आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

अभिनयमा पुष्पको ‘यूटर्न’ : ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले...’

सपना डाक्टर, भए अभिनेता
मङ्गलबार, २४ साउन २०७९, १२ : ३६
मङ्गलबार, २४ साउन २०७९

उडेर एक किकमा दुई चारजना ढाल्न मन छ, कसैले अबको इच्छा सोध्दा फिल्मी डायलग बोल्छन् उनी । दुइ चारजना ढाल्ने कुराले कतिलाई लाग्न सक्छ, उनी खेलाडी हुन् । यो कुरो उनले खेलका लागि गरेका होलान् । तपाईंको यो अनुमान हो भने बिल्कुल गलत छ । किनभने उनी नेपाली फिल्मका नायक हुन् ।

उनले एक किकमा दुई चारजना ढाल्ने कुरा रियलमा नभएर रिल लाइफमा गरेका हुन् । रियल लाइफमा उनी सरल र मिलनसार स्वभावका छन् । उनी अर्थात् अभिनेता पुष्प खड्का । खड्काले अहिलेसम्म करिब दर्जन हाराहारी फिल्म अभिनय गरेका छन् । विडम्बना उनले एक्सन रोलको अहिलेसम्म अनुभव सँगाल्न पाएका छैनन् अहिले उनलाई एक्सन रोल गर्ने तीब्र चाहना छ ।

अहिलेसम्म एक्सन फिल्मको अफरै नआएको बताउने उनले त्यस्तो फिल्म पाए तुरुन्तै ओके गर्ने सुनाए । ‘च्यालेन्ज र रिक्स जुन कुरोमा बढी छ । त्यो गर्न अबको दिनमा मन छ’, उनले भने, ‘त्यस्तो क्यारेक्टर मिल्यो भने म केही नसोची हाम फाल्छु । हारेपनि मन्जुर, जितेपनि मन्जुर छ ।’

सानैदेखि मेरो फाइट राम्रो छ । म फाइट गर्न सक्छु, निर्माताहरुलाई मेरो यो पाटोको जानकारी छैन कि, उनले अर्काे इच्छा पोखे, ‘एक्सन मात्र होइन, समयले साथ दिए फिल्म मेकरको रुपमा समेत आउनेछु ।’

अघाएको छैन

पुष्प पछिल्लो समय चलेका अभिनेतामा गनिन्छन् । उनले अभिनय गरेका मध्ये ‘मंगलम्’ सबैभन्दा बढी हिट फिल्म हो । अन्य औषत भन्दा फरक पर्दैन । तर उनी भने सधैँ ब्यस्त छन् । एकपछि अर्काे गर्दै उनले राम्रो फिल्ममा अवसर पाइरहेका छन् । सायद, त्यसैले पनि होला अहिले सम्मको फिल्मी करियरमा उनी खुसी र सन्तुष्ट छन् ।

उनले संघर्षको समय कलाकारिता आफ्नो एकल सपना भएपनि नाम र चर्चासँगै परिवार र आफन्तको सपना बनेको सुनाए । ‘युद्ध सम्झेर आएको थिएँ । प्रवेशको समयमा म एक्लै थिएँ । अहिले मसँग पब्लिक, फ्यामली सबै छन्’, उनले गर्व गरे ।

फिल्मबाट जीवनसमेत बुझ्न पाएका उनलाई कलाकारिता आम्दानीको मामलामा फलिफाप भएको छ । कतिपयको कलाकारिताबाट खान नपुगेको आवाज सुनिँदै गर्दा उनी भने छोटो समयमै घरघडेरी, गाडीलगायत जोड्न सफल छन् ।

केटीहरु जिस्काउथेँ

सुदूरपश्चिमको कैलाली, लम्की–चुहा नगरपालिकामा जन्मिएका खड्काको कलाकारिता यात्रा बाल्यकालको सपना भने थिएन । उनको र परिवारको सपना डाक्टर बनाउने थियो । बुबा भारतमा जागिरे भएकोले कक्षा ५ सम्म भारतका राम्रो स्कुलमा पढेका उनले एसएलसी भने कैलालीको श्री राष्ट्रिय नवजागृत माध्यमिक विद्यालयबाट दिएका थिए ।

भारतमा खुम्चिएर अनुशासनमा रहेको म । यहाँ सरकारी स्कुलको माहोल, साथीभाईको संगतले एकदमै फ्रिडम भए जस्तो लाग्यो’, उनी ती दिनमा फर्किए, ‘चोक चोकमा गएर केटीहरु जिस्क्याउने, ढुङ्गाले हान्ने लगायत पढ्नेभन्दा अन्य माहोल भयो ।’ यहाँका साथीभाईसँगको संगतले आफूलाई वाइल्ड बनाएको उनलाई पत्तै भएन । त्यसले आफ्नो अध्ययन समेत बिग्रिएको उनको जिकिर छ ।

त्यतिबेला सरकारी स्कुलबाट एसएलसी पास गर्नु निकै गाह्रो मानिन्थ्यो । उनी पढेको स्कूलमा सय जनाले परीक्षा दिदा १५ जना पास हुन्थे । साथीभाईको संगतले पढ्न पर्दैन, चिट चोरेर पास भइन्छ भन्ने उनले जानेका थिए ।

तर एकदिन आमाबुबाले हाम्रो छोरो राम्रो पढ्छ । पास हुन्छ भनेर कुरा गरेको उनको कानमा पर्यो । त्यो कुरोले उनको मन छोयो । सबै गलत संगत छाडेर एसएलसी सफल बनाए । नतिजा आयो सेकेन्ड डिभिजन ।

छिर्यो फिल्मी भूत

एसएलसीपछि उनी बैजनाथ उच्च माध्यमिक विद्यालय कञ्चनपुरमा ‘प्लस टु’ साइन्स लिएर पढ्न थाले । डाक्टर बन्ने हेतुले उनले साइन्स पढेका थिए । परिवारको इच्छा पनि उनलाई डाक्टर बनाउने नै थियो । पढ्दै गर्दा उनी डान्स  सिक्न थाले ।

डान्स उनका लागि सजिलो भयो । किनभने भारत बस्दा उनमा नृत्यको बेस बनिसकेको थियो । भारतमा उनले गणेश भगवान्को विभिन्न उत्सव र स्कुलमा नृत्य सिक्थे । गाउँ फर्किएपछि पनि बिहे, भोजभतेरमा नृत्य हेर्थे । त्यो देख्दा उनी घरको कोठामा एक्लै चुकुल लगाएर टेप रेकर्डर बजाएर नाच्थे । यसरी उनमा कलाकारिताको प्रिमियर हँुदै थियो भने फिल्म पनि हेर्न थालेका थिए ।

प्लस टु’ सकिँदासम्म उनले आफूमा धेरै चेन्ज पाए । आफ्नो जीवन आफैले जज गरे । बाहिर अरुले देख्ने पुष्प र भित्रको पुष्प फरक बुझे । जब प्लस टु सकियो, त्यसपछि उनले आफ्नो खुसी खोज्न थाले । त्यो खुसी कलाकारितामा देखे । तर नायक कसरी बन्ने, के गर्दा बनिन्छ, उनलाई केही थाहा थिएन ।

हिरो बन्छु भनेर एकपटक गाउँघरमा सुनाएँ, पुष्प अलि गम्भीर बने, ‘घरपरिवारलगायत सबैतिर खिल्ली उडाए । बुबाले यो फिल्ड राम्रो हँुदैन । धेरै पढ, नाम र दाम कमाऊ भन्नुभयो ।’ उनले भने आफ्नो खुसी कलाकारितामै देखेका थिए ।

कलाकारितामा खुसी देखेपछि स्नातक अध्ययनका लागि  काठमाडौं छिरे । कान्तिपुर सिटी कलेजमा सफ्टवेयर इन्जिनियर बिषय पढ्न थाले । त्यो समय फष्ट सेमेस्टरमा डिस्टिङ्सन ल्याए । सेकेन्ड सेमेस्टर पढ्ने समय उनले नयाँ बानेश्वरको झरना कल्चर ग्रुपमा डान्स सिक्न थाले । त्यहाँ डान्स सिक्न थालेपछि उनको अध्ययन खस्किदै गयो ।

तीन महिनाको डान्स प्रशिक्षणपछि उनी त्यही डान्स टिचर भए । त्यसपछि डान्सका स्टेज कार्यक्रमहरुमा भाग लिन थाले । सो क्रममा राष्ट्रिय सभागृह, नाचघरलगायत ठाउँमा चार दर्जन बढी कार्यक्रममा नृत्य प्रतिभा देखाए ।

नृत्यको क्रममा गायक, कलाकारहरुसँग चिनजान भयो । त्यसले मलाई कलाकारिताप्रति लोभ्यायो’, उनले अगाडि भन्दै थिए, ‘त्यो समय मसँगै बस्ने साथीहरु दिक्पाल कार्की र्याम्प मोडलिङ गर्थे, नरेन खड्काले हमेसा फिल्म गर्दै थिए ।’ उनीहरुको काम हेरेर फिल्म र र्याम्प शो बारेमा आफूले जानकारी पाएको उनी बताउँछन् । ‘यो समयसम्म उनमा पुरै फिल्मी भूत छिरिसकेको थियो । साथीहरु पनि तेरो डान्स राम्रो छ, फिल्म खेल्नुपर्छ भनेर हौस्याउँथे’ उनले थपे ।

अनि लाग्यो भिडियोको लाइन

फिल्मको हिरो बन्ने लक्ष्य त लिए उनले । तर कसैलाई चिनेका थिएनन् । त्यसैले उनी अभिनयका लागि प्लेटफर्म खोज्न थाले । त्यो क्रममा उनको नजर म्युजिक भिडियोका निर्देशकमा पर्यो । टेलिभिजनमा म्युजिक भिडियो धेरै बज्ने भएकोले यसबाटै सुरु गर्ने सोच बनाए ।

यही क्रममा त्यो समय चलेका भिडियो निर्देशकहरुलाई म्यासेन्जर, फोन र भेटघाटको माध्यमबाट चिनजान र सम्पर्क बढाए । सबैले हुन्छ, भेटौला, सम्झन्छु भन्दै उनलाई आस्वासन मात्र दिए ।​ त्यतिकैमा आयुशी शाहबाट उनले रेडबुलको विज्ञापन अभिनय अफर पाए । त्यो विज्ञापनले उनलाई राम्रो चर्चा दिलायो ।

त्यो बेलासम्म म्युजिक भिडियोका लागि निर्देशक कहाँ धाएको एक वर्ष बितिसकेको थियो । यसै क्रममा एकपटक निर्देशक आलोक नेम्वाङसँग भेटे । भेटको तीन दिनपछि बोलाएर उनले हेमन्त शर्माको गीत ‘के माया गर्न हुन्न र ? सहायक भूमिकाको अफर दिए । लिडमा शर्मा नै थिए ।

त्यो समय कसरी अभिनय गर्ने केही थाहा थिएन । तर पनि अभिनयमा होमिएँ’, खड्काले भने, ‘छायांकन सकिएपछि आलोक सरले राम्रो गर्नु हुँदोरहेछ । क्यामरा फेसन पनि राम्रो छ । भविष्य राम्रो हुन्छ भनेर हौसला दिनुभयो, त्यसपछि आलोककै निर्देशनमा ४/५ वटा गीत लगातार गर्ने अवसर मिलेको उनले खुलाए ।

करिब दर्जन गीत अभिनय गरेपछि उनी चिनिन थालेका थिए । आलोकले नै ‘अझै पनि’ फिल्मको सहायक भूमिका लागि अफर गरे । उनमा हिरो बन्ने लोभले त्यो अफरमा आनाकानी गरे । आलोकले केही उदाहरण दिएर  अनुभवका लागि काम गर्न सुझाए ।

त्यो समय मेरो अनुहार हेरेर आलोक सरले समस्या बुझ्नुहुन्थ्यो । काम नै नगरी कोठाभाडा तिर्न पैसा दिनुहुन्थ्यो, उनले खुसी हुँदै भने, ‘कलाकारिता रोजेदेखि घरबाट खर्च लिदैन थिएँ ।’ जुन फिल्ममा लागे त्यो फिल्डले धान्नुपर्ने उनमा घमन्ड थियो । त्यो घमन्डका कारण केही बर्ष आफूले आर्थिक संकटमा गुजारेको उनले सुनाए ।

अझै पनि’ प्रदर्शनपछि धेरैले उनलाई फिल्मको मुख्य भूमिकामा सुहाउने रहेछ, राम्रो गर्यौ भनेर हौसला दिए । तर जतिले फिल्मको अफर दिन्थे, सहायक भूमिकाकै दिन्थे । काम नगरेको कारण दुई बर्ष आर्थिक समस्या रहे । तर सहायक भूमिकामा अभिनय गरेनन् ।

त्यस्तैमा उनको हातमा शिव परियारको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ बोलको गीतको म्युजिक भिडियो  पर्यो । यो गीतको भिडियो एकदमै हिट भयो । ‘सफलता भनेको के हो, फ्यान भनेको के हो, हिट भनेको के हो मैले यो गीतबाट बुझे’, उनले खुसी शेयर गरे, ‘त्यसपछि भिडियोको लाइन लाग्यो । धमाधम २ सय भिडियो गरें ।’ अभिनयका कारण थुप्रै अवार्डसमेत उनले हात पारे ।

अनि भए हिट

पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीतका कारणले भिडियो मात्र होइन, फिल्म निर्देशक तुलसी घिमिरेको नजरमा पनि परे उनी । घिमिरेले ‘दर्पण छाँया–२’ को मुख्य भूमिका उनलाई दिए । फिल्मले भने राम्रो ब्यवसाय गरेन । ‘यो फिल्म चल्नुभन्दा अगाडि मानिसले म्युजिक भिडियोबाट आयो राम्रो गर्यो भनेर प्रशंसा गर्थे, उनले दुःख सुनाए, ‘फिल्म फ्लप भएपछि भने सबैले उल्टो रियाक्सन दिए ।’

दर्पण छाँया–२’ फ्लप भएपनि पुष्पको हातमा फेरि ‘मंगलम्’ फिल्म पर्यो । त्यो फिल्मले भने उनलाई अभिनेताको रुपमा सर्वत्र चिनायो । त्यसपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन ।

त्यसपछि दालभात, तरकारी, मारुनी, कृष्ण लीला, तिम्रो मेरो साथ लगायत थुप्रै फिल्म उनले लगातार गरे । यीमध्ये  दालभात, तरकारी र मारुनी प्रदर्शनमा आइसकेको छ भने ‘कृष्ण लीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग’ प्रदर्शन हुन बाँकी छ ।

के रहेछ अभिनय ?

अभिनयको बिषयमा हरेक कलाकारको धारणा आआफ्नो रहँदै आएको छ । पुष्प भने कुनैपनि व्यक्तिले अर्काे ब्यक्तिको जीवन जिउनु अभिनय भएको बताउँछन् । आजको दिनसम्म पुष्पले करिब ५ सय बढी म्युजिक भिडियो र दर्जन हाराहारीको फिल्ममा अभिनय गरेका छन् । उनीसँग थुप्रै पात्रको भूमिका निर्वाह गरेको अनुभव पनि छ ।

कुनै पात्रको भूमिकामा अभिनय गर्नु भनेको मैले उसको जीवनको उतारचढाव, व्यवहार सबै व्यहोर्नु हो, उनले भने । फरक फरक पात्रको अभिनय गर्दा फरक फरक आनन्द मिल्ने समेत उनको भनाई छ । त्यसैले पनि उनले अहिलेसम्मको फिल्ममा फरक फरक भूमिका छानेका छन् । फरक फरक भूमिका निर्वाह गर्दा जीवनको भ्यालु समेत आफूले बुझेको उनले बताए ।

‘कृष्ण लीला’ राम्रो छ

पुष्पको पछिल्लो तीन फिल्म मध्येको एक ‘कृष्ण लीला’ आगामी ३ भदौबाट प्रदर्शनको तयारीमा छ । साइकोलोजिकल प्रेमकथामा बनेको यो फिल्मको प्रचारप्रसार लगायत कामको उनलाई अहिले चटारो छ । फिल्ममा उनी सुस्तमनस्थिति भएको मानिसको चरित्रमा देखिँदैछन् ।

कृष्ण भन्ने बितिकै प्रेमीको प्रतिनिधित्व गर्छ । सुस्त मनस्थितिको युवा उमेरले धेरै भएपनि दिमाग काँचो भएको मानिसमा पनि एउटा कृष्ण लुकेको हुन्छ । जसको भगवान् कृष्ण जस्तो १६ सय गोपिनी होला, नहोला । तर त्यसले पनि प्रेम गर्न जानेको छ भन्ने फिल्मले देखाउन खोजेको उनले बताए ।

सधैँ प्रेमी र आकर्षक भूमिकामा देखिँदै आएका पुष्पका लागि सुस्त मनस्थितिको रोल चुनौतीपूर्ण त थियो । ​एउटा कलाकार भएपछि सबै प्रकारको रोल गर्नुपर्छ । मलाई मेरो समाजमा देखिने फरक फरक पात्रको प्रतिनिधित्वको रुपमा पनि चिनिदिऊन् भन्ने छ, पुष्पले थपे ।

आफूले अहिलेसम्मकै गाह्रो रोल कृष्ण लीलामा गरेको बताउने उनले फिल्मबाट राम्रो आश पनि गरेका छन् । सबै पक्षबाट राम्रो फिल्म बनेकोले दर्शकलाई निराश नबनाउने उनको धारणा छ । यसमा रोहित कट्टेल निर्माता, दीपक ओली निर्देशक र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा उनको अलावा श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ लगायत मुख्य भूमिकामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप