सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

चुनावी गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक : एमाले महासचिव

मङ्गलबार, २४ साउन २०७९, १५ : ३२
मङ्गलबार, २४ साउन २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् । 

मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नु भएका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा हुने गरेको भएपनि चुनावमा गठबन्धन गरेर जाने कुरा भने हुने नगरेको दावी गरे । 

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोप लगाए । उनले भने, ‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ । तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो । एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो । यो कुराप्रति नेकपा (एमाले) सहमत छैन । नेकपा (एमाले) आफ्नो नीतिको आधारमा अघि बढ्छ । र, आफ्नो नीतिसँग सहमत हुनेहरूसँग चुनावी तालमेल गर्छ । आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन ।’

महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप