५ दलीय गठबन्धनमा समेट्न बालुवाटारमा युवराजको निवेदन
वामदेव गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आफ्नो समूहलाई पाँच दलीय गठबन्धनमा राख्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । सफलको टोलीले प्रधानमन्त्री देउवा तथा काँग्रेस नेता रामचन्द्र पौडेललाई छुट्टाछुट्टै भेटेर यस्तो आग्रह गरेका हुन् ।
सफलले मंगलबार विज्ञप्ति जारी गर्दै देउवा र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन गठबन्धनसँग लड्ने विषयमा छलफल भएको बताएका हुन् ।
नेताहरुसँगको भेटमा नेपाल समाजवादी केन्द्रले पाँच दलीय गठबन्धनमा आबद्ध हुन निवेदन समेत पेश गरेको छ । उक्त निवेदन पत्रमा आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य कृष्णगोपाल बञ्झरा ,नेकपा राष्ट्रवादी अध्यक्ष तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य मिननाथ देवकोटा ,समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य युवराज सफल ,नेकपा (समाजवादी)स्थायी समिति सदस्य तथा नेपाल समाजवादी केन्द्रका अध्यक्ष मण्डल सदस्य बद्री यादवले हस्ताक्षार गरेका छन् ।
जवाफमा देउवा र पौडेलले सफलले राखेको प्रस्तावको स्वागत गर्दै उक्त प्रस्ताव गठबन्धनको बैठकमा राख्ने आश्वासन दिएका छन् ।