बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा ८ हजार ६ सय नयाँ मतदाता

मङ्गलबार, २४ साउन २०७९, १५ : २५
मङ्गलबार, २४ साउन २०७९

आगामी मङ्सिर ४ गते  हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  मकवानपुर जिल्लामा आठ हजार ६  सय ४३  नयाँ मतदाता  दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत मकवानपुरमा  चार हजार पाँच सय  १७ पुरुष  तथा चार हजार एक सय २६ महिला गरी कूल  आठ हजार छ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

गत साउन १९ गते सरकारले आगामी मङ्सिर  ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली सङ्कलन कार्य  बन्द भएको बताइएको छ ।

मकवानपुरमा निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गरी दुई स्थानमा  बेग्लाबेग्लै मतदाता नामावली सङ्कलन भएको थियो । निर्वाचन कार्यालयमा   तीन हजार चार सय ३२ पुरुष  र  तीन हजार ९८ महिला  गरी कूल छ हजार पाँच सय  २१ ले मतदाता  नामावलीमा दर्ता गराएको थिए । जिल्ला प्रशासन कार्यालयमा  नौ सय  २१  महिला  तथा  नौ सय १९ पुरुष गरी एक हजार आठ सय ५० जनाले मतदाता नामावलीमा दर्ता गराएको बताइएको छ ।
 
सो अवधिमा  एक हजार दुई सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेको बताइएको छ । मतदाता परिचयपत्र त्रृटि सच्याउनेको सङ्ख्या एक सय थियो । बाहिरी  जिल्लामा तीन सय ४३ जनाले मतदाता नामावली सारेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लुम्वनाथ अधिकारीबाट  प्राप्त विवरणअनुसार मकवानपुरमा  हाल एक लाख  ५६ हजार छ सय ४९ पुरुष तथा  एक लाख ५० हजार एक सय ६२ महिला र पाँच अन्य गरी तीन लाख छ हजार आठ सय १६ जनाको नाम मतदाता नामावलीमा  दर्ता भएको जनाइएको छ । जिल्लामा मतदानस्थल एक सय ६५ तथा मतदान केन्द्र तीन सय ५६ रहेको सो कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप