 

हिजो मान्छेले अपराधमा यस्तै कर्म गथ्र्यो, कानुन पनि यस्तै बनेका थिए । जंगबहादुरको मुलुकी ऐन– १९१० मा ‘पादन्याको’ (पाध्नेको), थुकन्याको (थुक्नेको) लगायत महल छन् । पादन्याको महलमा उल्लेख छ– ‘तागाधारी लगायत चारवर्ण छत्तिसै जात गैह्र कसैले आफू मिल्दा जातका र आफूभन्दा घटी जातका मुखमा पाध्यो भने ५ रूपैयाँ दण्ड गर्नु, चार आना लिई पतिया दिनू ।’

त्यस्तै, ‘नाल नरक’ महलमा उल्लेख छ, ‘तागाधारी क्षत्री जातले अर्का लोग्न्या स्वास्नी मानिसलाई मुखभित्र लिंग हाली वीर्य झार्‍यो वा झर्‍याको वीर्य खुवायो भन्या र तागाधारी क्षत्रिनीले रज खुवाइ छ भन्या उपाध्या रजपूत जैसीलाई खुवाउन्यालाई पाँच सय, तागाधारी क्षत्री जातलाई खुवाउन्यालाई चार सय, नमासिन्या मतुवाली जातलाई खुवाउन्यालाई दुई सय ५०, मासिन्या मतवाली जातलाई खुवाउन्यालाई दुई सय, पानी नचल्न्या जातलाई एक सय ५०, छिटो हाल्नुपर्न्या जातलाई खुवाउन्यालाई सय रूपैयाँ दण्ड गर्नू । रूपैयाँ नतिर्‍या अ‍ैन बमोजिम गर्नू ।’

मनुस्मृति, जयस्थितिको मानवन्यायशास्त्रदेखि जंगबहादुरको कानुनसम्ममा यस्ता यौनजन्य अपराधका धेरै प्रसंग छन्, सजाय जात वा वर्ण अनुरूप छन् । यी सबैले हाम्रो सभ्यतालाई दर्शाउँछन् । 

नामको महिमा 

कसैको नाम लिँदाबित्तिकै हाम्रो दिमागमा के आउँछ ? नाम लिइएको व्यक्ति आफूले चिनेको, भेटेको, जानेको हो, नभेटे पनि तस्बिर देखेको हो भने उसको रूप अगाडि आउला । अथवा उसको कुनै काम, कृति वा व्यवहार अगाडि आउला । भेटेको छैन तर स्वर सुनेको छ भने हाम्रो कल्पनामा उसको स्वर आउला । वा उसको बारेमा कुनै राम्रो–नराम्रो कथा सुनेको छ भने सोही हाम्रो कल्पनामा आउला । 

व्यक्तिको नामले व्यक्तिलाई व्यक्तित्वसहित चिनाउँछ । अर्थात् गुण, स्वभाव, व्यवहार, कर्म लगायत दर्शाउँछ । समाजमा हरेक मान्छेको एउटा न एउटा छवि वा चरित्र निर्माण भएकै हुन्छ, त्यो असल वा खराब जस्तोसुकै होस् । 

भाषाको उत्पत्तिपछि मानिसको मन बहलाउने विषय बन्न पुग्यो– कथा । मानिसले प्रकृति र समाजसँग संघर्ष गर्दै जाँदा आफ्नो कथा बनायो र नयाँ–नयाँ काल्पनिक कथा पनि रच्न थाल्यो । ती कथामा समाजका वर्चश्वशाली व्यक्तिको जीवनी र चरित्र आउँछन् । हाम्रा अधिकांश अनुष्ठान देवी, देउता वा पुर्खाकै नाम वा सम्झनामा छन् । 

अधिकांश मन्त्रहरू समेत देवीदेउताका नाममा छन् । शत्रुलाई परास्त गर्ने मन्त्र साधना गर्दा शत्रुकै नाम उच्चारण गरिन्छ । एक अक्षरको बीज मन्त्रलाई देवी–देउताकै नाम जोडेर अथ्र्याइन्छ । 

नाम यति पवित्र र खास चरित्र बुझाउने होस्, जसको मन्त्र बनोस् । त्यसैले त मान्छेहरू भन्छन्– तिम्रो नाम जप्दैछु । वा, पख् तँलाई मेरो नाम जप्ने बनाउँछु । विशेषतः यी शब्द प्रेमको मामिलामा बढी प्रयोग हुन्छन् । 

जोकोही व्यक्ति नामले बोलाउँदा नै खुसी हुन्छ, तर उसको नाम अपमानजनक हुनुहुँदैन । कसैलाई नामको पछाडि वा अगाडि सम्मानसूचक शब्दको प्रयोग गर्नुपर्ने पनि हुन सक्छ । 

हरेक व्यक्तिको सम्मानमै मानवताको महिमा र गरिमा छ । त्यसैले हामी सबैको सम्मानजनक नाम होस् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।