शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा छाडेका पूर्वमन्त्री महिन्द्र राय यादवलाई चुनाव जित्न गठबन्धनकै भर

बुधबार, २५ साउन २०७९, १६ : २९
बुधबार, २५ साउन २०७९

जनता समाजवादी पार्टी नेपाल छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका महिन्द्र राय यादव आसन्न प्रतिनिधिसभा निर्वाचनमा कहाँबाट उम्मेदवारी दिन्छन् भन्ने प्रस्ट भइसकेको छैन । अघिल्लो निर्वाचनमा उनी सर्लाही क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

पहिलो र दोस्रो संविधानसभाको चुनाव सर्लाहीबाटै जितेका उनलाई सत्तारुढ गठबन्धनका कारण यसपटक कठिन हुने देखिन्छ । नेपाल समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादव चुनाव जित्नकै लागि सत्ता गठबन्धनमा सामेल हुन कसरत गरिरहेका छन् ।

सो पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उनी हालै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी गठबन्धनमा सामेल हुने सन्दर्भमा छलफल गरेको बताइएको छ । प्रधानमन्त्री देउवाले पनि उनीहरुलाई सकारात्मक आश्वासन दिएको जनाइएको छ ।

जसपा छाडेपछि संकट

पटकपटक निर्वाचन जितेका महिन्द्र राय यादवलाई जसपा छाडेपछि चुनाव जित्न कठिन देखिएको हो । सर्लाहीका प्रदेशसभा सदस्य संजय यादव भन्छन्, ‘जसपामा हुँदा उहाँको सम्भावना निकै थियो तर पार्टी छाडेर गएपछि उहाँलाई चुनाव जित्न कठिन छ ।’

सोही क्षेत्रका अर्का प्रदेशसभा सदस्य अशोक यादव पनि महिन्द्र राय यादव जसपा छाडेर गएपछि कमजोर बनेको बताउँछन् । उनले भने, ‘यहाँ जसपाबाट प्रतिनिधिसभाका लागि एकमात्र उम्मेदवार उहाँ नै हुनुहुन्थ्यो तर पार्टी नै छाडेर गएपछि जसपाले अरुलाई उम्मेदवारका रुपमा अघि सार्छ ।’

महिन्द्र राय यादवका प्रेस सल्लाहकार सत्यप्रकाश यादव भने पार्टी छाडे पनि मत नघटेको दाबी गर्दछन् । उनी भन्छन्, ‘मन्त्रीज्यू (महेन्द्र यादव)ले जसपा छाडे पनि उहाँको मत घटेको छैन । सर्लाही क्षेत्र नम्बर २ मा उहाँको आफ्नो छुट्टै पहिचान छ, चुनावमा उहाँलाई पार्टीको मतमात्र होइन, हरेक पार्टीको मत उहाँलाई आउने गरेको छ ।’

के छ तथ्याङ्क ?

सर्लाही क्षेत्र नम्बर २ मा पाँचवटा पालिका छन् भने अन्य पालिकाका विभिन्न आठ वटा वडा पनि पर्दछन् । पाँचवटै पालिका यसपटक काँग्रेस जितेको छ भने ४९ वडामध्ये अधिकांशमा काँग्रेसले पकड बनाएको छ ।

सो क्षेत्रमा रहेको हरिपुर्वा नगरपालिकामा काँग्रेसले मेयरमा जितेको छ भने प्रतिस्पर्धामा जसपा नै छ । पाँच हजार ९९ मत ल्याएर मेयरमा काँग्रेसले जित्दा जसपाले तीन हजार ४९५ मत ल्याएको छ । यहाँ लोसपा तेस्रो, एमाले चौथा र जनमत पार्टी पाँचौ स्थानमा छन् ।

त्यस्तै, पर्सा गाउँपालिका पनि काँग्रेसले नै जितेको छ । त्यहाँ काँग्रेसले दुई हजार चार सय ६६ मत ल्याउँदा जसपाले एक हजार ८५८ मत ल्याएको छ । यहाँ लोसपा तेस्रो, माओवादी केन्द्र चौथो स्थानमा छ । ब्रहमपुरी गाउँपालिका पनि काँग्रेसले जितेको छ । काँग्रेसले चार हजार ६६८ मत ल्याउँदा लोसपाले तीन हजार २७१ मत ल्याएको छ । यहाँ जसपा तेस्रो स्थानमा छ भने माओवादी केन्द्र चौथो स्थानमा छ ।

मंलगवा नगरपालिका पनि काँग्रेसले जितेको छ । यहाँ काँग्रेसले नौ हजार ७८ मत ल्याएको छ भने प्रतिस्पर्धामा रहेको जसपाले चार हजार ६३९ मत ल्याएको छ । यो पालिकामा एमाले तेस्रो, माओवादी केन्द्र चौथो स्थानमा छ । त्यस्तै, कौडेना गाउँपालिका पनि काँग्रेसले नै जितेको छ । सो गाउँपालिकाको अध्यक्षमा काँग्रेसले पाँच हजार २८१ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा रहेको जसपाले दुई हजार ४४१ मत ल्याएको छ । यहाँ लोसपा तेस्रो र जनमत चौथो स्थानमा छन् ।

स्थानीय तहको मत परिणाम हेर्दा सो क्षेत्रमा अहिले काँग्रेस बलियो देखिएको छ । स्थानीय तहमा ल्याएको मतको आधारमा पनि त्यहाँ गठबन्धनबाट काँग्रेसले टिकट पाउनुपर्ने दाबी गरिरहेको छ । यसअघिको प्रतिनिधिसभा चुनावमा सो क्षेत्रमा काँग्रेसका जंगीलाल राय यादव उनै महिन्द्र राय यादवसँग पराजित भएका थिए ।

२०७४ को प्रतिनिधिसभा चुनावमा महिन्द्र राय यादवले २९ हजार १९१ मत ल्याएका थिए भने जंगीलाल राय यादवले १८ हजार ९७६ मत ल्याएर दोस्रो स्थानमा रहे । काँग्रेसबाट यसअघि प्रतिस्पर्धी उम्मेदवार भएको कारणले जंगीलाल रायले नै यस पटक टिकटको दाबी गरेका छन् । जंगीलाल भन्छन्, ‘सर्लाही–२ मा पर्ने सम्पूर्ण नगरपालिका तथा गाउँपालिका काँग्रेसले जितेको छ । अधिकांश वडा पनि काँग्रेसले जितेको छ भने गठबन्धनबाट स्वाभाविक रुपमा काँग्रेसले नै टिकट पाउनुपर्छ ।’

उनले यसअघि आफू दोस्रो स्थान हासिल गरेको बताउँदै पाँच वर्षमा आफूले निकै मेहनत गरेको कारण सो क्षेत्रमा काँग्रेसले यो जित हासिल गरेको दावी गरे । गठबन्धनबाट आफूले नै टिकट पाउने दाबी गर्दै उनले पार्टीले गर्ने निर्णयको प्रतिक्षा गरिरहेको बताए ।

काँग्रेसबाट सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न नागेन्द्रराय यादवले पनि पहल गरिरहेका छन् । उनी अहिले समानुपातिक सांसद हुन् । उनले टिकट पाए चुनाव लड्न तयार रहेको बताउँदै आएका छन् ।

बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई गठबन्धनमा समेट्ने भरोसा दिएका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका आकांक्षी मध्येबाट सो क्षेत्रमा उम्मेदवार बनाउँछन् या गठबन्धनको नाममा पार्टीको पकड क्षेत्रमा महिन्द्रा राय यादवलाई उम्मेदवार बनाउँछन् भन्ने विषय निकै चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप