बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टर केसीले सुरु गरे इलामबाट निःशुल्क सेवा

सोमबार, २३ साउन २०७९, २१ : ४२
सोमबार, २३ साउन २०७९

डाक्टर गोविन्द केसीले आजदेखि इलामबाट जनतालाई सेवा दिन सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । आजदेखि २० दिनसम्म उनले सेवा दिनेछन् । डा.केसीले पहाडी भेगका जनताको जिल्लामा नै आएर सेवा गर्ने रहर भएर यहाँबाट सेवा सुरु गरिएको बताए । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनको भनाइ छ । 

सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक १५ वटा देश पुगेर उनले बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । डाक्टर केसीले इलामबाट उपचार दिन थालेपछि इलाममा हाडजोर्नीका बिरामी उपचार गराउन आउनेको सङ्ख्यासमेत वृद्धि भएको छ । गाउँगाउँदेखि पुराना हाडजोर्नीसम्बन्धी बिरामीसमेत डाक्टरलाई देखाउन आउन थालेका छन् । 

डा.केसीले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहेका छन् । उनले आउने भदौ १० गतेसम्म इलामबाट निःशुल्क सेवा दिने जनाइएको छ । इलाम अस्पतालले उनलाई उपचारमा सहयोगका लागि आवश्यक सहयोग गर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । उनले आवश्यक सहयोगसहित सुरक्षा गार्डको समेत व्यवस्था गरिएको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप