काँग्रेसबाट प्रधानमन्त्रीमा दाबेदारमध्ये कसको पल्ला भारी ?
आम चुनावको मिति मंसिर ४ गते तोकिएपछि चुनावी सरगर्मी सुरु भएको छ । मतदाताहरू खासै नताते पनि उम्मेदवारका आकांक्षीहरु भने तातिसकेका छन् । अहिले पाँच दलीय गठबन्धन सरकारको नेतृत्व लिइरहेको प्रमुख सत्तारुढ नेपाली काँग्रेस पार्टी यसमा विशेष गरी उत्साहित बनेको छ, जुन स्वाभाविक पनि हो । अबको संघीय संसदको चुनावमा सो पार्टीले सके बहुमत ल्याउने, नसके सबैभन्दा ठूलो दलको रुपमा सरकारको नेतृत्व दावी गर्ने हिसाबले विस्तारै तयारी थालेको छ ।
नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका दाबेदारहरु कमसेकम आधा दर्जन जति देखिएका छन् । ती हुन् वर्तमान प्रम शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्ण सिटौला र गगन थापा ।
पाँच पल्ट प्रधानमन्त्री बनिसकेका देउवाले अब पार्टीको सक्रिय नेतृत्वबाट विश्राम लिनुपर्छ भनी युवा नेताहरुले आवाज बुलन्द गरिरहेको भएता पनि देउवाले हालसम्म त्यसबारे कुनै प्रतिक्रिया देखाएका छैनन् । रामचन्द्र पौडेलले यस अघि पनि प्रमको निर्वाचन लडिसकेका हुनाले उनले यसपालि प्रधानमन्त्री भन्दा राष्ट्रपतिको उम्मेदवारीमा चासो देखाउने सम्भावना बढी देखिन्छ । यदि उनले प्रधानमन्त्रीको पद नै ताकेछन् भने पनि पार्टीभित्र उनको समर्थनमा जनमत बन्ने सम्भावना निकै कम छ ।
नेपाली काँग्रेसले २०४६ को जनआन्दोलनपछि सबैभन्दा लामो समय सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएता पनि चाखलाग्दो कुरा के छ भने सो पार्टीबाट निर्वाचित प्रधानमन्त्री बन्ने अवसर कृष्ण प्रसाद भट्टराईले छ महिनाको छोटो अवधिमा सरकारको नेतृत्व गरेको बाहेक) दुई कोइराला र एक देउवाले मात्र पाएका छन् ।
गिरिजा प्रसाद कोइरालाले पाँचपल्ट प्रधानमन्त्री बन्ने अवसर पाएका थिए भने सुशील कोइरालाले एकपल्ट । पार्टीका लोकप्रिय नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकै त्याग र तपस्याका कारण नेपाली जनताले दुईजना कोइरालालाई (मातृकाबाहेक) विगत ३० वर्षको दौरानमा ६ पल्ट प्रधानमन्त्रीको कुर्सीमा राखेको कुरामा दुईमत हुन सक्दैन ।
अर्को रोचक कुरा के छ भने २०५६ मा सम्पन्न आमनिर्वाचनमा भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरी नेपाली काँग्रेसले बहुमत ल्याएको थियो । तर गिरिजाले त्यसको ६ महिनापछि भट्टराईलाई प्रधानमन्त्री पदबाट हटाई आफू तेश्रोपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसे ।
नेपाली काँग्रेसमा विगत ३० वर्षको अवधिमा कि पार्टी सभापति कि उपप्रधानमन्त्री बनिसकेका व्यक्तिले मात्र प्रधानमन्त्री पदको चुनावमा उम्मेदवारी दिने वा सो पदमा दावी गर्ने गरेको पाइन्छ । त्यस अर्थमा सो पार्टीका तर्फबाट चार जना नेताहरु पौडेल, सिंह, निधि र सिटौलाले उपप्रधानमन्त्री पद सम्हालिसकेका छन् ।
शशांक, शेखर र गगन महत्वपूर्ण पद सम्हाल्ने अवसर पाएका छैनन् । शशांकले पार्टीको महामन्त्रीको जिम्मेवारीमा रहिसकेको हुनाले र वीपी पुत्र पनि हुनाले यी तीनमध्ये उनी प्रधानमन्त्रीको बलिया दावेदार मानिन्छन् । उता गगन भाषणकलामा निपूर्ण भएता पनि यी तीनमध्ये निकै कान्छो र भर्खरै महामन्त्री भएकाले जिम्मेवार पदमा बसी काम गरेको उनको परीक्षा हुन बाँकी नै छ ।
उता प्रधानमन्त्रीका अर्का दावेदार शेखर वीर अस्पताल, धरान अस्पताल र कोशी अस्पतालमा सेवा गरी निकै पछिमात्र राजनीतिमा पसेका हुन् । यसपालि पार्टी सभापतिको निर्वाचनमा देउवासंग पराजित भए । २०७४ को संसदीय निर्वाचनमा आफ्नो क्षेत्र मोरङ–६ बाट समेत पराजित भएका थिए उनी । शेखरले सभापतिको निर्वाचनमा आफ्नै परिवारका सदस्यहरु शशांक र सुजाताको समेत समर्थन पाउन सकेका थिएनन् । देउवाले शेखरलाई काखी च्याप्ने संभावना कम छ ।
निधिले पनि गत आम निर्वाचनमा धनुषा–३ स्थित आफ्नो क्षेत्रमा पराजय बेहोर्नु परेको थियो । कुनै वखत काँग्रेसभित्र प्रभावशाली मधेसी नेतामा गनिने निधि आफू मात्र निर्वाचनमा पराजित नभई तराईमा आफ्नो पकड समेत गुमाएका छन् । हाल पार्टीभित्र उनको स्थिति कमजोर बनेको देखिन्छ । काँग्रेसभित्र देउवा निकटका नेताका रुपमा चिनिने निधिले केही समयअघि सम्पन्न नेपाली काँग्रेसको १४ औं महाअधिवेशनमा देउवाकै विरुध्द सभापति पदमा उम्मेदवारी दिनाले देउवाको समेत विश्वास उनले गुमाएका छन् । उनको निम्ति पार्टी र सरकार दुबैमा स्थिति राम्रो छैन ।
उता काँग्रेसभित्र ढुलमुल चरित्रको मानिने सिटौलाले धेरैजसो समय आफ्नो अलग्गै गुट बनाएको देखिएता पनि पार्टी संगठनमा सबैभन्दा कमजोर पकड भएका नेतामा उनी गनिन्छन् ।
यसै प्रसंगमा काँग्रेसका अर्का बलिया नेता सिंहले एक कार्यक्रममा सार्वजनिक रुपमा प्रधानमन्त्री पदको दावी गरेका छन्, जुन अस्वाभाविक हैन । उनले आगामी चुनावमा देशको फष्ट म्यान अर्थात् कार्यकारी प्रमुखको रुपमा जिम्मेवारी पाएको खण्डमा निःस्वार्थ नेताको कस्तो हुन्छ देखाइदिने प्रतिवध्ता देखाएपछि उनको त्यस भनाइले नेपालको राजनीतिमा तरंग ल्याएको छ ।
कतिपयले सिंहको सो भनाइलाई स्वाभाविक मानेका छन् भने कतिपयले त्यसलाई अस्वाभाविक भनी तीव्र प्रतिक्रिया दिएको पनि देखियो । उनको सो उद्घोषलाई लिएर पार्टी भित्रकै विपक्षीहरुले सामाजिक संजालमा विषवमन गरेको पनि भेट्टियो ।
२०४६ सालको जनआन्दोलनका कमाण्डर सर्वमान्य नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमानले सरकारको उपप्रधानमन्त्री तथा पार्टीको महामन्त्री जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । सिंहले राजधानीको क्षेत्र नं. १ जस्तो महत्वपूर्ण चुनाव क्षेत्रमा तीन पल्ट लगातार प्रतिनिधिसभा सदस्यको चुनाव मात्र जितेका छैनन्, कुनैवखत कम्युनिष्टको गढमा परिणत भैसकेको राजधानीमा काँग्रेसको वर्चश्व समेत कायम गर्न सफलता प्राप्त गरेका छन् ।
वीपी कोइराला र गणेशमान सिंह जस्ता दूरदर्शी एवं त्यागी नेताहरुले स्थापना गरी हुर्काएको पार्टी नेपाली काँग्रेस केही समय यता निकै कमजोर सावित भएको छ । यदि कम्युनिष्ट पार्टीका नेताहरु एकापसमा लडेर नफुटेका भए अहिले काँग्रेस पार्टी प्रतिपक्षमै हुन्थ्यो । र, गत स्थानीय चुनावमा जुन किसिमको सफलता सो पार्टीलाई मिल्यो, त्यसको कल्पना पनि गर्न सकिंदैनथ्यो ।
राजनीतिमा सधैं चिठ्ठा मात्र पर्दैन, सधैँ भाग्य भरोसामा मात्र पार्टी टिक्दैन । सिंहले देशको सबैभन्दा ठूलो पार्टी सिस्टम र विधानको प्रावधानअनुसार चल्नुपर्ने आवाज बुलन्द गर्दै आएका छन् । देउवाको नेतृत्व र पार्टी सन्चालन विधिको विरोध गरिरहने सिंहले किन एकाएक पार्टी सभापतिको दोश्रो चरणको निर्वाचनमा देउवालाई नै समर्थन गरे ? भनी उनको चर्को आलोचना पनि नभएको हैन । तर त्यसबखत उनको निम्ति दुइवटै मात्र विकल्प थिए । पार्टीको र सरकारको कुनै पनि जिम्मेवार पदमा नबसेका र गत आम चुनावसम्म जित्न नसकेका शेखरलाई समर्थन गर्ने कि पार्टीका परिपक्व तर केही आलोचित नेता देउवाको समर्थन गर्ने ?
राजनीतिमा कोही कसैको पनि स्थायी मित्र वा स्थायी शत्रु हुँदैन भनिन्छ । सिंहले देउवालाई समर्थन गर्नुलाई उनको रणनीतिक चालको रुपमा पनि कतिपयले अथ्र्याएका छन् । उनले पार्टीको आन्तरिक नेतृत्व चयनको अवसरमा देउवाको त्यति चर्को आलोचना नगरेको भए पनि हुन्थ्यो कि ? भन्ने प्रश्न पनि कसैकसैले उठाएका छन् । तर उनले शेखरलाई समर्थन गरेर शेखर हार्न पनि त सक्थे । किनभने देउवाले दोश्रो राउण्डमा विमलेन्द्रको समर्थन पाएका थिए । तसर्थ पहिलो राउण्डमा प्राविधिक कारणले मात्र हारेका र बहुमत हासिल गरिसकेका देउवालाई दोश्रो राउण्डमा समर्थन नगर्दा सिंहको निम्ति झन् आत्मघाती निर्णय हुन सक्थ्यो ।
जे होस्, नेपाली जनताले वीपी कोइरालाको योगदान र व्यक्तित्वको कदर गरेर उनको परिवारप्रति सहानुभूति राखेकै कारण कोइराला परिवारका दुई सदस्यहरुले प्रधानमन्त्रीको उच्च पदमा आसीन गराइदिएकोे कुरामा शंका गर्ने ठाउँ छैन । तिनै जनताले पार्टीका अर्का त्यागी तथा दूरदर्शी नेता गणेशमान, जसले प्रधानमन्त्री जस्तो महत्वपूर्ण पदलाई पनि त्यागे, उनका पुत्रलाई कसरी विर्सन सक्छन् र ?
गणेशमानले वीपीको देहावसानपछि २०४२ सालमा सत्याग्रहमार्फत् ईतिहासमै सबैभन्दा बढी जेल भराउ (करीव ७ हजार कार्यकर्ता जेल गएको) आन्दोलनको नेतृत्व मात्र गरेनन्, वाम र प्रजातान्त्रिक शक्तिहरुबीच एकता कायम गरी २०४६ सालको जनआन्दोलनमार्फत् बहुदलीय प्रजातन्त्र पुनस्थापनाको नेतृत्व पनि गरे । उनले आफ्नो जीवनको अन्तिम घडीतिर आफ्नै पार्टी भित्रको वेथिति विरुध्द पनि संघर्ष गर्नुपरेको थियो ।
छिमेकी मुलुक भारतमा त्यागी नेता जवाहरलाल नेहरुको योगदानको फलस्वरुप उनकी पुत्री इन्दिरा गान्धीमात्र नभई नाति राजीव गान्धीलाई समेत जनताले प्रधानमन्त्री जस्तो उच्च पदमा पुर्याएकै हो ।
तर त्यसो भनेर राजनीतिमा सधैं विरासतको भरमा मात्र अवसर पाइन्छ भन्ने छैन । राजनीतिमा बावुबाजेको नामले एकपल्ट त अवसर मिल्ला तर सधैँ त्यस्तै अवसर पाइन्छ भन्ने सोच गलत सावित भएका उदाहरण पनि छन् । आफूमा पनि खुवी हुन पर्यो, क्षमता हुन पर्यो, अवसरलाई छोप्न जान्न पनि पर्यो ।
विगत ३० वर्षको प्रजातान्त्रिक इतिहासमा संयोगले भनौ अथवा अन्य कुनै कारणले जनजातिबाहेक सरकार प्रमुख, राष्ट्रप्रमुख बनेको उदाहरण हामीले देख्यौं । मधेसी र महिला समुदायबाट पनि राष्ट्रप्रमुख बने । अब नेपाली जनताले लोकतान्त्रिक गणतन्त्रअन्तर्गत नेपाल पनि समावेशीताको क्षेत्रमा कसैभन्दा कम छैन भन्ने सन्देश विश्वलाई दिने अवसर आएको छ ।
हालै सम्पन्न स्थानीय निर्वाचनको नतिजाले के देखाएको छ भने परम्परागत शक्ति मानिने र ठूला कहलिएका पार्टी वा लोकप्रिय मानिने नेताहरुलाई पनि अब निर्वाचन त्यति सजिलो भने हुनेछैन । आउँदो निर्वाचन लड्नु विशेष गरी ठूला दलहरुको निम्ति फलामको च्युरा चपाए सरह हुनेछ । मतदाताहरु निकै होसियार, चनाखो र चेतनशील भैसकेका छन् । नेताहरुको व्यक्तित्व, योग्यता, क्षमता पहिचान गर्न जनता पहिले भन्दा निकै सक्षम देखिएका छन् ।
जनता मीठा, मीठा भाषण हैन, काम र ठोस परिवर्तन चाहन्छन् । उनीहरु सस्ता नारा र आश्वासन मात्र हैन, परिणाम र योजनाको कार्यान्वयन हेर्न चाहन्छन् । एकै व्यक्तिले धेरैपल्ट अवसर पाएको हेर्न उनीहरु चाहन्नन् । तसर्थ राजनैतिक पार्टी र तिनका नेताहरुले जनताको रुचि, उनीहरुको रोजाइ र चाहनालाई आत्मसात गर्न सक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस