आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

अवसर छोप्ने कि यदुवंशी भएर सकिने ?

बुधबार, २५ साउन २०७९, १२ : २७
बुधबार, २५ साउन २०७९

नेपालको कम्युनिष्ट आन्दोलनको शक्तिलाई विभाजित गर्ने र तिनै विभाजित पार्टीका नेताहरुको उपयोगमार्फत आफनो शक्ति सिर्जना गर्ने काममा अहिलेको सरकार र सरकारको नेतृत्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसले मज्जाले गरिरहेको छ ।

नेपाली काँग्रेसका अधिकांश नेताहरु संसारमा कम्युनिष्ट पार्टीहरु उहिले समाप्त भैसकेको र नेपालमा कम्युनिष्ट पार्टीहरुले दुई तिहाईको सरकार सञ्चालन गर्न असक्षम भएपछि नेपालमा पनि कम्युनिष्ट पार्टीहरु समाप्तीतिर अघि बढिरहेको अभिव्यक्ति दिदै विभाजित कम्युनिष्ट पार्टीहरुलाई मज्जाले उपयोग गरिरहेको छ । र, निकट भविष्यमा विभाजित आन्दोलनलाई एकतावद्ध बनाएर लैजान नसक्ने हो भने आगामी केही दशकसम्म उनीहरुको उपयोग गरिरहने निश्चित छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गरिएको मोर्चाबन्दीले केपी ओली र उनको पार्टी एमालेलाई साइजमा ल्याउन त सकिएला, एमालेलाई बहुमत ल्याउनवाट रोक्न सकिएला । तर, अरुलाई साइजमा ल्याउने एकमात्र मिसनभित्र जन्मिने नेपाली काँग्रेसको सर्वसत्तावादले कमरेडहरु प्रचण्ड र माधव नेपालहरुलाई इतिहासमा कहिल्यै ठाडो नउठ्ने गरी ठेगान लगाइ सकेको हुनेछ ।

नेपालको भूराजनीतिक अवस्थामा असन्तुलन र देशको अर्थतन्त्रले कगांलीको दिशा समात्नेछ र नेपालका श्रमजीवि, सिमान्तीकृत किसान मजदुरहरु राज्यका सेवा सुविधावाट धेरै टाढा लैजानेछ । नेपालको संविधानले तय गरिएको समाजवादी अर्थतन्त्रको बाटो भत्किएर निजीकरण र उदारीकरणको गोरेटो तय गरिसक्नेछ ।

मिलेर सँगै बस्न नसक्ने, विभाजित भएर एकले अर्कोलाई देखाई दिने, पार्टीका नेताहरु हास्यब्यंग्यका पात्र बन्ने छन् । र, जब सबै समाप्त हुन्छ, त्यसपछि आत्मलोचना गर्ने नेपालका कम्युनिष्टहरुको पुरानै रोग हो । यो रोगले नेपालको कम्युनिष्ट आन्दोलनलाई घरी घरी थला पारेको छ र देशको राष्ट्रियता, सार्वभौमसत्ता माथिको खतरा निम्त्याएको छ । नेपालको परराष्ट्र नीतिलाई असन्तुलित बनाएको छ र देशको अर्थतन्त्रलाई अत्यन्तै कमजोर बनाएर नागरिकले दुःख पाउँदै आएका छन् ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको आठ दशकको संघर्षशील यात्रा गौरवपूर्ण छ । यो अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले विविध खालका आरोह अवरोह पार गर्दै अहिले नेपालको शासन प्रणालीको केन्द्रीय भागमा आईपुगेको छ ।

संगठित शक्तिका बलमा लोकतान्त्रिक विधि र प्रणालीको अवलम्वन गर्दै जनताको जनादेश पाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनै तहमा सुविधाजनक बहुमतका साथ शासन प्रणालीको नेतृत्व लिने कुरा ऐतिहासिक हो । साथै, नेपालका सर्वहारा श्रमजीवी जनताको उच्चतम चाहना पुरा गर्ने अभिभारा प्राप्त गरेको इतिहासले हरेक श्रमजीवी, सर्वहारा किसान, मजदुरका लागि गौरवको विषय थियो ।

नेपालको कम्युनिष्ट आन्दोलनको यो ऐतिहासिक सफलता नेपालका श्रमजीवी जनताले मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलन र विश्वका सर्वहारा वर्गका लागि प्रेरणा र अध्ययन, अनुसन्धानको विषय बनेको छ । यस्तो अवस्थाको सिर्जना त्यसै भएको होइन । यो सफलताका पछाडि हजारौ नेता र सयौ कार्यकर्ताको बलिदान, त्याग र कष्टदायी संघर्षले प्राप्त भएको हो भन्ने कुरालाई विर्सनु हँुदैनथ्यो ।

नेपालमा अहिले पनि गरीब किसान, मजदुर र सर्वहारा वर्गको ठूलो संख्या छ । असंगठित क्षेत्रमा काम गरी खाने सर्वहारा वर्गको हातमा उत्पादनका साधन छैनन् । तिनमा उनीहरुको पहुँच नहुदा काम पाउँदा खाने र नपाउँदा भोकै सुत्नुपर्ने बाध्यता विद्यमान रहेको छ । कृषिमा काम गर्ने तर उनीहरुको हातमा खेती गर्नका लागि जमिन छैन । कृषि क्षेत्रमा आफ्नो नाममा जग्गा राख्ने तर खेतीमा हात नलगाउने सानो संख्यामा रहेका भूमिपतिहरुको हातमा खेतीयोग्य जमिनको ठूलो हिस्सा छ ।

नेपालमा ठूला उद्योगधन्दा र कलकारखाना नभएका कारण छ महिना कृषिमा काम गर्ने तर आफ्नो उत्पादनले ३ देखि ६ महिना पनि खान नपुग्ने अवस्थामा रहेका किसानको ठूलो संख्या छ । उनीहरु वर्षमा दुईपटक छिमेकी मुलुक भारतका विभिन्न सहरमा कामका लागि जाने र सस्तोमा आफनो श्रम बेचेर वर्षभरीका लागि खाद्यान्न किनेर खाने अवस्थामा अहिले पनि कुनै सुधार आएको छैन । 

ठूलो संख्यामा रहेका निर्माण मजदुर, यातायात मजदुर, होटेल र रेष्टुरामा काम गर्ने मजदुर तथा सडक छेउ चिया पसल, तरकारी पसल गरी जीविकोपार्जन गर्ने, ठूला सहरमा साना खुद्रा पसल सञ्चालन गरी खाने मजदुरका लागि नेपालमा कम्युनिष्ट पार्टी चाहिएको हो । नेपालको बलियो कम्युनिष्ट आन्दोलनले मात्रै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, आर्थिक समृद्धि र समाजवादी अर्थतन्त्रलाई अघि बढाउन सक्ने ल्याकत राख्दछ ।

कम्युनिष्ट पार्टीले यसका आम सदस्यको जीवन सहज बनाउँदै सर्वहारा श्रमजीवी वर्गको जीवन सहज बनाउने अभियानलाई दीगो र भरपर्दो बनाउँदै नेपालमा विद्यमान रहेको अभाव, गरिबीलगायत सबै खालका विभेदहरुको अन्त्य गनर्स आवश्यक छ । सामाजिक न्यायको प्रत्याभूति, मानवअधिकारको सुनिश्चितता र सर्वहारा वर्गको मुक्तिका लागि कम्युनिष्ट पार्र्टी आवश्यक भएको हो ।

श्रमको उचित मूल्य प्राप्तीका लागि नीति नियमको निर्माण र कार्यान्वयन, सहज रुपमा राज्यका सेवा सुविधामा सर्वहारा श्रमजीवी वर्गको पहुँच स्थापित गर्ने कार्य हुनुपर्छ । राज्यले अघि सारेका सबै योजना प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गदै हिजोको शासन प्रशासनमा आमूल परिवर्तन गरी सहज सेवा प्रवाह गर्न सक्ने प्रशासन जसले सुशासन स्थापना गरोस् । सेवा सुविधा प्राप्तीका प्रक्रिया सहज होऊन् । र, देशमा कम्युनिष्ट पार्टीको सरकार छ भन्ने कुरा आम सर्वहारा वर्गले गर्वका साथ महसुस गर्न सकुन् । नागरिकले सम्मानित र मर्यादित जीवन बाँच्न सकुन् । त्यसकारण पनि बलियो कम्युनिष्ट पार्टी चाहिएको हो ।

सर्वहारा श्रमजीवी वर्गको सहज जीवनयापन र त्यही वर्गको समृद्धि नेपालको आवश्यकता हो । श्रमको सम्मान, उत्पादन प्रणालीमा आम सर्वहारा वर्गको सहभागिता र सर्वहारा वर्गको जीवनमा आवश्यक खुशहालीका लागि नेपालमा कम्युनिष्ट पार्टी चाहिएको हो । ऐन नियम कानून सबैका लागि वरावर हुन सकुन्, शासन प्रशासन ब्यक्तिको होइन, कानूनका आधारमा सञ्चालन हुन सकोस् । सबै खालका विभेद, अन्याय र अत्याचार गर्ने, भ्रष्टाचार गर्ने सबैलाई न्यायको कठघरामा उभ्याउन सकियोस् ।

सबै नागरिकले राज्यले तोकेको कर तिर्नुमा गर्व गर्न सकून् । राज्यलाई तिरेको करको दुरुपयोग हुँदैन भन्ने विश्वासिलो आधार तयार होस् । सबै जेष्ठ नागरिक सम्मानित हुन सकुन् । वालवालिका सुरक्षित र संरक्षण हुन सकुन् । लैगिंक हिंसा, घरेलु हिंसा को अन्त्य होस् । महिला पुरुषबीच आदर सम्मान होस् । असहायहरुको सामाजिक सुरक्षा सुनिश्चित होस् । सबैले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चतता राज्यमार्पmत् प्राप्त गर्नका लागि नेपालमा बलियो कम्युनिष्ट पार्टी चाहिएको हो ।

आउने एक ढेढ महिनाको छोटो अवधिमा नेपालका कम्युनिष्ट पार्टी र तिनका नेताले घनिभूत आत्म समीक्षा गरुन् । नेपाली काँग्रेसका लागि बहुमत ल्याइदिने वा नेपालका कम्युनिष्ट शक्ति एक ठाउँमा आएर देश र देशका नागरिकको पक्षमा उभिने ? या एकले अर्कोलाई देखाइदिने वा नेपालका कम्युनिष्ट शक्ति आगामी निर्वाचनमा नेपाली मतदातावाट जनअनुमोदित भएर देशलाई समृद्धि र प्रगतिको वाटोमा अघि बढाउने ?

नेपाली काँग्रेससँग मोर्चावन्दी गरेर सरकार र ब्यवस्थापिकामा नेपाली काँग्रेसलाई स्थापित गरी सेवा गर्ने कि दुई कदम पछाडि फर्केर आत्मसमीक्षामार्पmत् नेपालको कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्दै जनपक्षीय नीति कानून र कार्यक्रममार्पmत् नेपाली नागरिकको जनजीविकालाई सहज र सवलीकरण गर्ने ? मूल प्रश्न यही हो ।

एकापसमा गालीगलौज र शक्ति प्रदर्शन गरी यदुवंशी भएर सकिने कि गम्भीर आत्मसमीक्षामार्पmत् नेपालमा कम्युनिष्ट पार्टीको सरकार स्थापना गर्ने ? यो प्रश्नको जवाफ कमरेड प्रचण्ड, माधव नेपाल र केपी ओलीले खोज्नु आवश्यक छ । यस पटकको निर्वाचनमा धारे हात लगाएर नेपाली काँग्रेसलाई प्रतिनिधिसभा र प्रदेशसभा बुझाउने काममा लागिरहने हो भने निश्चित छ, आगामी केही दशक देश र देशका नागरिकले दुःख पाउने छन् ।

सत्तास्वार्थवाट पर, ब्यक्तिगत इगोभन्दा पर, विगतका गल्ती कमजोरीभन्दा पर सुनौलो क्षितिज छ । जहाँ नेपालको कम्युनिष्ट आन्दोलनका अगुवा, समर्थक शुभेच्छुक, पछिल्लो पुस्ताका कैयौ नेता कार्यकर्ता र कम्युनिष्ट शिक्षा ग्रहण गर्दै संघर्ष गर्दै देशप्रति गौरव गर्ने, आन्दोलनप्रति गौरव गर्ने, विकास र समृद्धिप्रति आशावादी लाखौलाख नेपाली युवा आफ्ना मुठ्ठी उचालेका छन् ।

साथै स्वदेशमै रोजगारी सिर्जना हुने, सबैखालका विभेदको अन्त्य हुने, आधारभूत अधिकारको सुनिश्चितता राज्यले गर्ने, सामाजिक न्याय मार्पmत् सिमान्तीकृत समुदायका, श्रमजीवी मजदुर किसानका पनि दिन आउने विश्वासमा छन् । एकीकृत कम्युनिष्ट आन्दोलनलाई स्वागत गर्न, सघाउन र नेपाललाई विकास र समृद्धिको दिशामा लामवद्ध हुनका लागि तम्तयार छन् । यो अवसर सधँै रहँदैन । यो विश्वास सधैँ जीवित नरहन पनि सक्छ । बल नेताहरुकै कोर्टमा छ । चेतना भया ।

लेखक भण्डारी सामाजिक अभियन्ता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप