छ अर्बको स्याउ आयात : मुस्ताङको स्याउलाई ‘कोल्डस्टोर’

person explore access_timeसाउन २५, २०७९ chat_bubble_outline0

रसिला र स्वादिला स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएपछि नेपाली उपभोक्ताहरुले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाउने भएका छन् ।


मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको हो ।



मुस्ताङ घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले रु १६ लाखको कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्दै आएका छन् । उनले एप्पल जोन कार्यक्रमबाट रु आठ लाख अनुदान पाएपछि रु आठ लाख थपेर कोल्डस्टोर खरिद गरेको जानकारी दिए । “कोल्डस्टोर नहुँदा बिक्री नभएका स्याउहरु कुहिएर खेर जाने र लामो समयसम्म राख्न नहुने समस्या हुन्थ्यो तर अब  त्यो समस्या हटेको छ”, उनले भने ।



सरकारले मुस्ताङलाई स्याउ जोनका रुपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थालेपछि सो जिल्लाका स्याउ कृषकहरु हौसिएका छन् । मल, बिरुवा, कोल्डस्टोर, ढुवानी तथा औषधी खर्च अनुदानमा प्राप्त गर्न थालेपछि स्याउ उत्पादक कृषकहरुलाई सजिलो भएको किसान गुरुङले बताए ।



स्याउका लागि मल खरिद गर्न आफूले यो वर्ष कृषि ज्ञान केन्द्रबाट रु १७ हजार, एक हजार पाँच सय स्याउका  बिरुवाहरु र ढुवानी तथा औषधोपपचारका लागि  भनेर रु ३५ हजार पनि  अनुदान पाएको उनको भनाइ छ ।

मुस्ताङको एक हजार दुई सय हेक्टर जमिनमा अहिले व्यावसायिकरुपमा स्याउ खेती गरिएको छ । करिब छ सय हेक्टर जमिनमा रहेका बोटबाट किसानले उत्पादन लिन थालेका र  बाँकी सात हेक्टर जमिनमा नयाँ बिरुवा लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमै स्याउका बिरुवासमेत उत्पादन हुन थालेपछि सजिलो भएको किसानहरुको भनाइ रहेको छ । यहाँ पाउने स्याउ धेरै प्रजातिका छन् । रङ्गको हिसाबले सेतो र रातो स्याउ मुस्ताङमा पाइन्छन् । २०२३ सालमा मुस्ताङको मार्फामा बागवानी केन्द्र स्थापना भएपछि मुस्ताङमा स्याउ खेतीप्रति आकर्षण बढेको हो । सोही केन्द्रसँगको सम्पर्कमा आएका किसानले काश्मिरे स्याउको प्रतिस्थापन गर्न मुस्ताङमा स्याउ फलाउन थाले । मुस्ताङबाट सुरु भएको स्याउखेती अहिले देशभर फैलिएको छ ।

मुस्ताङ जिल्लामा स्याउ उत्पादन गर्न कठिन नभए पनि बजारीकरणका लागि यातायातको निकै समस्या रहेको स्याउ कृषक टीका शेरचनले बताए । “सरकारले पछिल्लो समय अनुदान वृद्धि गरेर सजिलो त भएको छ तर, कठिन भूगोलका कारण ढुवानी र बजारीकरणमा समस्या छ”, शेरचनले भने ।

हिमालपारिको जिल्ला मुस्ताङलाई देशका विभिन्न सहरहरुसँग जोड्ने एक मात्र स्थलमार्ग बेनी–जोमसोम सडक स्तरोन्नतिकै चरणमा रहेकाले ढुवानीका लागि सजिलो नभएको कृषकहरुको गुनासो छ । मुस्ताङमा हिउँ पहिरो जाने, पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने जस्ता समस्याले गर्दा यहाँ उत्पादित स्याउ उपभोक्ताले चाहेको समयमा पाउन नसकेका गुरुङले बताए । एक सिजनमा एक सय ५० टनदेखि दुई सय टनसम्म स्याउ उत्पादन गरी बिक्री गर्दै आएको गुरुङले बताए । स्याउ बिक्रीबाट नै अहिलेसम्म एक करोड जतिको सम्पत्ति जोडेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका अनुसार हरेक वर्ष मुस्ताङी किसानले कम्तीमा पनि पाँच हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् । उत्पादनका हिसाबले ५० देखि ७० करोडको स्याउ मुस्ताङबाट हरेक वर्ष निर्यात हुने गरेको तथ्याङ्क छ । नेपालमा वर्षमा झण्डै छ अर्ब रुपैयाँभन्दा धेरैको स्याउको कारोबार हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कले देखाउँछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।