शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवालाई झलनाथको प्रस्ताव : ०७४ र स्थानीय चुनावका आधारमा सिट बाँडफाँट गरौँ

मङ्गलबार, २४ साउन २०७९, १२ : ३२
मङ्गलबार, २४ साउन २०७९

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा मुख्यगरी दुईवटा आधारमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर गृहकार्य सुरु गरेका बेला नेता खनालले प्रधानमन्त्री देउवा समक्ष यस्तो प्रस्ताव अघि सारेका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेता खनालले सिट बाँडफाँट न्यायोचित ढंगले हुनुपर्ने भन्दै दुईवटा आधार अघि सारेका हुन् ।  ‘गठबनधनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ । भदौ पहिलो साताभित्र सिट बाँडफाँटको मोडालिटी कार्यदलले तय गर्छ’, नेता खनालले भने, ‘यसमा सामान्यतया सन्दर्भ सामग्री २०७४ सालको निर्वाचन र हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामलाई सन्दर्भ सामग्री बनाउनुपर्छ ।’

पुर्व प्रधानमन्त्री समेत रहेका खनालले सम्मानजनक ढंगले सिट बाँडफाँड नभए गठबन्धनको औचित्य नहुने समेत बताए । ‘गठबन्धन भनेको कसैले कसैलाई पेलेर आफु पछाडि धकेल्न खोज्यो भने त्यो गठबन्धन हुदैन । त्यो त बलबन्धनमात्रै हुन्छ’, खनालले रातोपाटीसँग भने,‘ गठबन्धन गर्ने हो र बलबन्धन नगर्ने हो भने हामीले सवैलाई सम्मानजनक ढंगले सिट विभाजन गरेर अघि बढ्नुपर्छ ।’

साथै उनले प्रधानमन्त्रीसँगको भेटमा कार्यदललाई चाँडो काम गर्न लगाएर सिट तालमेलको मोडालिटीबारे प्रस्ट हुनुपर्ने बताए । ‘कार्यदलले भदौको पहिलो हप्ता प्रतिवेदन तयार गर्ने भनेको छ । तर त्यो भन्दा अघि नै सक्नेगरी काम गर्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई पनि भनेको छु’, खनालको भनाइ छ । 

गत साउन २० गते बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा काँग्रेसका पुर्व महामन्त्री कृष्ण सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ रहेका छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र  हिमलाल पुरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप