शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत प्राधिकरणको नाफा १६ अर्ब पुग्यो, विद्युत  चुहावट १५.३८ प्रतिशतमा झर्‍यो

बुधबार, २५ साउन २०७९, १७ : ५५
बुधबार, २५ साउन २०७९

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा  ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ । 

‘ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढ्यो,विद्युत निर्यात बृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा  प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने

आव २०७२÷७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो । 

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो । 

विद्युत चुहावट १५.३८ प्रतिशतमा झर्‍यो  

प्राविधिक तथा गैह्रप्राविाधिक चुहावट नियन्त्रण गर्न संचालन गरिएका अभियानबाट विद्युत् चुहावट १५.३८ प्रतिशतमा झारिएको छ । विद्युत प्रणालीमा आव ०७२/७३ मा २५.७८ प्रतिशत चुहावट रहेकोमा त्यसपछिका वर्षहरुमा निरन्तर घटाएर आव २०७६/७७ मा १५.२५ प्रतिशतमा झारिएकोमा आव ०७७/७८ भने बढेर १७.१८ प्रतिशत पुगेको थियो । आव २०७८/७९ मा चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाइ चुहावट अघिल्लो वर्षको तुलनामा एक दशमलव ८० प्रतिशत विन्दुले घटाएर १५.३८ प्रतिशतमा  झारिएको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘चुहावट नियन्त्रणबाट मात्र प्राधिकरणलाई अघिल्लो वर्षको तुलनामा करिब २ अर्ब रुपैयाँ थप आम्दानी भएको छ, चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महसुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन  ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा अझै थप प्रभावकारी र व्यवस्थित रुपमा चलाउँछौं’, उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप