शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनमा बाबुरामलाई समेट्नेबारे छलफल, माओवादीले देखायो चासो

मङ्गलबार, २४ साउन २०७९, १३ : १५
मङ्गलबार, २४ साउन २०७९

पाँच दलीय सत्ता गठबन्धनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई समावेश गराउने विषयले प्रवेश पाएको छ । सोमबार बसेको सत्ता गठबन्धनको कार्यदल बैठकमा नेसपालाई पनि समेट्नुपर्ने प्रस्ताव आएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा माओवादीबाट कार्यदलको सदस्य रहेका वर्षमान पुनले नेसपालाई पनि गठबन्धनमा सामेल गराउनुपर्ने मत राखेको एक नेताले जानकारी दिए । यस्तै बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सहभागिता गराउनेबारे कुरा राखेका थिए । त्यसपछि पुनले नेसपाबारे चासो राख्दै बैठकमा कुरा राखेका थिए । 

पुनको भनाई उदृत गर्दै कार्यदलका एक सदस्यले भने, ‘बाबुराम भट्टराईजी संसद विघटनविरुद्धको आन्दोलनमा सँगै हुनुहुन्थ्यो । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सँगै लिएर जाँदा राम्रो हुन्छ ।’ सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)बाट  असार अन्तिम साता भट्टराई समूह अलगिएको थियो । त्यसयता गठबन्धनको बैठकमा भट्टराईको सहभागिता रहेको छैन ।

जसपामा हुँदा अध्यक्ष उपेन्द्र यादव र भट्टराई नै प्रायः गठबन्धनको बैठकमा सहभागी हुने गरेका थिए । गठबन्धनले बनाएको कार्यदलमा पनि नेसपाको प्रतिनिधित्व नभएपछि भट्टराई गठबन्धन बाहिर हुन पुगेको अवस्था छ । बाबुरामलाई गठबन्धनले नभइ जसपाले निकालेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए ।

‘हामीले गठबन्धनबाट बाबुरामजीलाई निकालेको होइन । हिँड्दै जाँदा छुट्नुभयो । तत्कालीन गठबन्धनमा भएको उहाँको पार्टी फुट्यो । उहाँसँगै कसरी जाने भन्ने विषयमा छलफल चलेको छ,’ पौडेलले रातोपाटीसँगको अन्तवार्तामा भनेका छन्, ‘उहाँ पहिला जुन पार्टीमा हुनुहुन्थ्यो त्यहाँबाट उहाँलाई निकालेको हो, गठबन्धनबाट निकालेको होइन ।’  तर बाबुराम गठबन्धनमा आउने कुरा भइरहेको पौडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप