किन छुट्टियो भाजपा–जदयुबीचको गठबन्धन ?

person explore access_timeसाउन २४, २०७९ chat_bubble_outline0

हरेक वर्षझैँ यसपटक पनि अप्रिलमा विहारकी पूर्व मुख्यमन्त्री राबडी देवीको घरमा इफ्तार भोज(रमादानको वर्त अन्त्य गर्न सूर्यास्तपछि खाइने भोजन) आयोजना गरिएको थियो । यसमा मुख्यमन्त्री नितिश कुमारको सहभागिताले सबैको ध्यान तान्यो ।


पाँच वर्षपछि नितिश कुमार विहारको राजनीतिको एक केन्द्र मानिने राबडी देवीको घर पुगेका थिए । त्यही बेला नै नीतीशको दल जनता दल(युनाईटेड)(जदयु)ले पुनः भाजपासँगको सम्बन्ध तोड्न लागेको हुनु की भन्ने आशंका गरिएको थियो । तर त्यो विषय केही समयपछि सेलायो । तर बाहिर कुरा सेलाएको भएपनि भित्रभित्रै भाजपा–जदयूबीचको असन्तुष्टि फैलिरहेको थियो ।



अन्तत आज नितिश कुमारले भाजपासँगको गठबन्धन तोड्ने घोषणा गरेका छन् ।  मुख्यमन्त्रीको रुपमा नितिश कुमारले मंगलबार अपरान्ह ४ बजे राज्यका गर्भनर फागु चौहानलाई राजीनामा बुझाए । नितिशले तुरुन्तै नयाँ सरकार गठनको दाबी पेस गरेका छन् । उनले राज्यपाललाई १६० विधायकको समर्थन पत्र बुझाए । विहारको राजनीतिमा देखिएको पछिल्लो उथलपुथलका पाँच प्रमुख कारण रहेको बताइन्छ, जुन तल व्याख्या गरिएको छ:



याे पनि

रिपोर्टका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले नरेन्द्र मोदीको मन्त्रिपरिषदमा समान अनुपातमा प्रतिनिधित्व चाहेका थिए । अहिले बिहारबाट लोकसभा(केन्द्रीय संसद)मा भाजपा र जेडीयुका १६–१६ लोकसभा सांसद छन् । यस्तो अवस्थामा जदयूले बिहार कोटाबाट केन्द्रमा भाजपाबाट जति मन्त्री बनेका छन्, त्यति नै मन्त्रीहरू पनि बनाइयोस् भन्ने चाहेको थियो । तर नितिश कुमारको चाहना विपरित बीजेपी नेतृत्वको केन्द्रीय मन्त्रिपरिषदमा जदयूका जम्मा एक मन्त्री राखिएको थियो । 

यही कारणले गर्दा जदयुका राष्ट्रिय अध्यक्ष ललन सिंहले आइतबार जनता दल युनाइटेड फेरि एक पटक केन्द्रीय मन्त्रिपरिषदमा सामेल नहुने बताए । जदयुले केन्द्रमा पठाएको एक जना मन्त्रीलाई समेत आफैविरुद्ध प्रयोग गर्न लगाएको आरोप लगाउन थालेको थियो । भाजपाले ती मन्त्रीको साथ लिएर आफ्नो दल फुटाउने षड्यन्त्र गरेको जदयूले बताएको छ । 

दोस्रो कारणः भाजपा कोटाबाट सभामुख र नितिशबीचको विवाद
मुख्यमन्त्री नितिश कुमारलाई भाजपाको कोटाबाट विहार विधानसभा अध्यक्ष बनेका विजय कुमार सिन्हालाई फिटिक्कै मन पराउँदैनन् । नितिश कुमार र विजय सिन्हाबीच सदन भित्र र बाहिर पटक–पटक मनमुटाव देखिएको छ । 
यसलाई संकेत गर्ने दुई घटनाको यहाँ चर्चा गरिएको छः
सन् २०२२ मार्चमा, मुख्यमन्त्री नितिश कुमारले सभामुखलाई विधानसभाभित्रै आम नियम तोडेर बिहार सरकारमाथि प्रश्न उठाएको आरोप लगाएका थिए ।
दोस्रो घटनाः सन् २०२२ फेब्रुअरीमा विजय सिन्हाले आफ्नो विधानसभा क्षेत्र लखीसरायमा कोविड नियम तोडेको आरोपमा भाजपा कार्यकर्तालाई पक्राउ गरेपछि नितिश कुमार र उनको सरकारको आलोचना गरेका थिए । 

तेस्रो कारणः अग्निपथ योजनापछि जदयुलाई भाजपाको आलोचना
केन्द्र सरकारले ल्याएको अग्निपथ योजना लागू भएपछि बिहारमा भएको हिंसात्मक प्रदर्शनपछि भाजपा प्रदेश अध्यक्ष सञ्जय जयसवालले नितिश सरकारको आलोचना गरेका थिए । ‘राज्यमा भएका प्रदर्शनमा भाजपालाई मात्र निशाना बनाइएको छ । यसलाई छिट्टै रोक्नुपर्छ, नत्र कसैको हित हुँदैन । यही कारणले गर्दा दुई पार्टीबीच सबै कुरा राम्ररी चलिरहेको छैन ,’ जयसवालले त्यस बेला भनेका थिए ।

चौथो कारणः विभिन्न नीतिहरूमा भाजपा र जदयुबीच मतभेद
भाजपा नेतृत्वको केन्द्र सरकार राष्ट्रिय स्तर र राज्यहरूमा एकैसाथ चुनाव गराउने सोचमा छ, जबकि जदयूले यसको खुलेर विरोध गर्छ । जदयुले पहिलेदेखि भाजपाले अघि सारेको ’एक राष्ट्र एक चुनाव’ को नीति व्यावहारिक नभएको बताउदै आएको छ । यति मात्र होइन, सेना भर्तिका लागि ल्याइएको अग्निपथ योजनामा जदयुको अडान भाजपाको भन्दा फरक थियो । यस निर्णयविरुद्ध बिहारमा धेरै ठूलो विरोध हुँदा मुख्यमन्त्री नितिश कुमार मौन बसेका थिए । यसबाहेक, भाजपाको एजेण्डा रहेको ‘कमन सिभल कोड(साझा नागरिक संहिता)’को विषयमा पनि जदयुको फरक विचार रहेको छ । ।

पाँचौं कारणः भाजपा मन्त्रीले नटेरेको असन्तुष्टि 
रिपोर्टका अनुसार नितिश कुमार आफ्नो सरकारमा बीजेपी कोटाबाट मन्त्री बनेकाहरुले आफूलाई नटेर्ने गरेको बताइरहन्थे । सरकार प्रमुख भएपनि भाजपाका मन्त्री, विधानसभा अध्यक्ष र नेताहरुले आफूमाथि दबाब राखेको उनले आफ्ना सर्कलमा गुनासो गर्ने गर्थे । भाजपासँगको गठबन्धनबाट अलग हुनुअघि आफ्ना नेताहरुसँगको छलफलमा नितिसले भाजपाले आफूलाई अपमानित गर्न कुनै मौका पनि नछाडेको बताएका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।