शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोजपुरमा पूर्वमुख्यमन्त्री र बहालवाला मुख्यमन्त्रीको भिडन्त, के होला परिणाम ?

किराँत समुदायको वर्चश्व रहेको भोजपुरबाट प्रतिनिधिसभामा सोही समुदायका चार नेता अग्रसर
बुधबार, ०१ भदौ २०७९, १८ : ३६
बुधबार, ०१ भदौ २०७९

पूर्वी पहाडी जिल्ला भोजपुरमा संघीय निर्वाचन क्षेत्र एउटा छ । उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न चार जना आकांक्षी छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई,  वर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ सो क्षेत्रबाट उम्मेदवारको दौडमा छन् ।

यस्तै नेपाली काँग्रेसका यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका उमेशजंग रायमाझी पनि चुनावी दौडमा छन् । राईहरूको दबदबा रहेको भोजपुरमा शेरधन राईले यसअघि नै आफू संघीय संसदमा उठ्ने बताइसकेका छन् । ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई ०६४ सालको संविधानसभाको निर्वाचनमा भने पराजित बनेका थिए । उनी दोस्रो संविधानसभा निर्वाचनमा पुनः विजयी बन्दै सञ्चारमन्त्रीको समेत भूमिका निर्वाह गर्ने अवसर पाएका थिए ।

संघीयताको कार्यान्वयनसँगै भएको ०७४ सालको निर्वाचनमा भने एमाले र माओवादी केन्द्रबीच बनेको वाम गठबन्धनको उम्मेदवार बन्दै उनी भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) बाट अत्याधिक मत ल्याएर विजयी बनेका थिए । उनले २० हजार ३३४ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनका उम्मेदवार बनेका काँग्रेसका गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मतमात्रै ल्याएका थिए ।

त्यसपछि नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा अप्रत्यासित जित हात पार्दै राई प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए । उनले झण्डै साढे ३ वर्ष मुख्यमन्त्रीको भूमिका निर्वाह गरे । शालिन र सन्तुलित भूमिकामा रहन रुचाउने उनलाई प्रदेश १ को मुख्यमन्त्री रहँदा प्रदेशको नाम दिन नसकेको आरोप लागिरहेको छ । उनले यसअघि नै विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफू संघीय सांसदको लागि निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

उनी निकट स्रोतका अनुसार राई अहिले एमालेविरुद्ध गठबन्धन भए धेरै मतले आफू हार्न सक्ने आकलनसहित निर्वाचन जित्ने रणनीति बनाउन व्यस्त छन् । त्यही रणनीति अनुसार केही दिन अगाडि जसपाका थुप्रै नेता तथा कार्यकर्ता उनले एमालेमा भित्र्याएका थिए । ‘गठबन्धन हुँदा एमालेको भन्दा १४ हजार बढी मत अन्तर देखिएको छ,’ उनी निकट स्रोतले भन्यो, ‘भर्खरै जसपाबाट आएकाहरुको कारण त्यो अन्तर १ हजारले कम भएको छ, उहाँको पर्सनल २÷३ हजार मत बढी आउँदा पनि जित निकाल्न भने कठिन छ ।’

गठबन्धन नभएको खण्डमा उनलाई निर्वाचन जित्न केही सहज देखिन्छ । यता, बाहलवाला मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईले पनि संघीय संसदमा चुनाव लड्ने इच्छा रहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै राईले ‘प्रदेशको मुख्यमन्त्री भइसकेको अवस्थामा अब संघीय संसदमा जाने’ बताएका थिए ।

विद्यार्थी राजनीतिबाट उदाएका राई नेकपा एमाले विभाजन नभएको भए मुख्यमन्त्री बन्ने सम्भावना कम थियो । त्यही भएकाले उनी बेलाबेला भन्छन्, ‘मैले यही कार्यकालमा मुख्यमन्त्री बन्छु भन्ने सोचेको पनि थिइनँ ।’ उनै राईले भोजपुरबाटै चुनाव लड्ने बताइरहे पनि गठबन्धनबीच सिट बाँडफाँट हुँदा प्रतिनिधिसभा क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा पर्ने सम्भावना कम देखिन्छ । किनकि नेकपा एकीकृत समाजवादीको भन्दा बलियो जनाआधार भएका गठबन्धन दलका काँग्रेस र माओवादी केन्द्रले उक्त क्षेत्र छाड्न सहजै मान्ने अवस्था देखिँदैन ।

२०७४ को निर्वाचनमा भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) मा वाम गठबन्धनको तर्फबाट राईले १९ हजार २९७ मत ल्याउँदा काँग्रेस र जसपाको गठबन्धनबाट अजम्बर राई काङमाङले ११ हजार ५४१ मत ल्याएका थिए । काङमाङ हाल माओवादी केन्द्रमा छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर राई काङमाङले पनि आफ्नो इच्छा संघीय संसदमा लड्ने रहेको बताए । ‘मेरो पहिलो चाहना भनेको संघमै लड्ने हो, तर पार्टीभित्रको सहमति र गठबन्धनबीचमा हुने वृहत्तर सहमतिले त्यसको निर्धारण गर्छ,’ उनले भने, ‘होइन भने अर्को ढंगले पनि सोच्न सकिन्छ ।’

संघमा यसअघि जितेको र स्थानीय तहको निर्वाचन २०७९ मा पनि उल्लेख्य मत ल्याएको कारण आफूहरुले प्रतिनिधिसभा निर्वाचनमा आफूहरुले उम्मेदवारी पाउनुपर्ने काङ्माङ बताउँछन् ।

यता, राष्ट्रिय राजनीतिमा उदयीमान युवा नेताको छवि बनाएका सुदन किराँती पनि भोजपुरबाटै संघीय संसदमा निर्वाचन लड्ने सशक्त दाबेदार हुन् । माओवादी जनयुद्धको समयमा जेलनेल भोगेका उनी पछिल्लो समय लोकप्रिय छन् । निर्वाचन जितेर पनि आफ्नो क्षेत्रमा जाने, जनताको आवाजलाई संसदमा सशक्त रुपमा प्रस्तुत गर्ने र राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दामा फरक ढंगले प्रस्तुत हुने किराँती सामाजिक सञ्जालमा छाइरहेका हुन्छन् । उनी बेलाबेलामा आफ्ना पार्टीका शीर्ष नेताहरुले गरेका गलत क्रियाकलापको पनि आलोचना गरिरहन्छन् ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता शेरधन राईलाई हराएर विजयी भएका किराँती दोस्रो संविधानसभा निर्वाचनमा भने उनै राईसँग पराजित बनेका थिए । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता किराँतीले ३४ हजार ३९४ मत ल्याउँदा काँग्रेस र जसपासहितको गठबन्धनमा काँग्रेसका उम्मेद्वार उमेशजंग रायमाझीले २१ हजार ६९६ मतमात्रै ल्याएका थिए । त्यसबेला नेपाल कम्युनिष्ट पार्टी (माले)का अनिल बस्नेतले २ हजार ६०१ मत ल्याएका थिए ।

किराँतीले आफू पटकपटक चुनाव लडेको र अब कति पटक लड्नु भन्ने खालको अभिव्यक्ति पनि दिएका छन् । ‘तीन पटक त चुनाव लडियो, अझै कति लड्नु जस्तो पनि लागेको छ,’ उनले भने ।

यद्यपि किरातीले सांसदमात्रै बन्नका लागि चुनाव नलड्ने बताउन थालेको उनी निकट स्रोतले बतायो । एक पटक निर्वाचन जितेर संघीय मन्त्री बन्ने उनको धोको रहेको उक्त स्रोतको दाबी छ । गठबन्धन गर्दा पनि भोजपुर माओवादीले पाउने सम्भावना बलियो भएको क्षेत्र हो । आफ्नै पार्टीका अर्का नेता अजम्बर काङमाङलाई उक्त क्षेत्र छोड्नु पर्ने अवस्थामा आफू प्रदेश १ को मुख्यमन्त्री बन्नुपर्ने दाबी किराँतीले गरेको बताइएको छ ।

स्थानीय तह निर्वाचन परिणाम यस्तो छ

गत वैशाख ३० गते सम्पन्न निर्वाचनको वडाध्यक्षको मत परिणाम अनुसार जिल्लामा एमाले ठूलो पार्टी छ । एमालेले जम्मा २७ हजार ६५६ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २३ हजार ५९१ र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको १४ हजार ७५८ मत छ ।

चौथो र पाँचौंमा रहेका नेकपा एकीकृत समाजवादी र जसपाको क्रमशः १ हजार ९४५ र १ हजार ४९८ मत छ ।

अहिलेका सत्ता गठबन्धन दलहरु मिलेको खण्डमा एमालेलाई भोजपुरमा कठिन हुने देखिन्छ । स्थानीय मत परिणाम अनुसार गठबन्धन चार दल काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको मत जोड्दा ४१ हजार ७२९ मत हुन्छ भने एमालेको त्यो भन्दा १४ हजार कम अर्थात् २७ हजार ६५६ मत रहन्छ ।

भोजपुर जिल्लाको वडागत मत परिणाम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप