शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीडितकै घरभित्र पसेर अपराधी खोज्नुपर्ने बेला आयो : एआईजी सुवेदी

मङ्गलबार, २४ साउन २०७९, २० : ३५
मङ्गलबार, २४ साउन २०७९

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले पछिल्लो समय हत्या, बलात्कार जस्ता आपराधिक घटनामा परिवारभित्र कै व्यक्तिको संलग्नता बढेको बताएका छन् । चितवनको भरतपुरमा मंगलबार आयोजित अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा आपराधिक कार्यको शृङ्खला र प्रवृत्ति फरक भएको बताए ।

अधिकांश घटनामा आफन्तकै संलग्नता हुने गरेको भन्दै उनले पीडितको घरभित्रै प्रहरीले अनुसन्धान केन्द्रित गर्नुपर्ने बेला आएको बताए । ‘अब हामीले पीडितकै घरभित्र अपराधी खोज्नु पर्ने बेला आएको छ । अधिकांश घटनामा अनुसन्धान गर्दै जाँदा अन्तिम अवस्थामा अनुसन्धानको सुई पीडितको घरतिरै फर्किन्छ,’ उनले भने, ‘पछिल्लो समय बदलिँदो समय र प्रविधिको कारण आपराधिक घटनाका शृङ्खलामा धेरै नै परिवर्तन आएको छ । ती घटनामा आफन्त र परिवारजनको संलग्नता बढ्दो छ ।’

उनका अनुसार पछिल्ला वर्षमा हत्या, बलात्कारजस्ता जघन्य अपराधका करिब ९० प्रतिशत घटनामा नजिकका मान्छे, आफन्त, नातागोताको संलग्नता देखिएको छ । १५ वर्ष पहिले यस्ता अपराधमा नचिनेका मान्छेको संलग्नता ८० प्रतिशतभन्दा बढी हुने गरेको उनको भनाइ छ । समाज अनुसारको प्रभावकारी अनुसन्धान र न्याय सम्पादनका लागि दक्ष जनशक्ति तयार पार्न प्रहरी प्रयासरत रहेको उनले बताए ।

उनले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न नेपालीहरुको १० अर्ब रुपैयाँभन्दा बढी ठगी भएको बताए । कानुनी रूपमा अवैध रहेकाले पीडितहरु उजुरी लिएर आउन नसक्ने, प्रहरीसँग अनुसन्धान गर्ने स्रोत, साधन नहुने समस्या पनि उनले सुनाए । उनले साइबर कानुन बनाएर लागू गर्नुपर्ने अवस्था आएको र प्रहरीको स्रोत, साधन र क्षमता विकासमा गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप