बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिया समस्याबारे प्रधानमन्त्री -'तत्काल भारत सरकारसँग कुरा गर्छु'

मङ्गलबार, २४ साउन २०७९, ११ : ०३
मङ्गलबार, २४ साउन २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासँग पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा इलामका चिया उत्पादक टोलीले भेटवार्ता गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा भारतमा हुदै आएको नेपाली चिया निर्यातमा अंकुश लगाउने चलखेल भएको भन्दै त्यसलाई रोक्न माग गरेको नेता खनालले जानकारी दिए । केही व्यापारीहरूको सेटिङमा भारततर्फ निर्यात हुदै आएको नेपाली चिया कम गुणस्तरको कायम गर्ने र ४० प्रतिशतसम्म कर लगाउ षड्यन्त्र भइरहेकाले प्रधानमन्त्रीलाई वास्तविकता जानकारी गराउन उत्पादकसहित आफू बालुवाटार गएको नेता खनालले जानकारी दिए । 

‘नेपालको चिया अधिकांश भारतमा निर्यात हुँदै आएको छ । तर पछिल्लो समय नेपालको चिया विषाक्त र कम गुणस्तरको भनेर चलखेल भइरहेको छ । यसले नेपालका चिया उत्पादकहरूलाई ठूलो नोक्सान हुने अवस्था आउँदैछ’, नेता खनालले भने, ‘यो समस्या आउन नदिन र तत्काल कुटनीतिक माध्यमबाट समाधान खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौ’, इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका खनालको भनाइ छ । 

जवाफमा प्रधानमन्त्री देउवाले समस्याका बारेमा भारत सरकार र भारतीय दूतावाससँग कुरा गर्ने बताएका छन् । ‘म तुरुन्तै भारत सरकार र दूतावाससँग कुरा गर्छु, समस्या आउन दिन्न भन्ने जवाफ दिनुभएको छ’, खनालले प्रधानमन्त्री देउवाको भनाइ उधृत गर्दै रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप