बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको कल सेन्टरबाट ६८२ जना अमेरिकन ठगीको शिकार, एफबीआइले अनुसन्धान गर्दै

बुधबार, २५ साउन २०७९, १३ : ३१
बुधबार, २५ साउन २०७९

काठमाडौंमा कल सेन्टर खोलेर अमेरिकामा ठगि गरेको आरोपमा साइबर ब्यूरोले २०७९ असार पहिलो साता धुम्बाराहीस्थित ‘अर्बिट नेक्सस प्रालि’ मा छापा मारेको थियो । १३ जना पक्राउ परेका थिए ।
साइबर ब्यूरोले गरेको अनुसन्धानबाट ६८२ जना अमेरिकी नागरिक ठगिएको थाहा भएको छ । नेपालमा बसेर विद्युतीय माध्यमबाट ६८२ जना अमेरिकी नागरिकलाई ठगेको अनुसन्धानबाट थाहा भएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।  

अमेरिकन नागरिक ठगिएको घटनामा अमेरिकन प्रहरीको फेडेरल ब्यूरो अफ इन्भेष्टिगेसनले पनि अनुसन्धान शुरु गरेको छ । साइबर ब्यूरोसँग समन्वय गरेर एफबीआइले पनि अनुसन्धान गरिरहेको सो घटना अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । एफबीआइको एउटा टिम सो घटनाबारे अनुसन्धान गर्न काठमाडौंमा आएको छ ।

कल सेन्टरको आवरणमा ठगी गरेको आरोपमा पक्राउ परेकालाई नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । कल सेन्टर सञ्चालक मध्येका दुईजना भारतीय नागरिकलाई अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । उनीहरु हुन्, कल सेन्टरको सुपरभाइजर ३२ वर्षीय निशान्त अनिल खैरे र कामदार मनिटर गर्ने २४ वर्षका मनिष तिवारी ।

‘अर्बिट नेक्सस प्रालि’को सञ्चालकको भुमिकामा देखिएका बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले ३ लाख धरौटीमा रिहा गरेको छ । घटना अनुसन्धानका लागि इन्टरपोलको सहयोग मागिएको साइबर ब्यूरोका एसएसपी अर्यालले जानकारी दिए । उनले भने–‘६८२ जना अमेरिकन र १८ जना क्यानडाका नागरिक ठगिएको भेटियो, हामीले इन्टरपोललाई त्यसबारे थप अनुसन्धान गर्न पत्राचार गरेका छौं ।’

एफबीआइले ब्यूरोसँग ठगीमा पर्नेहरू र आरोपीहरुको विवरण लिएर अनुसन्धान थालेको छ । भारतमा हेडक्वार्टर राखेर कल सेन्टर सञ्चालकले कर्मचारीमार्फत माइक्रोसफ्ट कम्पनीको कल सेन्टरको नाममा कम्प्यूटर र ल्यापटप जस्ता विद्युतीय सामग्रीमा सुचना पठाएर फिसिङ गर्थे । अनि, युजरको डिटेल लिएपछि ह्याक गरेर बैंक खाताको रकम ट्रान्सफर गर्ने गरेको अनुसन्धानबाट थाहा भएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए ।

अमेरिकामा पेन्सन लिएर बसेकाहरुको सूचना टेलिग्राम एपमार्फत भारतमा पठाएर पैसा जम्मा गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ब्यूरोले नियन्त्रणमा लिएको १० जना कल सेन्टरका कामदार साधारण तारेखमा रिहा भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप