बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विक्की कौशलका निर्देशक पिताले भने, ‘मैले अस्पतालको तेस्रो तलबाट हाम फाल्ने निर्णय गरेको थिएँ’

मङ्गलबार, २४ साउन २०७९, १३ : २८
मङ्गलबार, २४ साउन २०७९

विक्की कौशलका पिता तथा स्टन्ट निर्देशक शाम कौशलले हालै एक खुलासा गरेका छन् । एक अन्तरवार्तामा निर्देशकले सन् २००३ को सेप्टेम्बरमा आफूलाई क्यान्सर भएको  बताएका छन् । शामले भने, ‘म लद्दाखबाट ‘लक्ष्य’ को सुटिङ गरेर फर्किरहेका बेला असाध्यै पेट दुखिरहेको थियो । पीडा बढ्दै गएपछि नानावटी अस्पताल गएँ र त्यहाँ मेरो शल्यक्रिया गरियो ।’

५० दिनसम्म अस्पताल बसेका थिए शाम

शामले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भने, ‘म बेहोस थिएँ । मेरो पेटमा संक्रमण थियो । डाक्टरले मेरो पेटको एउटा टुक्रा काटेर परीक्षणका लागि पठाएका थिए । त्यसपछि क्यान्सर भएको पत्ता लाग्यो । म बाँच्छु कि बाच्दिनँ भनेर पनि थाहा थिएन । मैले यो कुरा कसैलाई पनि भनिनँ । म ५० दिनसम्म अस्पताल बसेपछि काममा फर्किएको थिएँ । डाक्टरले मलाई एक वर्षसम्म परीक्षण गरे तर सौभाग्यले क्यान्सर शरीरको अन्य भागमा फैलिएको थिएन । अहिले त १९ वर्ष बितिसकेको छ ।’

तेस्रो तलाबाट हाम फाल्न चाहन्थे

शामले थपे, ‘म बाँच्ने कुनै सम्भावना छैन जस्तो लाग्थ्यो । मैले त अस्पतालको तेस्रो तलाबाट हाम फाल्ने निर्णय पनि गरिसकेको थिएँ किनभने म त्यसरी बाँच्न सक्दिनथेँ । तर म बेडबाट उठ्न पनि सक्दैनथेँ किनभने मेरो पेटको शल्यक्रिया भएको थियो । म भगवानसँग ‘अब सबैकुरा समाप्त गरिदेऊ, मलाई कुनै कुराको पछुतो छैन । म एउटा सानो गाउँबाट आएको थिएँ र तपाईंको कृपाले मैले राम्रो जीवनयापन गर्न सकेँ । यदि तपाईं मलाई बचाउन चाहनुहुन्छ भने मलाई कमजोर नबनाउनुहोस्’ भनेर प्रार्थना गर्दथेँ । त्यसको भोलिपल्ट मैले शान्ति पाएँ ।’

अस्पतालबाट फर्किएपछि ब्ल्याक फ्राइडेको सुटिङ गरेको थिएँ

शाम नोभेम्बर सन् २००३ मा आफ्नो नयाँ फिल्म ‘ब्ल्याक फ्राइडे’ को सुटिङ गर्ने तयारीमा थिए तर अक्टोबरमा अस्पतालमा भएका कारण उनले निर्मातालाई पैसा फिर्ता गरिदिए । अनुराग कश्यपले शामलाई फोनमा मेसेज पठाएर ‘यो फिल्म तपाईंले मात्रै गर्न सक्नुहुन्छ र हामी तपाईंको प्रतीक्षा गर्नेछौँ’ भने । डिसेम्बरमा अस्पतालबाट फर्किएपछि उनले पहिलो फिल्म ‘ब्ल्याक फ्राइडे’ नै गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप