शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानमा तनाव : नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्छ ?

सोमबार, २३ साउन २०७९, २० : ३५
सोमबार, २३ साउन २०७९

रुस–युक्रेनबीच जारी ३ महिनाभन्दा लामो युद्धको बाछिटा नेपालसम्म आइपुगेको छ । युद्ध सुरू भएको लामो समय बितिसक्दा पनि नेपाल त्यसको प्रभावबाट उम्किन सकेको छैन । यी दुई युरोएसियाली मुलुक आपसमा सैन्य युद्धमा होमिँदा त्यसको प्रभाव खाद्यान्न, लत्ताकपडा, पेट्रोलियम पदार्थ र सुनचाँदी लगायतका वस्तुमा प्रत्यक्ष देखापरिरहेको छ ।

यी दुई मुलुकको युद्ध नसकिँदै एसियाली मुलुक चीन र ताइवानबीच युद्धको सम्भावना देखिएको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले हालै ताइवान भ्रमण गरेपछि चीन रुष्ट बनेको छ र आफ्नो प्रान्तकारूपमा दाबी गर्दै आएको ताइवानमाथि हमला गर्ने संकेत गरिरहेको छ । यसैको तयारीकारूपमा चीनले ताइवान आसपास अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ ।

चीन र ताइवानबीच युद्ध छेडिए नेपालसम्म त्यसको कस्तो असर पर्छ भन्नेमा धेरैको चिन्ता देखिन्छ ।

एक तथ्यांकअनुसार ताइवानसँग नेपालको व्यापारघाटा डरलाग्दो छ । ताइवानबाट आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब १२ करोड ४९ लाख रुपैयाँको आयात हुँदा नेपालबाट जम्मा १५ करोड ४३ लाख रुपैयाँको निर्यात भएको देखिन्छ । यसअनुसार गत आर्थिक वर्षमा ताइवानसँगको व्यापारमा नेपाललाई  ३ अर्ब ९७ करोड ५ लाख रुपैयाँ घाटा छ ।

व्यापार तथ्यांक हेर्दा चीनले ताइवानमाथि हमला सुरू गरेमा नेपालको निर्यात र आयात दुवै प्रभावित बन्छ । तर, आयातको तुलनामा निर्यात धेरै प्रभावित नबन्ने देखिन्छ । खासगरी, ताइवानबाट बर्सेनि नेपालमा अर्बौ रुपैयाँको वस्तु आयात हुन्छ । तर, सोही अवधिमा नेपालबाट करोडौं रुपैयाँको मात्रै निर्यात हुने गरेको देखिन्छ । यस हिसाबमा चीन र ताइवानबीच युद्ध भइहालेमा निर्यातको तुलनामा आयात बढी प्रभावित बन्छ ।

नेपाल–ताइवानबीच व्यापार

स्रोत – भन्सार विभाग

ताइवानबाट के–के आउँछ ?

आर्थिक वर्ष २०७८/७९ मा ताइवानबाट नेपालमा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसमध्ये ताइवानबाट धेरैजसो केमिकलजन्य वस्तु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा ताइवानबाट कृषिजन्य सामाग्री, प्लाष्टिकजन्य केमिकल, स्टिल, फलाम र टिटानिउ डाइअक्साइड आयात भएको छ । यस्तै, रबर वा प्लाष्टिकबाट बनेको टेक्सटायल फेब्रिक समेत आयात हुने गरेको छ । यसका साथै, ताइवानबाट कम्प्यूटर सफ्टवेयर, इन्टर्नल र एक्सटर्नल हार्डडिस्क समेत आयात हुने गरेको छ ।

आयात हुने वस्तुहरू

स्रोत – भन्सार विभाग

नेपालबाट के–के जान्छ ?

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ताइवानतर्फ जम्मा १५ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ । यसमध्ये, नेपालबाट गार्मेन्टका सामग्री, म्यूजिकल इन्स्ट्रुमेन्ट्स, उनी फेल्ट, जडिबुटी, सुनचाँदीका गरगहना, चियाकफी लगायतका वस्तु निर्यात हुने गरेको छ ।

निर्यात हुने वस्तुहरू

स्रोत – भन्सार विभाग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप