शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्छः वर्षमान पुन

मङ्गलबार, २४ साउन २०७९, १७ : १८
मङ्गलबार, २४ साउन २०७९

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाभियोग यही संसदबाट टुंगो लाग्ने दाबी गरेका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यही संसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोगको टुंगो लगाउनुपर्ने बताएका हुन् ।  सोही अनुसार नै महाभियोग अघि बढाइएको उनको भनाइ छ । पुनले समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा माओवादी केन्द्र आशावादी रहेको बताए । 

उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रक्रियामा गइसकेको छ । समिति पनि पहिले नै गठन भइसकेको छ । समितिमा छलफल गरेर समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु जुन उसको जिम्मेवारी छ, त्यो छिटै पूरा गरेर सिफारिस गर्छ भन्ने हाम्रो अपेक्षा छ । यो कुरा अहिलेकै संसदले टुंगो गर्नुपर्छ । जुन निर्णयमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ । तीन महिना भनेको अधिकतम समय हो । यसलाई टुंगोमा पु¥याउने गरेरै ल्याएको हो ।’

पुनले आगामी प्रदेश र संघीय सदस्यको निर्वाचनमा २०७९ को स्थानीय तहको निर्वाचनलाई आधार माने र पनि सिट बाँडफाँट हुने बताए । उनले पार्टीहरूका गम्भीरता र संवेदनशीलतालाई हेरेर र गठबन्धन, सरकार निर्माणमा योगदान गर्ने नेता र जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर सिट बाँडफाँट गर्न लागेको पनि बताए । 
सांसद पुनले अहिलेको संसदमा कुनै न कुनै रुपले प्रतिनिधित्व गर्ने सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा फेरि उम्मेदवारी दिने वा सम्बन्धित पार्टीले त्यो क्षेत्रमा दाबी गर्ने कुरा स्वभाविक भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप